|

सिमरा : डुमरवानाकी यशोदा मैनालीको दुवै मिर्गाैलाले काम गर्न छोडेको चार वर्ष भयो। उपचारका लागि वीरगञ्ज, भरपुर मेडिकल कलेज हुँदै काठमाडौं सुमेरु अस्पलातसम्म उपचारका लागि पुग्दा उनको झण्डै १० लाख रुपैयाँ सकियो। अब थप उपचारका लागि कुनै उपाय नभएपछि मैनाली अहिले स्थानीयको शरणमा परेकी छिन्।

‘स्थानीयले सहयोग गरे केही वर्ष बाच्‍न सकिन्छ कि?’ उनी भन्छिन्, 'सरकारले दीर्घ रोगीको उपचारमा एक लाख रुपैयाँसम्म छुट दिएको छ।' तर सरकारले दिएको छुट  सहयोग साह्रै न्यून भएको दीर्घ रोगीको गुनासो छ।

‘सरकारले दिएको एक लाख छुटले केही हुँदैन। एउटा बायोप्सी (मिर्गौलाको सानो मासुको भाग परीक्षण) गर्दा ४० हजार लाग्छ। काठमाडौंमा भर्ना भएर बस्दा एक लाख रुपैयाँले मलाई ३ दिन औषधि खर्च  पुग्यो’ उनले भनिन्, ‘मासिक २० हजार रुपैयाँसम्म त जेनतेन मैले धानिरहेको थियो। अब त नसक्ने भएँ। अहिले  मासिक ४० हजारको औषधि मात्रै सेवन गनुपर्छ।’

मैनालीका श्रीमान्  विजुली वाइरिङको काम गरेर मासिक १८ हजार रुपयाँ कमाउँछन्। भएको सम्पति सबै उपचारमा खर्च भएपछि मैनालीलाई अहिले दुईछाक टार्न र छोराछोरीको विद्यालय शुल्क तिर्नसमेत मुस्किल भएको छ। ‘आजसम्म जेनतेन बोडिङ स्कुल पढाइरहेको थिए। अब निकालेर सरकारी स्कुलमा हाल्न खोज्दै छु’ उनले भनिन्। मैनालीका  १३ र ११ वर्षका २ छोरा छन्। उनीहरू ७ र ५ कक्षामा अध्ययनरत छन्।

आर्थिक अवस्था अत्यन्न विपन्न भएर उपचार गर्न नसकेपछि सो क्षेत्रका स्थानीयले उनलाई उपचारमा २० हजार रुपैयाँ सहयोग गरेका छन्। उपचारको क्रममा भरतपुर पुरानो मेडिकल कलेजमा एक महिना बस्दा ८ लाख रुपयाँ र काठमाडौं सुमेरु अस्पलातमा १८ दिन  उपचारका क्रममा  साढे ३ लाख रुपैयाँ खर्च भएको उनले जनाइन्।

‘सरकारले  दिर्घरोगीलाई उपचारमा  अलि धेरै सहयोग गरे मात्रै वाँच्न सकिने रहेछ नत्र एक लाख रुपैयाँले केही हुनेवाला छैन' उनले भनिन्। मैनाली जस्तै बारा जितपुरसिमरा १४ का हरेराम चौधरीले पनि उपचारका लागि भरतपुर जाने गाडी भाडा समेत नभएपछि दुई महिनादेखि  ब्लड क्यान्सरको औषधि सेवन गर्न छोडेका छन्।

‘अहिले उपचार गर्ने क्षमता नभएर दुई महिना भयो' औषधि सेवन गर्न छाडेको ब्लड क्यान्सर रोगी चौधरीले भने, ‘अस्पतालले दिने निशुल्क औषधि त खाइरहेको थियो। तर घरमा ऋणको किस्ता थियो, पैसा नभएर जान छोडिदियो।' 

चौधरी र मैनाली जस्तै सोही गाउँकी चित्रकुमारी कार्कीले पनि स्तन क्सान्सरको लागि उपचार खर्च नभएपछि स्थानीयसँग सहयोगका लागि अपिल गरेकी थिइन्।  
हास सो क्षेत्रका स्थानयीले गाउँकै आमा समूह तथा विदेशमा रहेका आफ्ना आफन्तबाट सहयोग संकलन गरेर चौधरी मैनाली र कार्कीको उपचारमा राहत पुर्‍याएका छन्।

मैनाली, चौधरी र कार्कीको  उपचारार्थ सहयोगका लागि अष्ट्रेलियमा रहेका नेपालीले ७७ हजार ६१० रुपैयाँ आर्थिक सहयोग गरेका छन्। सो रकम स्थानीय भरत खड्काले बिहीबार एक कार्यक्रमको आयोजना गरी तिनैजना दीर्घरोगीलाई चेक हस्तान्तरण गरेका छन्।

बारा जितपुरसिमरा उपमहानगरपालिका १५ का वडाध्यक्ष रामशरण बर्तौलाले  हरेक वर्ष गाउँमा मुटु, मिर्गौला, क्यान्सरका नयाँ-नयाँ बिरामीहरू देखा परिरहेको बताए। ‘अव यो के कारणले हो गाउँमा वर्षेनी नयाँ नयाँ दिर्घरोगीको संख्या बढ्दै गएको छ। आर्थिक रुपमा विपन्न दिर्घरोगीलाई हामीले आर्थिक सहयोग संकलन गरेर उपचारमा सहयोग गरिरहेका छौं’ वडाध्यक्ष  बर्तौलाले भने।

आर्थिक रुपमा विपन्न परिवारलाई उपचारका लागि जितपुरसिमरा उप महानगरपालिकाले ५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। तर उपचारमा लाखौ रुपयाँ खर्च हुने र पालिकाले दिने  पाँचहजार रुपैयाँका लागि प्रक्रिया झन्झटिलो भएको भन्दै दिर्घरोगी रकम लिनै नजाने गरेको वडाध्यक्ष बतौलाले जनाए।

‘भन्न पनि लाजमर्दो छ। ठूलो रोग लागेका बिरामीलाई नगरपालिकाले ५ हजारसम्म दिने निर्णय भा' छ। त्यो पनि सहज ढंगले बिरामीले नपाएपछि त्यो रकम लिन पनि जान छोडेका छन्’ वडाध्यक्षले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.