|

पर्वत : बिचौलियाका कारण कृषक मारमा परेको भन्दै पर्वतको महाशिला गाउँपालिका ५ लुँखु देउरालीले कृषकका खसी-बोका आफैँले बिक्री वितरण गर्न सुरु गरेको छ। जसोतसो लगानी गरेर मासुको प्रयोजनको लागि उत्पादन गरिने खसी बोका बेच्ने बेलामा बिचौलियाले उपयुक्त मूल्य नदिएपछि वडाले लिइदिन सुरु गरेको हो। 

स्थानीय महाशिला महिला सामाजिक उद्यमी महिला सहकारी संस्थासँग सहकार्य गरेर कृषकले पालेका खसी बोका आफैँले खरिद गरेर बिक्री गर्न सुरु गरेको हो। ‘कति दुःख र लगानी गरेर कृषकले खसी बोका पाल्नु हुन्छ। तर बेच्ने बेलामा बिचौलियाका कारण राम्रो मूल्य नपाउँदा कृषक मारमा पर्नुभएको थियो’ वडाध्यक्ष जीवनविक्रम उचैले भने, ‘दुःख नगरिकनै बिचौलियाले कृषकलाई मारेर आफैँले कमाउँदै आएका थिए। अब यो परिपाटी अन्त्य भएको छ।’

वडाध्यक्ष उचैका अनुसार लुँखुदेउरालीसहित अन्य वडा र छिमेकी पालिकाका वडाहरूबाट पनि खसी बोका खरिद गरेर बिक्रीका लागि पोखरा पठाउन थालिएको छ। वडा कार्यालयले कृषकको समेत आम भेला राखेर वडाको माध्यमबाट खसी-बोका बिक्री गर्ने सहमति गरेको छ।

सहमतिअनुसार किसानका खसी बोका ज्युँदो प्रति किलो ४२० रुपैयाँका दरमा सहकारीले खरिद गर्ने छ भने त्यसको ढुवानी खर्च र बजारको व्यवस्थापन वडाले गर्ने छ। स्थानीय कृषक विष्णु शर्माका अनुसारमहाशिला गाउँपालिका खसी बोका धेरै पालिने क्षेत्र भएकोले बिचौलियाको बिगबिगी रहने गरेको थियो। अब भने बिचौलियाको सहाराबिना वडाले खसी बोका सिधै पोखरा पठाउन थालिएको छ।

‘अहिलेसम्म व्यापारी आफैँ आएर बोका किन्ने गरेका थिए। मूल्यमा एकरूपता थिएन। मनलाग्दी थियो’ उनले भने, ‘पालौँ भने बेच्ने बेला भएका खसी बोका छन्। कति पाल्नु? बेच्दा पनि उस्तै परे घाटा व्योहोर्नुपर्ने अवस्था थियो।’

वडाध्यक्ष उचैका अनुसार वडाले खरिद गरेका खसी बोका बिक्रीका लागि कास्कीको पोखरास्थित बिरौटामा सम्पर्क तथा बिक्री केन्द्र राखिएको छ। महाशिलाबाट पठाइएका खसी बोका बिरौटामा राखेर त्यहिँबाट नै बिक्री गर्दा एकद्वार प्रणाली पनि हुने उचै बताउँछन्। 

वडाले कृषकबाट खरिद गर्ने बेलामा नै स्वास्थ्य परीक्षण गरेर लिने भएकोले पनि स्वस्थ मासुको कारोबार हुने उनको भनाई छ। यो कार्यको थालनी बुधबार १७८ किलोग्राम ज्युँदा बोका पोखरा पठाएर गरिएको छ।

पशु हाट लगाउने तयारीमा गाउँपालिका

कृषकले पालेका पशु पंक्षीको बजारलाई स्थानीय रूपमा पनि व्यापक पार्न पशु हाट लगाउने गरी तयारी थालिएको गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ५ का वडाध्यक्ष उचै बताउँछन्। 

‘कृषिबाट नै स्थानीय सरकार बलिया हुन सक्छन् भन्ने हामीलाई लागेको छ। पालिकाले कृषकलाई सन्तुष्ट पार्दै उहाँहरूलाई बलियो गराउन सकेन भने समृद्धि नारामै सीमित हुन्छ’ उनले भने, ‘यसका लागि स्थानीय बजार आवश्यक हुने ठहर गरेर महिनामा कम्तीमा पनि एक पटक र सके दुई पटक पशु हाट लगाउने तयारी गरिरहेका छौँ।'

कृषकलाई प्रोत्साहन गर्नकै लागि पालिकाले यस अगाडि पालिकाभित्र रहेका १७ वटा खसी बोका उत्पादन गर्ने पशु फर्महरूमा बोयर जातको एक-एक वटा ब्याँठे बोका वितरण गरिसकेको छ।

कृषकले पालेकामध्ये अहिले सबैभन्दा बढी एउटै बोकको तौल ९३ किलोग्रामसम्म पुगेको छ। गाउँपालिकाले पालिकाबाट तयारी मासु निर्यात गर्नका लागि वधशाला बनाउने योजना पनि राखेको प्रवक्ता उचैले  जनाकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.