|

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले इतिहासमै सबैभन्दा बढी पदक हासिल गर्नुलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिनुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै सदस्य सचिव सिलवालले सरकारले खेलाडीका लागि घोषणा गरेको पुरस्कारले खेलाडीको बनोबल बढेको समेत बताए। त्यसैले खेलाडीलाई एसियन, ओलम्पिक र विश्वकपको तयारीका लागि तयार गर्न सजिलो भएको समेत बताए।

उनले सागका लागि चाहिने आवश्यक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिँदा समयमै काम सम्पन्न गर्न सकिएको जानकारीसमेत दिए। उनले आफूले साग सुरु हुनुभन्दा पहिला नै कम्तीमा पनि ५० स्वर्ण पदक जित्नेभन्दा नपत्याएको उल्लेख गर्दै अहिले प्रमाणीत भएको बताए।

विभन्नि २१ खेलको प्रशिक्षण विदेशमा गरिएकाले समेत परिणाम राम्रो आएको बताउँदै खेल क्षेत्रमा अझ बढी लगानी आवस्यक रहेको उनले बताए। साग सकिएसँगै आफूहरूको अबको ध्यान १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एसियन गेम हुँदै विश्व कपसम्म रहेको बताए।

सदस्य सचिव सिलवालले खेलकुद क्षेत्रको क्रमिक सुधार भएको बताउँदै खेललाई उत्पादनशील क्षेत्रको रुपमा अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे। फुटबल, क्रिकेट तथा भलिबलमा निरन्तर लिग खेल खेलाउने बताए। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा गण्डकी प्रदेशमा हुनेसमेत जानकारी उनले दिए।

 त्यस्तै, अबको चार वर्षभित्र सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणासमेत उनले गरे। उनले सागको सम्पूर्ण खर्च विवरण ९० दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै सागमा पदक जित्ने खेलाडीलाई  शुक्रबार बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगरपरिक्रमा गराउने समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.