जम्मा खर्च ६ करोड ३० लाख खर्च

|

काठमाडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ। काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एयरवेजसँगको सम्झौताको घोषणा गरेको हो।

दुई पक्षबीचको सम्झौताअनुसार कतार एयरवेजले एन्फालाई एक लाख ५० हजार अमेरिकी डलर दिने भएको छ। कतार एयरवेजले पहिलो चरणमा ९० हजार र दोस्रो चरणमा ६० हजार अमेरिकी डलर दिने सम्झौता भएको छ।

सम्झौता अनुसार एन्फाले हरेक सहभागी टोलीको जर्सीमा कतार एयरवेजको लोगो अंकित प्याच लगाउनुपर्ने, लिगको नामको अगाडि प्रायोजकको नाम राख्नुपर्ने लगायत सम्झौता भएको छ। कतारले ए डिभिजन फुटबलका क्रममा प्रचार प्रसारमा पनि सघाउनुपर्ने शर्त राखेको छ।

मंसिर २८ बाट सुरु हुने ए डिभिजन लिगमा १४ क्लबको सहभागिता छ। एन्फाको नियमानुसार लिगको अन्तिममा रहने एउटा क्लब घटुवा हुनेछ। लिग सञ्चालन गर्न जम्मा ६ करोड ३० लाख खर्च लाग्ने एन्फाले उल्लेख गरेको छ। ए डिभिजन खेल्ने सबै क्लबलाई एन्फाले तयारीस्वरुप २०-२० लाख रुपैयाँ दिने भएको छ।

यो पटक लिग विजेताले ५० लाख रुपैयाँ पाउनेछ। दोस्रो हुनेले ३५ लाख, तेस्रो क्लबले २५ लाख, चौथो क्लबले १५ लाख, पाँचौ हुने क्लबले ७ लाख र छैटौं हुनेले ५ लाख पाउने भएका छन्। सम्झौता अनुसार म्याच मनीस्वरुप हरेक खेलको विजेता टोलीले ५० हजार पाउनेछ। खेल बराबर भएर अंक बाँडिएमा १५-१५ हजार दिइनेछ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकीपर र प्रशिक्षकले एक लाख ५० हजार पाउनेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले एक लाख पाउने भएका छन्।

एन्फाले रामसार मिडिया र एपीवान टेलिभिजनसँगको ३ वर्षे प्रसारण र मार्केटिङ सम्झौता खारेज गरिएको जनाएको छ। प्रसारण अधिकारका लागि अर्को टेलिभिजनसँग छलफल भइरहेको एन्फाले उल्लेख गरेको छ।

लिगको खेल हेर्नका लागि दर्शकले साधारण प्याराफिटतर्फ २ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ तिर्नुपर्नेछ। यसपटकदेखि दर्शकहरुले उत्तर गेटबाट मात्रै प्रवेश पाउने छन्। लिगको उद्घाटन शनिबार दशरथ रंगशालामा हुनेछ। एन्फाका अनुसार उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.