|

म्याग्दी : म्याग्दीका ग्रामीण भेगमा गुड्ने जिप र बेनी–पोखरा, बेनी–गलेश्वर लगायत सडकमा गुड्ने सवारीसधानले मनपरी भाडा लिँदा यात्रुहरु मर्कामा पर्दै आएका छन्।

रातो नम्बर प्लेटका जिप र सार्वजनिक जिपमा मनपरी भाडा असुलेको यात्रुहुको गुनासो छ। बसपार्क नजिकै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र सरोकारवाला निकाय मौन बस्दा सवारीसधान सञ्चालकहरुले क्षमताभन्दा बढी यात्रु बोक्ने र बढी भाडा असल्ने गरेका छन्। तीन किलोमिटर दूरीको पचास रुपैयाँ प्रतिव्यक्ति भाडा असुल गर्दै आइरहेका छन्।

बेनी–गलेश्वरको दूरी तीन किलोमिटर छ। त्यसमा आधा कालोपत्रे छ। त्यस सडकखण्डको तीन किलोमिटर दूरीमा ५० रुपैयाँ भाडा लिने गरिएको छ। यस्तै, बेनीदेखि गलेश्वर पुग्न बढीमा १० मिनेट लाग्छ। त्यस दूरीमा पनि जिपले प्रतिव्यक्ति ५० रुपैयाँका दरले भाडा असुल गरिरहेका छन्। बेनी–पोखरा रुटमा झन् धेरै सवारीसाधन सञ्चालकको मनोमानी रहेको स्थानीयहरुको गुनासो छ।

बेनीका एक व्यवासायीले पोखराबाट दुई किलो सामानको भाडा एक हजार रुपैयाँसम्म मागेको बताए। त्यस्तै, बेनीमा होटल व्यवासाय गर्दै आएका एक व्यपारीले पनी पोखराबाट सामान लिनु प¥यो वा जान पर्यो भने तोकेको भन्दा बढी भाडा तिर्नुपरेको गुनासो गरे। 

बेनी–पोखरा रुटमा बेनी यातायात प्रालिको जम्मा २० वटा जिप सञ्चालनमा रहेको प्रालिका अध्यक्ष टिकप्रसाद पाइजाले जानकारी दिए। उनका अनुसार बेनी यातायात प्रालिका जिपबाहेक पोखरा–बाग्लुङ, बेनी ट्क्यासी समितिको जिपहरु चल्ने गरेका छन्। पाइजाले बेनी यातायात प्रालिका जिपले तोकेभन्दा बढी भाडा नलिएको दाबी गरे। 

यस्तै, बेनी–पोखरा रुटमा सञ्चालन हुने जिपले पोखरादेखि बेनीसम्म एउटा महत्त्वपूर्ण चिठ्ठी ल्याएको भाडा मान्छेको भन्दा बढी लिने भन्ने आरोप निराधार भएको पोखरा–बाग्लुङ ट्क्यासी समितिका अध्यक्ष सुरज पौडेल बताउँछन्। उनी त क्षमताभन्दा बढी यात्रु बोक्ने र तोकिएभन्दा बढी भाडा लिने चालकलाई कारबाही गरिएको दाबी गर्छन्।

‘हामीले त्यस्ता ट्क्यासीको रुट परमिट खारेज गर्ने, क्युमा बस्न नदिने गरेका छौं,’ अध्यक्ष पौडेलले भने, ‘धेरै गुनासो आएर हामीले दुई÷तिन वटा ट्क्यासीलाई कारबाही समेत गरेका छौँ।’

यता जिल्लाभित्र सञ्चालन हुने रातो नम्बर प्लेटका जिपले पनि मनपरि भाडा असुल गर्दै आएका छन्। सामान बोक्ने बाहानामा यात्रु ओसारपोसार गरेको र क्षमताभन्दा बढी यात्रु बोकी मनपरि भाडा लिने गरेको पाहिएको छ।  

बेनीदेखि पोखरासम्म जिपमा प्रतिव्यक्ति ६५० रुपैयाँ भाडा निर्धारण गरिएको छ। गाडी रिजर्भ गर्दा २ हजार ६०० रुपैयाँ छ। तर, तोकिएभन्दा बढी शुल्क लिने गरेको स्थानीयको गुनासो छ। गुनासो आएपछि कारबाही र निगरानी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिष्णुबहादुर परियारले बताए। उनले भने, ‘हामीले क्षमताभन्दा बढी यात्रु बोक्ने सावारीसाधनलाई खोजीखोजी कारबाही गरेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.