नटेरे अन्तर्राष्ट्रिय मुद्दा बनाउन आग्रह

|

काठमाडौं : सांसदहरुले भारतले नेपालको भूमिमा वर्षौँदेखि गरिरहेको अतिक्रमण हटाउने यो राम्रो मौका भएको बताएका छन्। दुईतिहाइ बहुमतको सरकार भएका बेला हिम्मत गरेर आफ्नो भूमिबाट भारतलाई फिर्ता पठाउनुपर्ने बताएका हुन्। 

संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा बोल्दै सांसदहरुले नेपाल नै चुक्दा भारतले वर्षौँदेखि पेल्दै आएको बताएका हुन्। 

सांसद मोहन बानियाँले सुदूरपश्‍चिमतर्फको कालपानीसहितको भूभाग चीनसँगको लडाइँ भन्दा पहिले नै भारतले कब्जा गरेको बताउँदै अब निर्णायक पहल हुनुपर्ने बताए।

'हामी चुक्दा भारतले पेल्दै आएको छ। सन् १९६२ मा चीन र भारतको लडाईं हुँदा लिम्पियाधुरासहितको भूभाग कब्जा गरेको हो', उनले भने, 'सन् १९५२ मा नेपालको कालापानीमा भारतीय पोष्ट राख्‍न दिएर गल्ती गरिएको हो।'

सांसद बानियाँले यसअघि पटक पटक भएका छलफलबाट पनि सीमाको समस्या हल हुन नसेकको स्पष्ट पारे। 'सन् १९९७ मा छलफल भए पनि टुंगो लाग्‍न सकेन। विगतमा देखिएका विवाद निरुपण गर्न सकिएन', उनले भने, 'महत्वपूर्ण सीमा बिन्दुमा नेपाली सुरक्षाकर्मी किन राख्न सकिएन? फलाम तातेको बेला अब निर्णायक कदम चालिनुपर्छ।'

सांसद बानियाँले कूटनीतिक पहलबाट समाधान नभए अन्तर्राष्ट्रियकरण गरिनुपर्नेमा जोड दिए। 'कूटनीतिक रुपमा भएन भने अन्तर्राष्ट्रिय मुद्दा बनाउनु पर्छ', उनले थपे। 

सांसद बानियाँले अब छिमेकी सुध्रिनुको विकल्प नरहेको प्रष्ट पारे। 'कि छिमेकी सुधर्नु पर्यो, होइन भने सिमानामा काँडेतार हाल्नु पर्छ', बानियाँले थपे, 'हाम्रा तीनवटा गाउँमा जबरजस्ती नागरिता वितरण गरिएको छ।'

सांसद बानियाँले मिचिएको भूभागमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निरीक्षण गर्नुपर्ने बताए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.