सीमाबारेको छलफल अन्तै मोडियो, सभापतिले गरिन् हस्तक्षेप

|

काठमाडौं : भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने सवालमा सरकारको भूमिका कमजोर देखिएको भन्दै सांसदहरुले चर्को आलोचना गरेका छन्। सरकार कमजोररुपमा प्रस्तुत भएर कुनै पहल नगरेको भन्दै संसदीय समितिहरूले निरन्तर झक्झकाइ रहेका छन्।

सीमा विवादमा पछिल्लो समय सरकार सुस्ताएर मन्त्रीहरुबीच नै दोधारे कुरा चलिरहँदा सांसदहरुसमेत आरोप-प्रत्यारोपमा उत्रिएका छन्। संसदीय समितिका बैठकमा सांसदहरु भारत र चीनको पक्षविपक्षमा उत्रिएर हिलो छ्यापाछ्यापको तहसम्म पुग्ने गरेका छन्। 

शुक्रबा बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा यस्तै हिलो छ्यापाछ्याप चल्यो। नेपालको सीमा मिचिएको विषय राष्ट्रिय एजेन्डा हुनुपर्नेमा सांसदहरु नै विभाजित भएका हुन्। सीमा विवादमा हुने छलफलमा कतिपय सांसदहरुले एकले अर्कालाई छिमेकी देशको एजेण्ट भएर काम गरेको तल्लो तहको आरोप पनि लगाउन छाडेका छैनन्। 

शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सीमा मिचिएको विषयमा भएको छलफलमा समिति सदस्यहरूले एक अर्कामाथि तल्लो तहमा झरेर आरोप प्रत्यारोप गरेका हुन्।

यस्तै सवाल जवाफ र आरोप प्रत्यारोप शुक्रबार नेकपा सासंद भीम रावल र समाजवादी पार्टीकी सांसद सरिता गिरीबीच भयो। सत्तारुढ दलका दुवै सांसदबीचको तल्लो तहको यो विवाद रोक्न समिति सभापति पवित्रा निरौलाले हस्तक्षेप नै गर्नु पर्‍यो। 

आरोप प्रत्यारोप

सांसद सरिता गिरीले मिडियाहरूमा अहिलेको विवाद नेपालले आन्तरिक खपतको लागि निकालेको विषय भएको बताइन्। पूर्वराजदुतसमेत रहेका एक भारतीय अधिकारीले नेपालले आन्तरिक खपतका लागि यस्तो कुरा उठाएको भन्दै दिएको प्रतिक्रियाका सन्दर्भ उठाउँदै उनले दुई देशीय सम्बन्धका विषय हल्का ढंगले उठाउन नहुने जिकिर गरेकी थिइन्।

'अहिले मिडियामा पनि आएको छ, नेपालले आन्तरिक खपतको लागि यस्तो विवाद गर्‍यो भनेर, हामीले पनि झल्को आउने गरी निर्वाचन अघि सरकार प्रमुखले सरकार ढले पनि ढल्छ भन्‍ने कुरा आएको थियो, यस्ता विषयमा सामान्य ढंगले कुरा गर्नु हुँदैन', सांसद गिरीले भनिन् ' चीन र भारतबीचमा त सीमा विवाद छन्। सदियौदेखि सम्बन्ध रहेको नेपाल-भारत बीच सीमा विवाद हुनु स्वाभाविक पनि हो।'

तर नेता रावलले भारतीय पक्षले आन्तरिक खपत भनेर सदनमा कुरा उठाएको भन्दै सरिता गिरीको भनाइप्रति असहमति जनाए। 'यहाँ एकजना माननियज्यूले नेपालले उठाएको यस विषयलाई भारतले आन्तरिक खपत भनेको र भारतकै कूटनीतिज्ञको भनाइ जसरी यहाँ राख्नु भयो', उनले भने ' आफ्‍नो जग्गालाई आफ्नो हो भन्‍न आन्तरिक खपत वा निर्वाचन केन्द्रित भन्‍न मिल्दैन।'

तर सरिता गिरीले रावलप्रति संकेत गर्दै भनिन्, 'मलाई भारतको पक्ष लिएको भनियो, उहाँले चीनको पक्ष लिएको हो कि?' यति भनेपछि सभापति पवित्रा निरौलाले नेपालको विषयमा बोल्न रुलिङ गरिन्। गिरीले भने अन्तर्राष्ट्रिय समिति भएका कारण समग्र विषयमा कुरा गर्न पाउनु पर्ने जिकिर गर्दै पहिले बोल्ने सांसदलाई रुलिङ गरेको भए आफूले यसरी बोल्नु पर्ने स्थिति नआउने बताइन्। 

त्यसपछि सांसद भीम रावलले भारतीय अधिकारीको टिप्पणी र समितिमा थप मलजल पुग्ने गरी उठाइएको विषय सह्‍य नहुने प्रतिक्रिया दिए। 'हाम्रो जमिन हाम्रो हो भन्‍ने विषय आन्तरिक खपत होइन, यो इमोशनल कुरा पनि होइन', उनले भने, 'यो कुरा उठाउँदा कसैले आन्तरिक खपत हुन्छ भन्यो भने त्यो राष्ट्रिय हितविपरीतको कुरा हो,' रावलले भने।

तर तत्काल गिरीले जवाफ फर्काइन्, 'माननियज्यू राष्ट्रिय हितको पनि आफ्नै परिभाषा हुन्छ। विवाद थप बढ्ने देखिएपछि सभापति निरौलालले दुवैलाई रोकेर अर्का सांसदलाई सयम दिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.