|

जाजरकोट : कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा भारी हिमपात भइरहँदा कतै खुसीयाली थपिएको छ भने कतै नागरिक बेखुसी भएका छन्। कर्णालीका जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि यहाँका नागरिकले दुई थरी प्रतिक्रिया दिएका हुन्। हिमाली जिल्लाहरुमा वार्षिक परीक्षा दिइरहेका विद्यार्थीहरुको परीक्षा अवरुद्ध हुँदा विद्यार्थीहरु दुःखी भएका छन्। 

डोल्पा ठूली भेरी नगरपालिका कुम्लीस्थित विद्यालयका शिक्षक जयकृष्ण हमाल भन्छन्, ‘हिमपातले पुरै शैक्षिक सत्र पढाइ नहुने डोल्पामा आधा पढेर परीक्षा दिने विद्यार्थीहरुले परीक्षा दिन पनि प्रकृतिले अवरोध गरेको छ।’ ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चारवटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिए। 

पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने गर्दछ। विद्यार्थीहरु आगो बालेर परीक्षा दिन प्रयास गरे पनि सफल नभएपछि स्थगित गरिएको हो। जुफालस्थित विमानस्थल हवाई सेवा अवरुद्ध भएकाले यात्रुहरुलाई समस्या भएको छ। हुम्ला र जुम्लामा समेत हवाई सेवा अवरुद्ध भएको छ। जुफाल विमानस्थलमा गएको समिट एयरको जहाज नेपालगञ्ज फर्कन नसक्दा विमानस्थलमै रोकिएको छ।

त्यस्तै, जाजरकोटको बारेकोट, जूनीचाँदे र कुशे गाउँपालिकामा भारी हिमपात भएको छ। हिमपातका कारण उक्त क्षेत्रमा विद्यालय र सरकारी कार्यालयको काम समेत ठप्प भएको छ। 

हिमपातले किसानहरु भने खुसी भएका छन्। आकाशे पानीको भरमा लगाएको गहुँ, जौं, तरकारीबाली हिमपातका कारण सप्रिने भएपछि किसान खुसी भएका हुन्। जिल्लाका सातैवटा स्थानीय तहका स्थानीयवासीहरु पानी परेका कारण हिउँदेबाली सप्रिने भन्दै खुसी भएको बारेकोट गाउँपालिकास्थित वीरेन्द्र एश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए। जाजरकोटका गाउँगाउँमा फोन सेवा अवरुद्ध भएको छ। 

जाजरकोट र डोल्पाका आन्तरिक सडकहरु हिमपातले अवरुद्ध भएको स्थानीय सरकारका प्रमुुखले बताएका छन्। उपल्लो डोल्पामा हिमपात अत्यधिक मात्रामा भएका कारण स्थानीयवासीहरु घरबाहिर निस्किन सकेका छैनन्। पिउने पानी समेत जमेका कारण हिउँ तताएर पानी प्रयोग गर्न बाध्य भएको स्थानीयले बताएका छन्।

लगातार केही दिनदेखि बादल लागेका कारण ग्रामीण क्षेत्रमा रहेका टावरमा सौर्यऊर्जा (सोलार) चार्ज नहुँदा सञ्चारमाध्यम अवरुद्ध भएको छ। टावर अवरुद्ध भएसँगै ग्रामीण क्षेत्रमा सम्पर्क टुटेको स्थानीय प्रशासनले बताएका छन्। यातायातको पहुँच नभएको ठाउँमा सञ्चालन हुने घोडा, खच्चडहरु समेत बिहानैदेखि लगातार पानी परेका कारण रोकिएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए।

त्यस्तै, सुर्खेतको सिम्ता गाउँपालिका–१ बाँखर्क र रोगारयाबीच पर्ने मुलागल्पा पहिरो जाँदा छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि परेको वर्षाका कारण पहिरो जाँदा दलबहादुर परियारको घर जोखिममा परेको छ। उक्त स्थानमा गएको पहिरो हटाउन खजितएको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए।

त्यस्तै स्थानीय प्रशासनले विपत प्रतिकार्य योजनालाई कडाइका साथ लागु गर्न आग्रह गरेका छन्। स्थानीय सरकारसँग समन्वय गरेर चिसोकै कारण कसैको पनि अकालमै ज्यान नजाओस् भनी हिमाली जिल्लाहरुमा उच्च सर्तकतामा रहन आग्रह गरिएको छ। समस्या भएको ठाउँमा तत्काल राहत र न्यानो कपडा वितरण गर्न समेत आग्रह गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.