|

बैतडी : बैतडी प्रहरीले २१६ थान हातहतियार संकलन गरेको छ।

गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा हातहतियार संकलन गरिएको हो। भर्खरै सम्पन्न उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी हातहतियार संकलन गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए।  

उनले ४८ थान हतियार उपनिर्वाचनको समयमा र १६४ थान हतियार उपनिर्वाचनभन्दा अघि नै संकलन भएका बताए। संकलित हतियार बढीजसो एकनाले भरुवा बन्दुक रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यसका साथै दुइनाले भरुवा बन्दुक र बारबोर पनि संकलन भएका छन्।

संकलित भएका सबै हतियार जिल्ला प्रशासन कार्यालयबाट इजाजतप्राप्त रहेका जनाइएको छ। हतियार संकलनपछि भने हत्या-हिंसाका घटनामा कमी आउनुका साथै वन्यजन्तुको चोरी-सिकारीका घटनासमेत न्यूनीकरण हुने विश्वास गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।  

अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले बैध अबैध हतियार बुझाउन आग्रह गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। 

गृह मन्त्रालयले मंसिर १४ मा सम्पन्न उपनिर्वाचन भएका जिल्लामा मंसिर १० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो। साथै सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै अवैध हतियार बुझाउन गत चैत १ गते नै ३५ दिने सूचना जारी गरेको थियो। 

यसका साथै गत फागुन २८ को मन्त्रिपरिषदको बैठकले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.