|

उदयपुर : उदयपुरमा करदाता सेवा कार्यालय गाईघाटले ८० प्रतिशत बढी राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा  यस वर्ष उल्लेखनीय प्रगति गरेको हो।

गतवर्षको कार्तिक मसान्तमा ११ करोड कर राजस्व संकलन गरेको कार्यालयले चालु आर्थिक वर्षको सोही अवधिमा करिब २० करोड राजस्व संकलन गर्न सफल भएको करदाता सेवा कार्यालय गाईघाटले जनाएको छ। जुन अघिल्लो आर्थिक वर्षभन्दा ८० प्रतिशत बढी राजस्व हो। 

व्यवसायीसँग निरन्तर संवाद र प्रभावकारी कर शिक्षा लागू गरेकाले राजस्व संकलनमा बृद्धि भएको छ। उद्योग वाणिज्य संघसँगको सहकार्यले राजस्व संकलनमा गर्व गर्न लायक सुधार भएको त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइलीले बताए।

सेवा कार्यालयले आयकर ६ करोड ७८ लाख, मृल्य अभिवृद्धि कर ११ करोड ४३ लाख सकलन गरेको जनाएको छ। यस्तै, अन्तशुल्क कर १ करोड १२ लाख ३४ हजार, वहाल कर, व्याज कर, स्वास्थ्य र शिक्षा सेवा शुल्क गरी जम्मा १९ करोड ९९ लाख राजस्व संकलन गरेको कर अधिकृत सुमन बुढाथोकीले जानकारी दिए।

सेवा कार्यालयको सक्रियता बढेसँगै नयाँ करदाताको ठुलो संख्यामा वृद्धि भएको छ। सरकारले साउन १ देखि व्यक्तिगत स्थायी लेखा नम्बर (पान नं.) अनिवार्य गरेपछि उदयपुरका करिब चार हजार व्यक्ति करको दायरामा आएका छन्।

वर्षको ४० करो भन्दा बढी राजस्व उठाउन सफल सेवा कार्यालयलाई आवश्यक जनशक्ति थप गरी आन्तरिक राजस्व कार्यालयमा अपग्रेट गर्न जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.