|

बारा : निजगढ नगरपालिका–७ माझी टोलमा एउटा जीर्ण घर छ। काठले बनेको त्यो घरको पश्चिम र दक्षिणतर्फ टेको दिइएको छ। त्यही घरमा बस्छन् ८२ वर्षीय दुर्गाबहादुर राना ।

उनको घरभित्र छिर्न निहुरिनुपर्छ। ढोका बल गरेर तानेपछि मात्र खुल्छ। घरभित्र एक मिनेट बिताउन पनि डरले मुटु काप्छ। कतिबेला घर ढलेर थिच्ने हो कि भनेर। भित्र पूर्वपट्टी चिसो भुइँमा मैलो डसना र पातलो सिरक छ। पश्चिमतर्फ दाउरा बालेर खाना पकाउने चुलो र केही भाडाँकुडा छन्। खपडाको छानो पनि ठाउँ–ठाउँमा फुटेर प्लाष्टिकले टालिएको छ। त्यहाँबाट वर्षाको पानी र हिउँदको चिसो सजिलै भित्र पस्छ।

जीवनको उतरार्द्धमा पुगेका दुर्गाबहादुर घरमा एक्लै छन्। साहराविहीन उनका दाजुभाइ खलक पनि पराइजस्तै भएका छन्। त्यसैले त उनी ८२ वर्षसम्म नागरिकताको प्रमाणपत्रविहीन भए।  राज्यबाट पाउने सेवा सुविधाबाट समेत बञ्चित भए।

दुर्गाबहादुर वर्षौंदेखि एक्लो जीवन बिताउँदै आएको स्थानीय चन्द्रमाया रानाले बताइन्। ‘उमेर छँदाँ गाउँलेको बाख्रा गोठालो भएर बिताए,’ चन्द्रमायाले भनिन्‚‘बुढेसकालमा निर्माण क्षेत्रमा दिनभरि काम गरेर साँझ उही जीर्ण छाप्रोमा फर्किन्छन्।’

जीवनले नयाँ मोड

दुर्गाबहादुर भर्खरै नेपाली नागरिक भएका छन्। स्थानीय युवाहरुको पहलमा उनले नागरिकताको प्रमाणपत्र पाउन सफल भएका हुन्। धेरै दुःख गरेर उनको नागरिकता बनाइएको चौतारी युवा क्लबका सल्लाहकार मोती राना मगरले बताए।

‘क्लबका अध्यक्ष दिलबहादुर राना र उपसचिव तुलबहादुर रानाको विशेष भूमिका रहेको छ,’ मोतीले भने‚ ‘नागरिकताका लागि वडा कार्यालयमा धेरै पटक धाइयो। इलाका प्रशासन कार्यालय सिमराले प्रहरी सर्जिमिन मागेपछि गाउँले सबै मिलेर सर्जिमिन मुचुल्कामा दस्तखत गरेर पठाएपछि मात्र नागरिकता बन्यो। हामी जेल जान परे पनि जान तयार छौं भनेर नागरिकता बनाउन प्रशासनलाई आग्रह गरेको उनले सुनाए।

देउसीभैलो खेलेको पैसाबाट घर

दुर्गाबहादुरको पक्की घर बनाउन स्थानीय चौतारी युवा क्लबले देउसीभैलो खेलेका थिए। देउसीबाट ३० हजार रकम उठेको थियो। उक्त रकम अपुग भएकाले क्बलले विभिन्न व्यक्ति र संस्थाबाट रकम जुटाई घर बनाउन सुरु गरिसकेको छ।

घरको मंसिर दोस्रो साता निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछाने खनालले शिलान्यास गरेकी छन्। अढाई लाख लागतमा भान्सासहित घर निर्माण गर्ने योजना अनुसार भुइँ ढलान समेत सकिएको क्लबका पर्शुराम भण्डारीले बताए। घर निर्माण एक महिनाभित्र निर्माण पूरा गर्ने योजना छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.