काठमाडौं : एक वर्षपछि बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन्। आइतबार बिहान बसेको नेकपाको सचिवालय बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओली एक वर्षपछि बसेको स्थायी समितिको बैठकमा सहभागिता जनाएका छैनन्।
प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्था विस्तारै सुधार हुँदै गएका बताएका थिए। सचिवालय बैठकमा पनि ओली पूरै समय बसेका थिएनन्।
पार्टी मुख्यालयमा आइतबार १ बजेबाट सुरु भएको स्थायी समितिको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षता गरिरहेका छन्। नेकपाको पार्टी विधानअनुसार स्थायी समितिको बैठक तीन/तीन महिनामा हुनुपर्ने उल्लेख छ।
बैठकले संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बसिरहेको छ। अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकको लागि राजनीतिक प्रतिवेदनसमेत प्रस्तुत गराउँदैछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।