'कालोपत्रे गर्न तापक्रम नपुग्दा काम ठप्प'

|

बैतडी : वर्षा र हिमपातले गर्दा बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम गएको तीन दिनदेखि अवरुद्ध भएको छ। वर्षाले गर्दा विमानस्थल कालोपत्रेको काम शुक्रबारदेखि पूर्णरूपमा ठप्प भएको निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले जनाएको छ। 

निर्माण कम्पनीका इन्जिनियर पुरन रावलका अनुसार कालोपत्रे गर्नको लागि आवश्यक पर्ने तापक्रम नपुग्दा काम ठप्प रहेको हो। 'कालोपत्रे गर्नको लागि कम्तीमा पनि १० डिग्री सेल्सियस तापक्रम चाहिन्छ,' उनले भने, 'चाहिने आवश्यक तापक्रमका लागि अझै दुई तीन दिन लाग्न सक्छ।' 

कम्तीमा पनि बुधबारसम्म पर्खिनुपर्ने देखिएको उनको भनाइ छ। विस २०७५ को असारमा कालोपत्रे गरिसक्ने सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल १६ महिनापछि मंसिर २५ गतेदेखि मात्रै सुरु भएको थियो। लामो समयपश्चात कालोपत्रेको काम सुरु भए पनि वर्षाले गर्दा झनै काम प्रभावित भएको हो।

लगातार काम गर्न सकिए अबको २० दिनमै कालोपत्रेको काम सकिने निर्माण कम्पनीको दाबी रहेको छ।  कम्पनीकाअनुसार ठेक्का भएको केही समय नेपाल बन्द र वर्षा भएकोले सुरुमा काम गर्न नपाएकोले ढिला गरी कालोपत्रेको काम सुरु भएको हो। 

विमानस्थल कालोपत्रेपश्चात अन्य संरचना बनाउन अझै समय लाग्ने छ।  पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ। यसका लागि करीब मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.