ड्राइभरले यात्रुलाई ब्रेकमा समस्या भएको बताएका थिए

|

विदुर आचार्य 

सिन्धुपाल्चोक : दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा. २ ख ४४६८ नम्बरको रिजर्भ बस आइतबार बिहान दुर्घटना भयो। सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका-७ को पाँचकिलोमा दुर्घटना भएको थियो। 

दुर्घटनामा १४ जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। दुर्घटनामा परेर २० जना घाइते भएको उनले जनाए।कालिञ्चोक दर्शन गरेर फर्कने क्रममा बस ब्रेक फेल भई करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ। तीव्र गति र बसको ब्रेक फेल भएको कारणले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी काफ्लले बताए।

दुर्घटनामा परी ज्यान जानेमा ८ महिला, ३ पुरुष र ३ बालबालिका रहेका छन्। दुर्घटनामा दोलखा जिल्ला भीमेश्वर नगरपालिका-९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका-४ प्रितीका २४ वर्षीय महेश तामाङ, काभ्रे बेथानचोक-५ का ३५ वर्षीय रामशरण खत्री र सोही स्थानकी उनको श्रीमती ३५ वर्षीया मैया खत्री रहेका छन्। 

त्यसैगरी, लिसंखुपाखर गाउँपालिका-४ की ५३ वर्षीया गंगामाया लामा, जुगल गाउँपालिका-७ याङलकोटकी ७ वर्षीया सबना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको सनाखत भएको छ। बाँकी दुई जनाको भने खनाखत हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ।

घाइतेहरूमध्ये १० जनाको काठमाडौंस्थित ह्याम्स अस्पताल, तीनजना काभ्रेको धुलिखेल र बाँकी घाइतेको सिन्धु सदावहार अस्पतालमा खाडिचौरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार वसन्त श्रेष्ठले जानकारी दिए।

यसरी भयो दुर्घटना

बिहानै दोलखावाट छुटेको बसको गति सीमित नै थियो। दुर्घटना स्थलभन्दा कैही माथि आइपुग्दा बसका चालकले ब्रेकमा केही समस्या आएको बताएका थिए। घटना स्थलबाट पाँच किलोमिटर तल खाडिचौर बजार झरेर ब्रेक बनाउने चालकको योजना यात्रुहरूलाई सुनाएका थिए। 

मोडैमोड रहेको लामोसाँघु-जिरी सडकको पाँच किलोको मोडमा आइपुग्दा भने चालकके ‘स्टेरिङ’ काट्न नभ्याएको सदावहार अस्पताल खाडीचौरमा उपचाररत घाइतेहरू बताउँछन्। 

घाइते र मृतक सिन्धुपाल्चोकै बढी

विभिन्न ठाँउका भक्तपुरमा बसोबास गर्दै आएको समूह कालिञ्चोक दर्शनमा गएका भए पनि घाइते र मृतकहरू भने अधिकांश सिन्धुपाल्चोकका रहेका छन्। मृतक सनाखत भएका मध्ये ३  र घाइते ११ जना सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका रहेका छन्।

घाइतेको विवरण 

सिन्धुपाल्चोक जुगल गाँउपालिका ७ की गंगामायाँ तामाङ, उनकी छोरी वर्ष २ की आयुषा तामाङ, धनकाजी तामाङ, रंजित तामाङ, हरीमाया तामाङ, दोर्जे तामाङ, सागर तामाङ, दिपक तामाङ, नैना तामाङ, वलेफी ३ की आशिका तामाङ,  भक्तपुर सूर्यबिनायक ८ की किनु बस्नेत, भक्तपुरका सागर केसी, मिठु ढकाल, दोलखाका गिप्लप तामाङ,र  अन्दाजी ८ महिनाकी वालिका सहित रामसिं तामाङ, जंगवहादुर तामाङ, आईस तामाङ, शंकर तामाङ र अञ्जना तामाङको ठेगाना खुलेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.