चल्ला नष्ट गर्नेलाई प्रहरीको केरकार

|

चितवन : १० दिन चल्ला उत्पादन नगर्ने घोषणा गरेको नेपाल ह्याचरी उद्योग संघले चल्ला नष्ट गर्ने अभियान सुरु गरेको छ।

चितवनको भरतपुर महानगरपालिका-१६ फूर्तीचोकमा रहेको बूढानीलकण्ठ ब्रिडर्स फार्म प्रालिमा उत्पादन भएको चल्ला आइतबार नष्ट गरेको छ।

ह्याचरी उद्योग संघका पदाधिकारीसहितको टोलीले फार्ममा पुगेर ६ हजार बढी चल्ला नष्ट गरिदिएका हुन्। ह्याचरी संघको पूर्वघोषित कार्यक्रमअनुसार चल्ला नष्ट गरिएको संघले जनाएको छ।

फार्म प्रालिका सञ्चालक देवेन्द्र श्रेष्ठले आफ्ना ६ हजार बढी गिरीराज कुखुराका चल्ला नष्ट गरिदिएको बताए।

संघका पदाधिकारीहरूको टोलीले आइतबार बिहान उत्पादन भएको कोइरल चल्ला नष्ट गरिदिएको श्रेष्ठले बताए। अहिलेको बजार मूल्य अनुसार दुई लाख १० हजार बराबरको कुखुराको चल्ला नष्ट गरेको श्रेष्ठको भनाइ छ।

चल्ला नष्ट गर्ने कार्यमा संलग्न संघका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोधपुछका लागि बोलाएको थियो।

केहीसमय छलफल गरेपछि फर्किएको प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले बताए। श्रेष्ठका अनुसार संघका पदाधिकारीहरूसँगको छलफलपछि कोइलर चल्ला उत्पादनमा भने समस्या नपार्ने सहमति भएको छ।

उत्पादित चल्लाले उचित मूल्य नपाएको भन्दै ह्याचरी उद्योग संघले देशैभर १० दिन चल्ला उत्पादन बन्द गरेको छ। संघको भेलाले आइतबारबाट १० दिन चल्ला उत्पादन बन्द गरेका हुन्।

नेपालमा हाल प्रतिहप्ता ४५ लाख ब्रोइलर चल्ला, दुई लाख ५० हजार लेयर्स चल्ला र कलर ब्रोइलर चल्ला प्रतिहप्ता एक लाख ७० हजारवटा उत्पादन भइरहेको ह्याचरी संघले जनाएको छ।

कुखुराको दानाको मूल्य बढ्दा दिनप्रतिदिन लागत बढ्ने र उत्पादित वस्तुले उचित मूल्य नपाउँदा नकरात्मक प्रभाव परेको व्यवसायीको भनाइ छ। मुलुकभर ब्रोइलर, लेयर्स र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी उद्योग रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.