|

चितवन : नेपाल अण्डा उत्पादक संघले तोकेको मूल्य कार्यान्वयन नहुँदा किसान मारमा परेका छन्। अण्डा व्यवसायमा रहेका विभिन्न विचौलियाले संघले निर्धारण गरेको मूल्य भन्दा कममा किनबेच गर्दा अण्डा उत्पादक किसान मारमा परेका हुन्। 

देशैभरिका किसानले उत्पादन गरेको अण्डामा विचौलियाले हालीमुहाली कायम गर्न खोज्दा किसान मर्कामा परेको संघका अध्यक्ष शिवराम केसीले बताए।विचौलीयाको दादागिरीले किसानको भेलाबाट निर्धारण गरिएको अण्डाको मूल्य नपाउदा किसान विस्थापित हुने अवस्थामा पुगेको केसीको भनाई छ।

अण्डा उत्पादक संघ, अण्डा उत्पादक तथा वितरक संघको संयुक्त बैठकले तोकेको मूल्य किसानले नपाएको गुनासोका आधारमा अनुगमन गर्दा कम मूल्यमा किनवेच भइरहेको पाइएपछि मंसिर २३ गते पुन : मूल्य निर्धारण गरिएको थियो। ठूलो अण्डाको मूल्य प्रतिक्रेट २७५ खरिद र २८० बिक्री मूल्य तोकिए पनि सप्लायर्सले २४० देखि २५० रुपैयाँ मात्रै किसानलाई दिने गरेको संघका अध्यक्ष केसीले बताए। 

संघले तोकेको मूल्य कार्यान्वयन गर्नुको साटो सप्लायर्सले किसानले उत्पादन गरेको अण्डाको आफू खुसी कम मूल्य तोक्ने गरेका छन्। किसानले व्यवसाय सुरु गर्ने समयमा सहयोग गर्ने र पछि सप्लायर्स आफैले तोकेको मूल्यमा अण्डा नदिए किसानलाई (कुखुरालाई खुवाउने) दाना नदिने, अण्डा नकिन्ने जास्ता विभिन्न अप्ठ्यारोमा पार्ने गरेको गुनासो गरे। 

संघले तोकेको मूल्य नपाएपछि पदमपुरका अण्डा उत्पादक किसान जयनारायण शर्मा, जीवन चौधरीलगायतका किसानले सप्लायर्सलाई आइतबार अण्डा दिएनन्। दाना रोक्ने, मनोमानी रुपमा मूल्य तोक्ने लगायतको समस्याले पीडित रहेको किसानको गुनासो छ। चितवनमा मात्रै ४ सय भन्दा धेरै अण्डा उत्पादक किसान रहेका छन् भने २० भन्दा धेरै सप्लायर्स रहेको संघले जनाएको छ। 

सप्लायर्सको मनोमानीविरुद्ध वोल्दा पक्राउ

सप्लायर्सको मनोमानी रोक्न खोज्दा अण्डा उत्पादक ५ जना कृषक पक्राउ परेको संघले जनाएको छ। संघका अध्यक्ष केसीका अनुसार मंसिर २३ गते सर्वपक्षीय भेलाबाट तोकिएको मूल्य कार्यान्वयनका लागि सवैलाई पत्रचार गरिएको थियो। उल्टै कुखुरा, अण्डा, दाना वितरक संघका पूर्व अध्यक्ष रामलाल भुसालले अर्को मूल्य केसीलाई एसएमएसमार्फत पठाए। त्यसपछि २७ गत्तेको संयुक्त बैठकमा रामलाललाई किसानले आफू खुसी मूल्य तोक्ने तपाइँ को हो? भन्दै केही वेर विवाद भएको थियो।

विवाद बढ्दै गएपछि अभद्र व्यवहारको आरोपमा ५ जना कृषक पक्राउ परेको केसीले बताए। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ६ गितानगरका प्रकाश अधिकारी, २३ जगतपुरका आनन्द मास्के, कालिका नगरपालिका ६ का रामहरी केसी, दिपेश्वर केसी र भरपुर १४ का राजेन्द्र साँखी रहेका छन्।

अण्डा उत्पादक संघले उनीहरूलाई तत्काल रिहाइको माग गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.