'दुर्घटनाका खबरले स्तब्ध छु, खान र सुत्‍नै सकिनँ'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाएर सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाइ तत्काल लागू गर्न निर्देशन दिएका छन्।

पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएपछि त्यसलाई न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई बोलाइ निर्देशन दिएका हुन्। 

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमूख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको समूहलाई प्रधानमन्त्रीले संयुक्त रुपमा निर्देशन दिएका हुन्। 

उक्त छलफलमा ओलीले पछिल्लो पटक सडक दुर्घटनामा धेरै मानवीय क्षति भएकोले आफूलाई निद्रा नपरेको समेत बताए। ‘सिन्धुपाल्चोकको सडक दूर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढेँ, विरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ,' ओलीले भने,‘हिजो खाना खान र सुत्न पनि सकिनँ। यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ। त्यसले कति वृद्धवृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ? यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु पर्‍यो।’ 

प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औंल्याउँदै सार्वजनिक यातायातका चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिए।

‘सिट भन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस,’प्रधानमन्त्री ओलीले भने, ‘सडक पूर्वाधारको स्वीकृति गर्दा डबल लेन घटीको संरचना स्वीकृत नगर्नुस्, सडकको डिलमा ग्रास ब्यारियार अनिवार्य निर्माण गर्ने व्यवस्था गर्नुस्, सडकमा स्पिड ब्रेकरको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस्।’ 

हवाई दूर्घटनामा जस्तै हरेक सडक दूर्घटनाका कारण पनि छानविन गरी प्रतिवेदन तयार गर्न  पनि उनले निर्देशन दिए। प्रधानमन्त्रीको निर्देशन अनुरुप यस आर्थिक वर्षमा भएका सडक दूर्घटनाको छानविन गरि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता गृहमन्त्रालयले व्यक्त गरेको छ। 

उक्त छलफलमा गृहसचिव प्रेमकुमार राईले सडक दूर्घटनाको वर्तमान अवस्था, न्यूनीकरणका उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। यस्तै भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमूख भीम ढकालले पनि आ-आफ्नो विभागबाट भएका प्रयासबारे ब्रिफिङ गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.