ए डिभजनमा लिगमा १४ खेलाडी

|

हेटौंडा : मकवानपुरले राष्ट्रिय खेलकुद मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म राम्रो प्रतिभा दिँदै आएको छ। नेपालमा भर्खरै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा मकवानपुरका तीन प्रतिभाले देशका लागि स्वर्ण उपहार दिएका छन्। नेपालले स्वर्ण पदक पाएको फुटबल खेलमा मकवानपुरका सुनिल बलले गोल गरेका थिए। 

यो पटक मकवानपुरको तर्फबाट बलसँगै संजिव ओझाले तेक्वान्दोमा स्वर्ण पदक जिते। यस्तै, मनहरिका महसुस मोक्तानले कराते टिम कातातर्फ स्वर्ण पदक चुकेका छन्। जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहाल ‘खुशराज’का अनुसार धेरै जसो खेलाडीहरु विभागीय टोलीबाट खेलेको हुनाले अझै थप खेलाडी पनि मकवानपुरबाट हुन सक्ने बताउँछन्। 

सुनिल बल

नेपाली राष्ट्रिय फुटबल टोलीको मिहेनति मिडफिल्डर भनेर चिनिने बलले २०६५ सालदेखि हेटौंडा–१० कर्राको एफसी पोतला क्लबबाट फुटबलमा आफ्नो करिअर सुरुवात गरेका थिए। उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। 

हेटौंडा उपमहानगर–९ एचआइडी जन्मिएका उनी हाल २३ वर्षका भए। बलले एन्फा एकेडेमीलगायत विभिन्न उमेर समूहको यु–१४, यु–१६, यु–१९ र यु–२३ सहित राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बल अघिल्लो सिजन थ्री स्टारबाट ए डिभिजन लिग खेलेका थिए भने यस सिजन च्यासल युथ क्लवमा आवद्ध छन्। 

२०१६ मा भारतमा भएको बाह्रौं सागमा पनि उनी सम्मिलित नेपाली टोलीले स्वर्ण पदक जितेको थियो। १३औं सागको स्वर्ण उनको दोस्रो हो। 

महशुस मोक्तान

२०७१ सालमा नेपाल प्रहरीमा प्रवेश गरेको मोक्तानले नेपाल पुलिस क्लबबाट नै कराँतेमा आफ्नो करिअर सुरुवात गरे। मनहरि गाँउपालिका सुनाचुरीका उनी २८ वर्षको भए। 

भर्खरै सम्पन्न भएको सागमा स्वर्ण जितेका उनले गत महिना बंगलादेशमा भएको साफ खेलमा समेत स्वर्ण पदक जितेका थिए। मोक्तानले सातौं राष्ट्रिय खेलमा समेत आफ्नो सहभागिता जनाएका थिए भने आँठौ राष्ट्रिय खेलमा दोस्रो भएका थिए। उनले कराँतेअन्तर्गत टिम काताबाट खेल्ने गरेका छन्। 

संजिव ओझा

२०६७ सालमा कर्रा तेक्वान्दो डोजाङ क्लबबाट खेल यात्रा सुरु गरेका उनी हाल नेपाल आर्मीका खेलाडी  हुन्।  हेटौंडा–४ कर्राका २९ वर्षीय ओझाले १३औं सागमा स्वर्ण पदक जितेका छन्। 

थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु खेलिसकेका उनले राष्ट्रिय स्तरका प्रतियोगितामा थुप्रै मेडल जितिसकेका छन्। संजिवले भुटान इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा सिल्भर मेडल र गोल्ड मेडल जित्न सफल भएका थिए। भारतमा भएको टिआइएच ओपन तेक्वान्दो च्याम्पियनसिप कलकत्तामा सिल्भर मेडल जितको थिए। 

२०५७ सालमा नेपाली सेनामा प्रवेश गरेका ओझा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सफलता प्राप्त गर्न प्रशिक्षक माधव कोइरालाको ठूलो योगदान रहेको बताउँछन्।

रीता कार्की 

कराँतेकी अन्तर्राष्ट्रिय खेलसमेत खेलेकी मकवानपुरे चेली रीता कार्कीले पनि नेपालको खेलकुद क्षेत्रमा योगदान दिँदै आएकी छिन्। उनले १३ औं सागमा कराँतेतर्फ कास्य पदक दिलाउन सफल भएकी थिइन्।

ए डिभिजनमा क्लबमा १४ खेलाडी 

शनिबारदेखि काठमाडौंमा सुरु भएको ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभिन्न क्लबबाट मकवानपुरका १४ खेलाडीले विभिन्न क्लबबाट सहभागी हुनेछन्। 

मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबाट समान तीन/तीन, ब्रिगेड ब्वाइज क्लबबाट दुई, सशस्त्र प्रहरी बलको एपीएफबाट दुई र त्रिभुवन आर्मी क्लब, सरस्वती युथ क्लब, संकटा क्लब र जावलाखेल युथ क्लबमा एक/एकजना मकवानपुरे खेलाडी अटाएका छन्।

राष्ट्रिय खेलाडीद्वय एलन न्यौपाने, सुनिल बल र अमिर श्रेष्ठ च्यासल युथ क्लबमा आवद्ध छन्। रञ्जन विष्ट मनाङ मर्स्याङ्दी क्लबमा आवद्ध छन्। निलम्बनमा परेका रञ्जनका भाइ अञ्जन पनि मनाङमै रहेका छन्। अशोक बरालले पनि मनाङको गोलपोस्ट सम्हाल्दै छन्। पदमपोखरीका रवि थिङ र कर्राका बीके लामाले मनाङमै आवद्ध छन्।

विमल पाण्डे आर्मीबाट खेल्दैछन्। सरस्वती युथ क्लबले हर्नामाडीका सुनिल घलान ‘डने’लाई अनुबन्ध गरेको छ। यस्तै, मनहरिका मनिष पौडेल जावलाखेल युथ क्लबमा आबद्ध भएका छन्। यु–१९ राष्ट्रिय टोलीका एन्जल महर्जन र रोशन दोङलाई बिग्रेड ब्वाइज क्लबले अनुबन्ध गरेको छ। यु–१९ को गोलरक्षक रोहित कार्की संकटा क्लबमा आवद्ध भएका छन्।

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले फुटबल खेलाडीका लागि चाडको रुपमा रहने घरेलु लिगमा जिल्लाका १४ खेलाडी समेटिनु खुसीको कुरा भएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.