|
फाइल फोटो

गुल्मी : नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य एक हजार  ३५० तोके पनि गुल्मीका व्यापारीले एक हजार ४५० रुपैयाँ असुल गर्दै आएका छन्।व्यापारीले निगमले तोकेको मूल्यभन्दा बढी रकम असुल्दै आउँदा पनि यहाँको उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय मौन बस्दै आएको पाइएको छ। 

निगमले असोज ३ गते राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको सूचना प्रकाशन गरेको थियो। कसैले निगमले तोकेभन्दा बढी शुल्क असुली गरे कानुनअनुसार कार्वाही गरिने पनि सूचनामा उल्लेख गरेको छ।

बढी रकम असुल गरेको भन्दै निगममा निवेदन

निगमले सार्वजनिक गरेको मूल्यभन्दा बढी रकम असुल गरेको भन्दै गुल्मी जिल्लाको रेसुंगा नगरपालिका सन्तोष पाण्डेले आयल निगमको केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्। कात्तिक २७ गते निगमको कार्यालयमा दर्ता नं ५१३३ मा निवेदन दर्ता भएको छ। निगमले भैरहवा शाखालाई पनि पत्र काटिसकेको जनाइको छ।

व्यापारीले उपभोक्तालाई मर्का पर्ने गरी लिइएको रकम समायोजन गराउन निगमलाई आग्रह गरिएको पाण्डेले बताए। सर्वसाधारणको आँखामा छारो हाल्ने अधिकार कसैलाई नभएको भन्दै व्यापारीले कलोबजारी नरोके कानुनी कार्वाहीका लागि पहल गर्ने उनले बताए।

वास्तविकता बुझ्छौँ : प्रशासन

यता, जिल्ला प्रशासन कार्यालय गुल्मीले खाना पकाउने ग्यासमा व्यापारीले बढी रकम असुलको बारे वास्तविकता बुझ्ने बताएको छ। गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले मौखिक रूपमा आफूलाई जानकारी आएको भन्दै तत्कालै वास्तविकता के रहेछ बुझेर सर्वसाधारणको पक्षमा लाग्ने बताए। व्यापारीलाई कालोबजारी गर्ने अधिकार नभएको भन्दै यस्तो भेटिए कानुनअनुसार कार्वाहीको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ। 

'घाटा खाएर व्यापारीले ग्यास बेच्न सक्दैनन्'

बजार खाना पकाउने ग्यासमा कालोबजारी भयो भन्ने हल्ला आउन थालेपछि व्यापारीले सुटुक्क ५० रुपैयाँ घटाएर एक हजार चार सयमा बेच्न थालेको पाइएको छ। बजारमा खाना पकाउने ग्यासको मूल्यमा कालोबजारी भयो भनेर चर्चा चलिरहेको बेला व्यापारीले घाटा खाएर ग्यास बेच्न नसक्ने उद्योग वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले  बताए।

तम्घासमा ग्यासको डिपो नभएकाले व्यापारीले निगमले तोकेको एक हजार ३५० मा बेच्दा घाटा हुने बताए। उनले घाटा खाएर कोही पनि व्यापार गर्न तयार नरहेको बताए। निगमले तोकेको मूल्यमा व्यापारीलाई पनि ग्यास नआउने भन्दै तम्घासका व्यापारीले अब ग्यास नै बेच्न नसक्ने अवस्थामा आएको उनले दाबी गरे। व्यापारीले ग्यास नै नबेचेन्ने भएपछि बजारमा ग्यासको संकट पनि आउन सक्ने भुसालले संकेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.