दुई महिलासहित पाँच पक्राउ

|

हेटौँडा : मकवानपुर प्रहरीले अपहरणमा परेका एकजनालाई ८ घण्टामा सकुशल उद्धार गरेको छ। अपरहणमा परेका रामेछाप दोरम्बा-५ बस्ने २१ वर्षीय नरेश थापा मगरलाई सकशुल उद्धार गरेको प्रहरीले बुधबार साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

ट्याक्सी रोकेर अपहरण

बुधबार बिहान हेटौँडा-४ स्थित फरेष्ट्रि गेटअगाडि अम्लेखगञ्जबाट काठमाडौं जाँदै गरेको बा. २ ज ५९५ नम्बरको ट्याक्सी झ्याप्पै रोकियो। बा. २ ज ५३५६ नम्बरको विपरीत दिशामा आएका तीनजनाले ट्याक्सीको टायरमा ओड राख्दै नरेश थापाको खोजी गर्न थाले पछि ट्याक्सी रोकिएको हो।

नरेशको खोजी भएपछि नरेशसँगै बसेका सरोज सापकोटाले 'किन चाहियो नरेश?' भने। उनले सोधेलगत्तै सापकोटालाई विपरीत दिशाबाट आएको ट्याक्सीमा सवार तीनजनाले कुटपिट गरे। रक्ताम्य हुँदै सापकोटा त्यहाँबाट भागे। तीनजना पुरुष र एकजना महिलासहित चारजनाको टोलीले नरेशलाई अपरहण गरे।

मोबाइलले पत्ता लगायो

भागेर अपरहण हुनबाट बाँचेका सरोजले तुरन्तै प्रहरीलाई खबर गरे। कुटाइबाट घाइते भएका सरोजले प्रहरीलाई नरेशको अपहरणको खबर दिनेबत्तिकै सुक्ष्म ढंगले मकवानपुर प्रहरीले व्यापक प्रहरी परिचालन गर्‍यो।

प्रहरीले सरोजलाई अपहरित नरेशलाई फोन गर्न लगाए। तर, जवाफ आयो, 'काठमाडौंमा छु।' प्रहरीलाई विश्वास लाग्ने र नेपाल टेलिकमको सहयोगमा प्रहरीले मोबाइलको 'लोकेशन ट्रयाकिङ' गर्‍यो। लोकेशन देखियो, हेटौँडाको लामसुरे।

प्रहरीले तुरन्तै 'एक्सन' लिएपछि  बा. २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका समूहले कुटपिट गरी घरेलु हतियार देखाएर हेटौँडा-९ लामसुरेस्थित एक घरमा बन्धक बनाई राखेको अवस्थामा नरेशलाई सकुशल उद्धार गर्न सफल भयो। 

दुई महिलासहित पाँच पक्राउ

पत्रकार सम्मेलनमा बोल्दै मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घटनाको जानकारी पाएलगत्तै 'एक्सन' लिएकोले अपरहणकारी पक्रन सफल भएको बताए।

प्रहरीले अपहरणमा संलग्न कैलाली धनगढी घर भई  हाल पुरानो बानेश्वर काठमाडौं बस्ने २४ वर्षीय आशिष सिंजापती, कन्चनपुर श्रीपुर-६ बस्ने २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रवती ढुस्जु गाँउपालिका-६ बस्ने कृष्ण गुरुङ, सोही गाउँपालिका-४ घर भई बा. २ ज ५३५६ नम्बरका ट्याक्सी चालक आशिक लामा र मगरलाई अपहरण गरी बन्धक बनाई राख्ने घरधनी हेटौँडा ९ लामसुरे बस्ने ३६ वर्षीया सरस्वती तामाङलाई घटना भएको ८ घण्टापछि पक्राउ गरेर सार्वजनिक गरेको हो।

बन्धक अवस्थामा राख्न सहयोग गर्ने प्रहरीलाई समेत अवरोध गर्न खोज्ने अन्य तीनजनासमेत भएको र उनीहरूको पनि खोजी कार्य जारी रहेको जनाएको छ।

यसैगरी, अपहरणकारीले मगरलाई छुटाउन गएका बा. २ ज ५९५ नम्बरमा ट्याक्सीमा सवार काभ्रेपलान्चोक मण्डन देउपुर नगरपालिका-९ बस्ने २८ वर्षीय सापकोटालाई कुटपिट गरि घाइते बनाए थिए। 

अपरहणको कारण नखुलेता पनि लेनदेन वा पुरानो रिसिबी हुन सक्ने प्रहरीले अनुमान गरेको जनाएको छ। पक्राउ परेका पाँचजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.