|

काठमाडौंः रमण घिमिरेको परिचय गीतकारका रूपमा स्थापित छ। यद्यपि‚ पत्रकारितामा उनको योगदान सम्झिएन भने रमणलाई नचिनेको ठहर्छ। रमण ३५ वर्षदेखि कला पत्रकारितामा क्रियाशील छन्। उनका कृतिहरु नेपाली साहित्य जगतमा एक दर्जन एक, अर्थात हामी, आँखी झ्याल र सुत्रधार। त्यसैगरी उनका रेकर्ड भएका १५० गीतमा प्रसिद्ब गायकहरुले स्वरबद्व गरिसकेका छन्।

जसले गीतमा शब्द गुन्जिने बनायो-संगीत दिनेको वास्ता गरेन। गर्‍यो त केबल शब्दको। स्वर मात्रै मन पराउने, संगीतलाई नचिन्ने, चिन्ह नचाहने, अनि शब्द संयोजनबाट गीतको भाकासँगै आँसु खसाल्ने र मुस्कुराउने ती सबैका लागि संगीत भन्दा माथि शब्द हुन्छ भनेर ख्याल गराउन बाध्य बनाए रमण घिमिरेका शब्दले।

कहिले तिम्रो पछ्यौरीमा अल्झेँ
कहिले तिम्रो चौबन्दीमा अल्झेँ
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झेँ

रमणले नेपाली कविता,गीत र नाटय क्षेत्रमा प्रशस्तै योगदान पुर्‍याएका छन् भन्दा अन्याय नहोला। भाषासाहित्य समृद्ध भएपछि मात्र देश र समाज विकास गर्न सकिने घिमिरेको विश्वास छ।

उनै चर्चित पत्रकार, कवि तथा गीतकार रमण घिमिरेसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानी :

पछिल्लो समयलाई कसरी उपयोग गरिरहनु भएको छ?

म अहिले पनि आफ्नो पुरानो पेशा पत्रकारितामा नै छु। साहित्य, कला, संस्कृति, व्यक्तित्व र कृतित्वको संरक्षण गर्ने काममा लागिरहेको छु। पहिलेभन्दा नयाँ ठाउँमा बसेर कर्म गरिरहेको छु। 

गीतकारको दर्बिलो परिचय बनाउनुभएको छ, तपाईंको पहिलो गीत कुन हो?

'नभन्नु कहिले मन दुख्यो भनेर', बुलु मुकारुङको संगीत रहेको।

तपाईंले प्रेमील गीत नै बढी लेख्नुभएको छ, किन होला?

यी सबै कारण मानिस हुन। मेरा अधिकांश गीत श्रीमतीप्रति समर्पित छन्। मेरा सबै चर्चित गीत श्रीमतीलाई सम्झेर लेखेको छु। मेरो सबै गीतका स्रोत मानिस हुन्। अझ मेरो गीतको विषयवस्तु घरमा छ। मैले गीतका लागि कतै धाउनु पर्दैन, घरमै प्राकृतिक आनन्द पाउँछु।

तपाईंका रचनाको पहिलो पाठक को हुन्?

मेरो श्रीमती। उनी मेरो रचनाको सम्पादक पनि हुन। म भन्दा बढी पुस्तक पढ्‌ने मेरी श्रीमती हुन्।

धेरै गीतहरु प्रकृति, प्रेमीका र देशलाई सम्झेर लेखिएका हुन्छन्‌, तर तपाईंले श्रीमतीलाई सम्झेर लेख्नु भएको छ, किन ?

प्रेम जसलाई बढी गरिन्छ, उसैको बारेमा लेखिन्छ। उनी श्रीमती मात्र होइनन्, उनी मेरी प्रेमिका पनि हुन्। त्यसैले उनको निम्ति नै समर्पित छन् मेरा गीत। श्रीमतीप्रति प्रेम छ भने मानिसमा प्रेमको भोक बाँकी रहन्न।

कहिलेकाहीं श्रीमतीसँग खटपट पक्कै पर्दो हो, फकाउन गीत वा कविता केही लेख्नुहुन्छ वा केही उपहार दिनुहुन्छ ?

हो, कहिलेकाहीं खटपट हुन्छ। नत्र जीवन तलाउ जस्तो हुन्छ। तलाउमा तरङ्ग उठेजस्तै दैनिक सम्बन्धका खटपटहरुले जीवनलाई नयाँ ढङ्गबाट अघि बढाउन सहयोग गर्छ। तर यस्तो खटपटको आयु त्यति लामो हुँदैन।

अहिलेसम्म तपाइँले सबैभन्दा धेरै प्रेम कसलाई गर्नुभयो?

नढाँटी भन्नुपर्दा मैले सबैभन्दा बढी प्रेम अक्षरलाई गरेको छु।

अक्षरले के दियो तपाइँलाई?

मेरो अगाडि तपाइँ उभिनुभएको छ, यो अक्षरले त दिएको हो। त्यही अक्षर खेलाउँदै  दुई छाक टार्न सकिरहेको छु। म यसैलाई अक्षरको खेती भन्छु।

कहिलेदेखि लेख्न थाल्नुभयो?

२०३७ सालदेखि शुरु गरेर २०७६ सम्म निरन्तर लेखिरहेको छु।

कुन समय र स्थानमा लेख्न रुचाउनु हुन्छ?

मन लागेको बेला लेखिहाल्छु। समय र स्थानले मलाई केही फरक पार्दैन।

आफूलाई कस्तो लेखक भन्न रुचाउनुहुन्छ ?

आफ्नो लागि लेख्ने लेखक हुँ। म कसैको वाहवाही कमाउनका लागि लेख्न मन पराउँदिन। खुसी हुनका लागि लेख्छु।

सबैभन्दा मनपरेको गीत कुन हो ?

नारायण गोपालको 'लौ सुन म भन्छु मेरो राम कहानी...'

आफूले लेखेको अनि आफैंलाई मन परेको गीत?

'आधी बाटो हिडेपछि तिमीसँग भेट भयो' भन्ने गीत मनपर्छ।

जीवनमा प्रेम र गीतले कति महत्व राख्छन् ?

यी सबैमा प्रेम हुन्छ। गीत, संगीत र जीवन सबैमा प्रेम छन्‌। सबैभन्दा बढी सिर्जनामा प्रेम छ। हरेक ठाउँमा प्रेमले छोडदैन। त्यसैले मेरो छनौट प्रेम नै हो। त्यसमा सबै कुरा हुन्छ।

'कहिले तिम्रो पच्छयौरीमा अल्झे...' गीतको भाव भनिदिनुस् न ?

मानिसका सबै कुरा राम्रा हुँदैनन, केही राम्रा हुन्छन्। त्यहीँ राम्रो कुराले मानिसलाई छुन्छ। यो महिलाप्रतिको सौन्दर्यबोध भएको कविता र गीत हो। यसको प्रेरणाको स्रोत अन्तत्वोगत्वा: मेरो श्रीमतीलाई नै जान्छ।

एउटा कल्पना गराैं, मानाै‌ स्वरसम्राट नारायण गोपाल भेटनुभयो, भने कुन गीत सुनाउन आग्रह गर्नुहुन्छ?

'यति चोखो यति मिठो दिउँला तिमीलाई माया...' यो गीत अहिलेको संगीतको प्रविधिमा गाउन आग्रह गर्थें।

नारायण गोपाललाई 'हाँस्न बिर्सेको मानिस हो जस्तो लाग्छ' भन्नुभएको रहेछ तपाईंले, कस्ता थिए उनी?

गम्भीर मानिस हुनुहुन्थ्यो। जोसुकैसँग खुल्ने बानी थिएन उहाँको। परिचयपश्चात गहिरो आत्मीयता कायम भएपछि मात्रै उहाँ हाँसखेल गर्नुहुन्थ्यो। आफ्नो लागि आफैंले लक्ष्मणरेखा बनाउनुभएको थियो।

भाषा र संगीतको विकास गर्ने नारायण गोपालको सपना थियो, के अहिले उनको सपना पुरा भएको छ ?

नारायण गोपालजस्तो गायक नेपालमा कहाँ जन्मिन्छन र अब? उहाँ संगीत क्षेत्र बाहेक अन्य विधालाई पनि माया गर्नुहुन्थ्यो। अन्य विधाका विशिष्ट मानिससँग संगत गर्नुहुन्थ्यो। अहिलेको नेशनल जियोगाफ्री च्यानलको पहिले म्याग्जिन निस्कन्थ्यो। त्यो समयमा मगाएर पढनुहुन्थ्यो, अध्ययनमा धेरै रुचि थियो। अन्य विधाका मानिससँग पनि गर्नुहुन्थ्यो। साहित्य, भाषा, ललितकला र संस्कृति बुझेको मानिस हुनुहुन्थ्यो। तर भाषा र संगीतको विकास गर्ने उहाँको सपना पुरा भएको छैन।

लामो लेखनअवधि पार गर्दा पनि नेपाली साहित्य अन्तराष्ट्रियकरण हुन सकेन, यस पछाडी के समस्या देख्नुहुन्छ?

हाम्रा कृतिहरु अनुवाद नभएर हो। यसैकारण विदेशीले हाम्रा साहित्य पढ्न पाएका छैनन्। 

तपाइँले शंकर लामिछानेबारे पढ्नुभयो/लेख्नुभयो, उहाँलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?

शंकर लामिछाने बाँचेका भए नेपाली साहित्य अन्तराष्ट्रिय जगतमा सहज ढंगले पुग्थ्यो। उहाँको अनुवाद राम्रो थियो। निबन्धको विधालाई उहाँले नै बिस्तार गर्नुभएको हो। अझ नेपालमा सिर्जनाको मूल्य तोक्ने व्यक्ति उहाँ नै हो भन्दा फरक पर्दैन।

नेपाली समाजमा साहित्यको महत्त्व ‍बुझाउने क्षमतावान साहित्यिक व्यक्ति लामिछानेले नेपाली साहित्यलाई नै एक नयाँ उचाईमा पुर्‍याइदिनु भएको थियो। 

पत्रकार, लेखक र गीतकार गरी मानिसहरुले तपाइँसँग तीन विधाको व्यक्तित्व छ, आफैंलाई चाहिँ मानिसले कताबाट चिनिदिए हुन्थ्यो भन्ने लाग्छ?

सबैभन्दा पहिले म पत्रकार हुँ। मेरो लेखनको सुरुवात नै पत्रकारिताबाट भएको हुनाले म अहिले पनि पत्रकार हुँ भन्न रुचाउँछु। कविता या गीत त सिर्जनात्मक विषय हुन। यस्ता गतिविधि स्कुले जीवनदेखि गरिआएको हुँ। पहिले पत्रकार, त्यसपछि अन्य विधाका अंशियार पनि हुँ।

प्रसिद्धि कमाउनुभयो, तर पछिल्लो समय तपाइँ चुपचाप देखिनुहुन्छ, कतै सिर्जना कर्मबाट टाढिँदै त हुनुहुन्न? 

गन्तव्यमा पुग्नुभन्दा अगाडि कस्तो र के होला भन्ने खुल्दुली हुन्छ। गन्तव्यलाई चुम्न पाए कस्तो हुन्छ जस्तो लाग्ने, जे कुराको पनि रहर हुन्छ। यथार्थ चाहिँ : प्रत्येक कुराको निश्चितता हुन्छ। हामी र हाम्रो कर्म आयु र समय रहुन्जेल मात्र हो।

मानिसमा सदा चर्चाको मोह हुन्छ र प्रशंसाको पनि उतिकै। यो मानिसको स्वभाव हो । तर मलाई अब त्यसको चाह छैन। मेरो मनले नभनेसम्म लेख्न सक्दिन, तर सक्रियतामा कमी आउन दिएको चाहिँ छैन। सक्रिय छु, सदा सक्रिय रहनेछु।

पत्रकारितालाई आफ्नो पहिलो पेशा भन्नुभयो, तपाईं त्यो क्षेत्रमा सक्रिय रहँदा ताकाको  पत्रकारिताको र अहिलेको पत्रकारितामा के भिन्नता देख्नुहुन्छ?

माध्यम मात्र फरक भएको छ, तर पत्रकारिता त सधैं उस्तै हुन्छ। सुचना पाउन २४ घन्टा कुर्नुपर्दैन, मात्र २४ सेकेन्ड पर्याप्त। अधिक मात्रामा स्रोतको प्रयोग भएको छ। पत्रकारिताको रहस्य हराएको छ।

तर पत्रकारिताले रहस्योदघाटन गर्न सक्नुपर्छ। पत्रकारितामा योग्य समाचार बन्छ कि बन्दैन? विश्वास योग्य हुन्छ कि हुन्न? यो अब चिन्ताको विषय भएको छ। समाचारको आयु क्षणिक भएको छ। सुचना-प्रविधिमा मानिसको पहुँच बढेको छ। 

नेपालको पत्रकारितामा विचार कसरी प्रवाहित भइरहेको छ?

कांग्रेस, कम्युनिष्ट वा राप्रपा कसले लेखेको हो भनेर समाचार, विचार र लेख पढ्न थालिएको छ। यस्तो भएपछि पाठकले पढन रुचाउँदैनन। किनभने विचार त्यहाँ स्वतन्त्र हुँदैन। मानिस र विचार सधैभरि स्वतन्त्र हुनुपर्छ। अब विचारलाई बाँधिएर पढन थालिएको छ। यसले कस्तो पाठक बनाउने हो, थाहा छैन। सबै पाठकले अनुमान लगाउने बेला भएको छ।

समाचारलाई पठनयोग्य बनाउन के गर्नुपर्छ?

मानिसको रुचिमा आधारित लेख र विचार हुनुपर्छ। मानिसले सदा मानिसलाई नै हेर्न र पढन चाहन्छ। धेरै पढिने विषय नै मानिस हो। जे संसारमा गोलभूगोलबाहेक जे कुरा सृष्टि भयो, ती सबै मानिसबाट भएको त हो। मानिसले सबै कुरा सिर्जना गर्नुका कारण यी मानिसका दैनिकीसँग आधारित छन्। मेरो हरेक सिर्जना मानिससँग सम्बन्धित छ। नेपालमा लेखिनुपर्ने मानिसका विषयमा लेखिएका छैनन्। नेपालमा धेरै छन्‌ जान्नुपर्ने मानिसहरु, तर पहुँचमा छैनन्‌। के कारणले यस्तो भइरहेको छ त? यो पनि रहस्यमय विषय हो।

नेपाली पत्रकारितामाथि अहिले अनेक आलोचना सुनिइन्छन्‌, वर्तमान सञ्चार लेखनप्रवृत्तिलाई कसरी नियाल्नुहुन्छ?

पत्रकार सधैं आफ्नो शब्ददेखि टाढा बस्नुपर्छ। लेखकले मात्र आफ्नो शब्द लेख्न पाउँछ। अहिलेको पत्रकारितामा लेखक र पत्रकार नै छुट्याउन गाह्रो भएको छ। पत्रकार लेखक/टिप्पणीकार जस्तो भएर लेखिरहेका छन। यो पत्रकारिता क्षेत्रमा सुहाउँदो कुरा होइन। पत्रकारले आँशु देखाउँदैन, पत्रकारको काम समाचार दिने हो, पुरा जानकारी दिने हो। चेतना बढ्ने र विकृति/विसंगती देखाउने समाचार लेखिनुपर्छ। निम्छरो वा शक्ति नभएका पत्रकारले मात्र आँसुका कुरा गर्छन्। पत्रकारितामा आँसु बाँड्ने होइन, सकिन्छ भने खुसी बाँड्ने हो। लेखकले पनि पात्रको कुरा समावेश गर्नुपर्छ, कल्पना मात्र सर्वेसर्वा होइन। लेखकले यो कुरा बुझ्नुपर्छ। पत्रकारिताले आँसु बाड्ने होइन। खुसी बाँड्न सक्ने पत्रकारिता मात्रै सफल पत्रकारिता हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.