|

हेटौंडा : २०७२ साल बैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोर्खाको बारपाकलाई केन्द्र विन्दु बनाई ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो। १५ किमी गहिराईबाट गएको भूकम्प विस १९९० को महाभूकम्प पछिको सबैभन्दा ठुलो भूकम्प हो।

भुकम्पले क्षति पुर्‍याएका जिल्ला मध्ये मकवानपुर पनि अति प्रभावित जिल्ला हो। २०७२ सालको उक्त भूकम्पमा परी मकवानपुरमा ३३ जनाले ज्यान गुमाएका थिए भने ७ सय ७१ जना घाइते भएका थिए।  साथै भूकम्पका कारण जिल्लामा ४६ वटा सरकारी भवन, ६५ वटा स्वास्थ्य संस्था, १ सय २४ गुम्बालगायत मठ मन्दिरहरुमा क्षति भएको थियो। २०७२ सालको भूकम्पले देशभर करिब नौ हजारले ज्यान गुमाए भने २२ हजार भन्दा बढी घाइते भए। 

भूकम्पका कारण ८ लाख २५ हजार निजी घरसहित शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो । भूकम्पका कारण देशभरका ३२ जिल्ला प्रभावित भएका थिए। भूकम्प ढलेका बस्तीहरु भने विस्तारै उठ्दै गएका छन्। 

१४ हजार घर निर्माण

भूकम्पले पूर्ण क्षति पुगेका हेटौंडाका ३४ हजार ३१९ घरमध्ये  चौध हजार १ सय ३५ परिवारले घर निर्माण गरेका छन्।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरका प्रमुख विमलकिशोर केपीकाअनुसार कुल लाभग्राहीमध्ये २९ हजार ५०५ परिवारले प्रथम किस्ता बापतको रकम पाएका छन्। २३ हजार ४६६ परिवारले दोस्रो किस्ताको रकम पाएका छन्। त्यस्तै, १८ हजार ६०० परिवारले तेस्रो किस्ताको रकम प्राप्त गरेका छन्।

मकवानपुरमा लालपुर्जा नभएका भूकम्प पीडितहरु तीन हजार ६४३  रहेका छन्। जसमध्ये सबैभन्दा बढी एक हजार ८१९ घर बकैया गाउँपालिकामा रहेका छन्। सबैभन्दा कम दुई घर कैलाश गाउँपालिकामा रहेका छन्। 

भूमिमहीन लाभग्राहीहरु हेटौंडा उपमहानगरपालिकामा ४६६, थाहा नगरपालिकामा चार, इन्द्रसरोवरमा तीन, बागमतीमा २६२, भीमफेदीमा ६७, मकवानपुरगढीमा १८८, मनहरीमा ८०७ र राक्सिराङमा गाउँपालिकामा २५ जना रहेका छन्। 

भूमिहीन लाभग्राहीका लागि जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहको सिफारिसमा साबिक कै स्थानमा घर बनाउने पाउने निर्णय गरेको छ। लालपुर्जा भएको जग्गा खरिद गर्न चाहनेले नेपाल सरकारबाट थप दुई लाख पाउने छन्। मकवानपुरमा भूकम्पपछि प्राविधिक पुग्नुअघि नै निर्माण भएका घरहरुको संख्या २३३ रहेको छ। जसमध्ये ५५ जनाले यस्तै भुक्तानी पाइसकेका छन्। 

शैक्षिक क्षेत्रको भौतिक निर्माण अवसर 

मकवानपुरका ५१६ विद्यालयमध्ये ४०९ विद्यालयका दुई हजार ३१० कक्षाकोठालाई भूकम्पले पूर्ण क्षति पुर्‍याएको थियो।

क्षति पुगेका कक्षा कोठाहरुको तीन वर्षदेखि तीनवटा मोडालिटीमा पुनर्निर्माणको कार्य अगाडि बढाइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका कार्यालय प्रमुख बद्री पाठकले जानकारी दिए। विद्यालय व्यवस्थापन समितिसँग सम्झौता गरी हालसम्म २५२ विद्यालयका ७९३ कक्षाकोठा निर्माणको अन्तिम चरणमा पुगेको पाठकले बताए।

यस्तै, जापान सरकारको ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत ठेक्का सम्झौता भई ४१ विद्यालयका ४७२ कक्षाकोठा निर्माण कार्य भैरहेको उनले जानकारी दिए। पाठकका अनुसार यसरी निर्माण भएका विद्यालयमध्ये १८ वटा विद्यालय हस्तान्तरण भइसकेका छन्। त्यस्तै, गरी संघसंस्थाको तर्फबाट ३२ विद्यालयमा पुनर्निर्माण भइरहेका छन्। 

मकवानपुर २०७२ बैशाखमा गएको भूकम्पबाट क्षत पुगेको १८ जिल्लामध्ये अति प्रभावित जिल्ला हो। उक्त भूकम्पमा परी मकवानपुरमा ३३ जनाले ज्यान गुमाएका थिए भने ७७१ जना घाइते भएका थिए। साथै, ४६ वटा सरकारी भवन, ६५ वटा स्वास्थ्य संस्था, १२४ गुम्बालगायत मठ मन्दिरहरुमा क्षति पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.