सकसमा प्रचण्ड, साना दलमा उपसभामुखको खोजी

|

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुखका आकांक्षीहरुको दौडधुप चलिरहेको छ। कृष्णबहादुर महराले गम्भीर आरोप खेप्दै सभामुख पदबाट हात धुनु परेपछि नयाँ आकांक्षीबीच रस्साकस्सी चलिरहेको छ।

नेकपाभित्रको गुटगत राजनीतिर र आन्तरिक किचलोका कारण सभामुखका उमम्देवार तोक्न सकेको छैन। नेकपाभित्र पनि पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा जस्तै किचलो र गुट-उपगुटको राजनीति मौलाउँदै गएको छ। 

नेकपामा सभामुखलाई लिएर नेताहरु दलगत भन्दा गुटगतरुपमा प्रस्तुत भइरहेका छन्। नयाँ सभामुखमा हालकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई नै ल्याउने गहिरो आकांक्षा राष्ट्रपति विद्यादेवी भण्डारीले देखाइरहेको शीतल निवास स्रोत बताउँछ। 

राष्ट्रपति भण्डारीले पछिल्लो समयमा आफ्नो पदीय मर्यादालाई समेत वास्ता नगरी नेकपाभित्र अध्यक्षकै शैलीमा गतिविधि गरिरहेको नेताहरुले सार्वजनिकरुपमै आरोप लगाइरहेका छन्। 

राष्ट्रपति भण्डारीले धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठककै बेला नेताहरुलाई शीतलनिवास बोलाएर सभामुखको बिषयमा छलफल गरेकी थिइन्।गत शनिबार शीतल निवासमा ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेताहरू देव गुरुङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडालगायतका प्रभावशाली नेता पुगेका थिए। यद्यपि  उक्त भेट पहिले नै निर्धारण गरिएको बताइएको छ। भेटमा देशको समसामयिक बिषयमा कुरा भएको सहभागी नेता र मन्त्रीहरुले स्पष्टीकरण दिएका छन् ।

शीतल निवासमा के पाक्दैछ?

राष्ट्रपति भण्डारीले सभामुखमा उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेलाई ल्याउनै पर्ने अडान अघि सारेकी छन्। उपसभामुख तुम्बाहाङ्फेले पनि सभामुख पदमा पहिलो दाबी आफ्नो भएको बताइरहेकी छिन्। तर, उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखबाट राजीनामा दिन यसअघि नै आग्रह गरेका थिए।

कुनै मन्त्रालयको जिम्मेवारी दिएर अन्य दललाई उपसभामुख र नेकपामा सभामुख राख्नेअध्यक्षद्वयको मनासाय पनि शीतल निवासकै कारण तुहिएको छ। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनका बेला उनलाई उपसभामुखबाट राजीनामा दिएर मन्त्रालयमा जान प्रस्ताव गरेका थिए। तर, तुम्बाहाङ्फे आफ्नो अडानबाट टसमस भएकी छैनन्।

गुट–उपगुटको सकस

सभामुखलाई लिएर नेकपाभित्र पछिल्लो समय नेताहरु गुट उपगुटमा बाँडिएका छन्। सभामुखका लागि प्रधानमन्त्री ओलीले पूर्वसभामुखसमेत रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई अघि सारेको दाबी स्रोतले गरेको छ। ओली र प्रचण्ड दुवैले सभामुखका लागि नेम्वाङको सहमति नजिक पुगे पनि राष्ट्रपति भण्डारीले उपसभामुखको अडान कायमै राखेपछि अध्यक्ष प्रचण्डलेसमेत आफूनिकट अग्निप्रसाद सापकोटालाई अघि सारेका छन्। 

पार्टी एकतापछिको भागवण्डामा तत्कालीन माओवादीको भागमा परेको सभामुखमा प्रचण्डले आफ्नो अधिकार खोज्‍नु सामान्य भएको एकातर्फका नेताहरुको तर्क छ। उनीहरु एकतापछि पनि अझै एमाले र माओवादी भन्‍ने तुष नहटेको बेलामा प्रचण्डले सभामुखमा आफ्नो दाबी गर्नु स्वभाविक रहेको बताउँछन्। 

सभामुखका लागि तत्कालीन माओवादीभित्र सापकोटासहित, पम्फा भुसाल, देव गुरुङ, ओनसरी घर्ती मगर लगायत नेताहरु आकांक्षी देखिएका छन्। राष्ट्रपति भण्डारीबाट हिउँदे अधिवेशन डाकिएसँगै नेकपाभित्र सभामुखको चर्चा चुलिएको हो। 

बाहिर आएजस्तो चर्चा छैन

‘हिउँदे अधिवेशन पुस ४ गतेबाट सुरु भयो, ११ गतेबाट सभामुख चयन प्रक्रिया सुरु हुँदैछ,’ संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘बाहिर जस्तो धेरै हल्ला भए पनि पार्टीभित्र सभामुखको बिषयमा छलफल नै भएको छैन।’ 

‘मिडियामा सभामुखको बिषयमा धेरै चर्चा भइरहेका छन्। तर, पार्टीभित्र आधिकारिक रुपमा कुनै निर्णय भएको छैन’ उनले भने, ‘स्थायी कमिटीको बैठकमासमेत सभामुखको बिषयमा कुरा उठेको थियो। तर, टुङ्गोमा पुगेन, केही दिनमा पार्टीको नेतृत्व तहबाट सभामुखको निधो हुन्छ’, उनले अगाडि भने।

पार्टीभित्र सभामुखको बिषयमा ओली र प्रचण्डबीच पटकपटक भेट भएको छ। राष्ट्रपतिले आफ्नो अडान राखेपछि ओली र प्रचण्डलाई सभामुख चयन सकसपूर्ण बन्दै गएको दुवै नेतानिकटहरु बताउँछन्।

सभामुखको बिषयमा पार्टी सचिवालय बैठक र स्थायी कमिटी बैठक भइरहेका बेला दुई नेताहरुबीच भेटवार्ता भएको नेकपाको स्थायी कमिटी सदस्य देव गुरुङ बताउँछन्। 

प्रचण्डलाई पनि समस्या

सभामुखको मुद्दा पार्टीभित्र पेचिलो बन्दै गएपछि अध्यक्ष प्रचण्ड थप संकटमा परेका छन्। पार्टी एकतापछि तत्कालीन माओवादीको भागमा परेको सभामुख पद गुमाउने या अडानमा रहनेबारे प्रचण्डलाई समस्या भएको हो।

राष्ट्रपति भण्डारीको साथ पाएपछि आफ्नो अडान कायम राखेकी उपसभामुख, तत्कालीन माओवादीभित्र धेरै आकांक्षी, प्रधानमन्त्री ओली नेम्वाङको पक्षमा उभिनाले प्रचण्ड थप अफ्यारोमा परेका हुन्। राष्ट्रपतिले महिला भएकै कारण तुम्बाहाङ्फेलाई अगाडि सारेको बताइन्छ। राष्ट्रपतिले उपसभामुख भइसकेकोलाई सभामुख दिन गाह्रो मान्‍नु नहुने बताउँदै आएकी उनलाई भेटेका एक नेता बताउँछन्।

तत्कालीन माओवादी केन्द्रको भागमा परेको सभामुखका लागि अग्निप्रसाद, पम्फा भुसाल, देव गुरुङ, ओनसरी घर्ती लगायत आकांक्षी छन्। आकांक्षी धेरै देखिएकाले अध्यक्ष प्रचण्डलाई समस्यामा पारेको उनीनिकट स्रोत बताउँछ। 

उपसभामुखको चर्चा उस्तै 

नेकपाभित्र सभामुखको चर्चा चुलिएसँग अन्य दल भित्र उपसभामुखबारे चर्चा भइरहेको छ। संवैधानिक व्यवस्थाअनुसार सभामुख र पसभामुख एउटै पार्टीको हुन पाइँदैन। त्यसैले अन्य दलमा उपसभामुखको बिषयमा चर्चा चलिरहेको हो। 

सभामुख सत्तारुढ नेकपाको भएपछि उपसभामुख स्वतः आफ्नो भागमा पार्टीको हुनुपर्ने माग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको छ। सभामुखकै दाबी गरिहरको कांग्रेसले सभामुख पद नेकपाले नछोड्ने देखिएपछि उपसभामुखको पनि दाबी गरिरहेको छ। 

यता, हालै सम्पन्‍न उपनिर्वाचनमा तालमेल गरेको जनमोर्चाकी दुर्गा पौडेलको समेत चर्चा चलिरहेको छ। तर, दल समाजवादी नेपालले सरकारबाट हटेपछि राष्टियसभाको निर्वाचनका लागि तालमेल गरेको राजपाबाटै उपसभामुख ल्याउने रणनीति बनेको नेकपानिकट स्रोतको भनाई छ। 

प्रधानमन्त्री ओलीले अपमान गरेको भन्दै समाजवादी पार्टीका संघीय अध्यक्ष तथा उपप्रधान एवम् कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहमद इस्तियाक राईले राजीनामा दिएका छन्। समाजवादीले सरकार छोडेपछि उपसभामुखमा राजपाको पनि सम्भावना बलियो भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.