'खेलमा ह्याट्रिक गरेजस्तो लागेको थियो, तर विश्व कीर्तिमान बनिसकेछ'

|

बैतडी : १३ औँ दक्षिण एशियाली खेलकुद (साग) गत मंसिरमा नेपालमा सम्पन्न भयो। नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्दै सागको सुखद बिदाई गर्‍यो।

नेपालमा आयोजना गरिएको सागले नेपाली खेलाडीले थुप्रै इतिहास रचे। त्यस्तै इतिहास रच्ने खेलाडी हुन् अञ्जली चन्द। बैतडीकी अञ्जलीले सागमै विश्व कीर्तिमान कायम गरिन्। अञ्जलीले पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको माल्दिभ्सविरुद्धको खेलमा व्यक्तिगत दोस्रो ओभरको पहिलो बल बलिङ गर्दा नयाँ रेकर्ड कायम गरिन्। उनले १३ बल बलिङ गर्दा कुनै पनि रन नदिएर ह्याट्रिकसहित ६ विकेट हात पारिन्। उनको उक्त खेलमा बनेको रेकर्ड विश्वका कुनै पनि क्रिकेट खेलाडीले टी-ट्वान्टीमा बनाउन सकेका छैनन्। अञ्जलीले बनाएको उक्त दुर्लभ कीर्तिमानले स्वदेश तथा विदेशमा समेत उनको चर्चा शिखरमा पुग्यो। 

क्रिकेटको उर्बरभूमि सुदूरपश्चिम प्रदेशको दशरथचन्द नगरपालिका ५ बस्कोट घर भएकी चन्दले चार वर्षपछि महिला क्रिकेटको राष्ट्रिय टोलीमा स्थान बनाएकी थिइन्। खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक-दुई विकेट लिने मात्र उनको लक्ष्य थियो। चन्द साग अन्तर्गत क्रिकेटमा ‘सर्बोत्कृष्ट खेलाडी’ र ‘उत्कृष्ट बलर’ समेत भइन्। ४ वर्षअघि बिहे भएपछि क्रिकेटबाट टाढिएकी उनी फेरि क्रिकेटमै जोडिइन्।

वुमन्स च्याम्पियन्स लिगबाट क्रिकेटमा फर्किएकी अञ्जलीले सागका लागि नेपाली टोलीमा स्थान बनाउन सफल भइन्। उनको सफलतामा परिवारको पनि साथ छ। ‘क्रिकेटमा लागिरहन घर र माइत दुवैबाट राम्रो सहयोग मिलेको छ। परिवारबाट राम्रो सहयोग नभएको भए कसरी आज यति राम्रो खेल्न सक्थेँ र?,’ उनी भन्छिन्।

चन्द आफूले प्राप्त गरेको सफलता अकल्पनीय रहेको बताउँछिन्। उनी भनिन्, ‘मलाई यति ठूलो सफलता मिल्ल लागेकै थिएन। खेलमा ह्याट्रिक गरेँजस्तो लागेको थियो। तर खेलपछि प्रशिक्षकले तिम्रो नाममा विश्व कीर्तिमानी भयो भनेपछि बल्ल थाहा पाएँ। त्यसपछि त मेरो खुसीको सिमानै रहेन।’ १३ वर्षको उमेरमै कक्षा ८ मा पढ्दादेखि नै उनले क्रिकेट खेल्न शुरु गरेकी हुन्। बैतडीमा स्थानीय स्तरका खेल खेल्दै गइन्। क्रिकेट मोह बढ्यो। हाल बैतडीमा निर्माणाधीन शहीद दशरथचन्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबाट उनले क्रिकेट खेल्न सुरु गरेकी थिइन्।  

उनलाई खेलकुदमा बाल्यकालदेखि नै रुचि थियो। ‘गाउँमा दाइहरूले क्रिकेट खेलेको देखेकी थिएँ। एक दिन दाइले केटीको खेल छ। तिमी जान्छौँ भन्नुभयो। म गएँ’, उनले विगत सम्झँदै भनिन्। सागमा समेत टोलीले स्वर्ण पदकको सपना देखेको थियो। घरेलु मैदानमा राम्रो क्रिकेट खेलेर स्वर्ण नै जित्ने लक्ष्य रहे पनि त्यो पूरा नभएकामा उनी दुःखी छिन्।

सागमा नेपाल कास्य पदकमा सीमित भए पनि सन् २०२० मा हुने विश्वकप छनोटमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै देशलाई खुशी दिने उनको सपना छ। टेष्ट मान्यता प्राप्त राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दा लक्ष्य पूरा नभएको बताउँदै उनले थपिन्, ‘टोलीमा गोल्ड ल्याउने नै सबैको सपना थियो। टेष्ट राष्ट्रसँग खेल्दा कठिन भयो।’

कीर्तिमानले थपेको जिम्मेवारी 

कीर्तिमान बनाएपछि उनी आफू आफ्नो प्रदर्शनबाट खुसी रहेको बताउँछिन्। उनले पहिलो खेलमा २ विकेटसम्म लिने सोँच रोखेकी थिइन्। सागमार्फत केबल आफ्नो सपना मात्र पूरा गरिनन्, नेपाली महिला क्रिकेटलाई पनि संसारभर चिनाउने काम गरिन्।

आगामी दिनमा नेपाली क्रिकेटलाई अझ माथि पुर्‍याउन आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने उनको अठोट छ। उनले २०२० मा हुने विश्वकप छनोटमा पनि नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्रिकेट समर्थकलाई खुसी दिने बाचा गरिन्।

महिला क्रिकेटलाई सरकारले वास्ता गरेन

सरकारले महिला क्रिकेटलाई राज्यले प्राथमिकता नदिएकोमा उनको दुखेसो छ। उनले नेपाली महिला क्रिकेटमा धेरै समस्या देखेकी छन्। उनी सरकारले महिला क्रिकेटरका लागि पनि पुरुषको जतिनै सेवा सुविधा दिनु पर्ने र महिला क्रिकेटका घरेलु लिगलाई बढावा दिनु पर्ने बताउँछिन्।

नेपाली महिला क्रिकेट अझै पनि सरकारको आँखामा पर्न नसकेको अञ्जली बताउँछिन्। क्रिकेट अझै जीविकोपार्जनको माध्यम बन्न नसकेको नसकेकोप्रति सरकार गम्भिर हुनुपर्ने उनको बुझाई छ।

‘महिलाले पनि गर्नसक्छ भनेर महिला क्रिकेटमा सरकारले लगानी गर्नुपर्छ’, गुनासो गर्दै उनले भनिन्, ‘महिला क्रिकेटमा सरकारले जति सहयोग गर्छ। त्यति नै राम्रो हुन्छ।’ खेलमैदान, खेल सामग्रीको अभावका बीच खेल खेलेर रेकर्ड कायम गरेकी उनले अब सरकारले ग्रासरुटबाटै खेलमा लगानी गर्नुपर्ने बताउँछिन्। उनले गाउँ ठाउँसँगै नेपाललाई विश्वमा चिनाएकोमा सबै खुसी छन्।

‘शहीद दशरथचन्दको भूमिलाई एकपटक फेरि विश्वमा चिनाउँदै यस क्षेत्रको गौरव अञ्जलीले बढाइन्’ नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रदेश सचिव तेजप्रकाश भट्टले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.