|

सल्यान : ढल्किँदो उमेर, नरम व्यवहार, हाँसिलो चेहरा, बढ्दो जोस जाँगर। सबै छक्क पर्छन्, उनको कर्मप्रतिको मिहिनेत र जाँगर देखेर। समाजमा केही यस्ता व्यक्ति पनि छन् जो सरकारी जागिरसँगै अन्य काममा पनि आफ्नो ऊर्जा खर्चिरहेका छन्।

यसको एक उदाहरण हुन् बागचौर नगरपालिका ८ का भरतनाथ योगी। पेशाले उनी स्वास्थ्यकर्मी हुन्। स्वास्थ्य चौकी कोटमौलामा  अहेव पदमा लामो समय सेवा गरेका योगी अहिले चाँदे पुगेका छन्।

उनी बिहान ६ बजेदेखि ९ बजेसम्म तीन घण्टा र साँझ ५ बजेदेखि ७ बजेसम्म उनी सुन्तलाबारीमै रमाउँछन् ५४ वर्षीय योगी। २०३८ सालदेखि सुन्तला खेती गर्दै आइरहेका योगीले ४८ रोपनीमा व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन्। सुरुमा घरमा खानका लागि मात्र दुई/तीन बोट लगाएका योगीले ९ सय सुन्तलाका बोट लगाएका छन्।

सुन्‍ताले खेतीमा रमाए किसान

विगतमा खाद्यन्नबालीमा सीमित डाँगीगाउँ अहिले नगदेबालीमा धेरी अघि पुगेको छ। कोटमौला अहिले सुन्तला पाकेर पहेँलपुर भएको छ। उनीको सिको गरेर अहिले कोटमौलाका अधिकांश किसानले सुन्तला खेती गर्दै आइरहेका छन्।

व्यावसायिक सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका सफल कृषक योगीले १५ जनालाई रोजगारीसमेत दिएका छन्। सुन्तला टिप्नेदेखि गोडमेल गर्नेसम्म झन्डै तीन महिना उनले १५ जनालाई रोजगारी समेत दिदै आइरहेका छन्।

एकै सिजनमा ३० लाखको आम्दानी

व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका योगीले वार्षिक ३० लाख आम्दानी गर्दै आइरहेका छन्। यो वर्ष मात्रै ६ सयदेखि ७ सय क्विन्टलसम्म सुन्तला उत्पादन हुने अनुमान रहेको उनको भनाइ छ।

उत्पादित सुन्तला विक्री वितरणमा केही समस्या नभएको उनको भनाई छ। सुन्तला टिप्ने सिजन भएकाले हिजोआज एकछिन फुर्सद नहुने उनले बताए। घरबाटै ६० देखि ६५ रुपैयाँ किलोसम्म सुन्तला बिक्री भई रहेको उनको भनाई छ। खरिदकर्ताहरू बगैँचासम्म आउने भएकाले सुन्तला बिक्री गर्न बाहिर जान नपरेको उनको भनाइ छ।

सुन्तला खेतीले जागिर छोडेपछि बाचुन्जेलका लागि रोजगारी मिलेको उनले बताए। व्यावसायिक सुन्तला खेतीमा लागेपछि छोराछोरीलाई रोजगारीका लागि विदेसिन नपरेकोमा खुसी लागेको बताए।

उनले आफूले मात्र नभएर साबिकको कोटमौला गाविसका धेरैले सुन्तला खेती गर्दै आएको र कोटमौला सुन्तला उत्पादनको लागि प्रख्यात भएको बताए। सल्यानमा उत्पादित सुन्तला दाङ, नेपालगञ्ज, बुटवल कैलालीसम्म जाने गर्दछ। कोटमौलाबाट मात्र यो वर्ष १४ करोडको सुन्तला उत्पादन हुने अनुमान गरिएको  कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

विभिन्न पुरस्कारबाट सम्मानित

सुन्तला व्यवसायमा राम्रो गरेपछि उनी विभिन्न किसिमका पुरस्कार समेत पुरस्कृत भई सकेका छन्।

जिल्लामा आयोजना गरिने कृषि प्रर्दशनी मेलामा प्रथम, द्वितीय पुरस्कारबाट पुरस्कृत भएका छन्। जिल्ला र क्षेत्रस्तरबाट राष्ट्रपति कृषक पुरस्कारमा छनोट भई राष्ट्रियस्तरका २५ जना कृषकमा सफल भइसकेका छन्। पुरस्कारले अझै जिम्मेवारी थपेको र स्वयं सुन्तला खेतीमा लाग्न प्रेरणा मिलेको अनुभव सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.