अडानबाट पछि हटिनन् उपसभामुख, बैठक पनि सर्‍यो

|

काठमाडौँः प्रतिनिधिसभाको सभामुखमा पूर्वसभामुख तथा संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङको सम्भावना बढेको छ। तर यो पदमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट अग्निप्रसाद सापकोटा र उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले दाबी छाडेका छैनन्। 

तर दुई अध्यक्षले नेम्वाङलाई सभामुखका लागि रोजेको दाबी स्रोतले गरेको छ। सभामुख नेकपाले लिएर उपसभामुख जनमोर्चा वा राजपालाई दिनेबारे दुई अध्यक्षबीच सहमति भइसकेको स्रोतले बताएको छ। 

उपसभामुखको अड्को

सुरुबाटै सभामुख पदमा आफूले अवसर पाउनुपर्ने र पहिलो दाबेदार आफैँ भएको अडान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले गर्दै आएकी छन्। उनको यही अडानका कारण दुई अध्यक्ष अफ्ठ्यारोमा परेका छन्। तुम्बाहाङ्फेले आफ्नो अयोग्यता प्रमाणित गर्न चुनौती दिँदै बरु महाअभियोग लगाएर हटाउन नेताहरुलाई बताएकी छन्। 

सभामुखका लागि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा धेरैजना दाबेदार छन्। यता उपसभामुख तुम्बाहाङ्फेले आफ्नो अडान नछाडेपछि शुक्रबार बस्‍ने भनिएको प्रतिनिधि सभाको बैठक पुस १६ गतेसम्मका लागि सरेको छ।

तनावकाबीच प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सुवास नेम्वाङलाई सभामुख बनाउन सहमत भएका दाबी स्रोतले गरेको छ। तर  राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ पाएकी तुम्बाहाङ्फे टस न मस भएपछि नेकपामा सभामुखको मुद्दा पेचिलो भएको हो। उपसभामुखले शुक्रबार राजीनामा दिएमा आजैबाट सभामुख चयन प्रक्रिया अघि बढ्ने बताइएको थियो। तर कम्तीमा एक सातालाई त्यो विकल्प सरेको छ।

प्रधानमन्त्री ओलीले नेम्बाङलाई नै सभामुख बनाउन चाहेका छन्। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको भागमा परेको हुनाले आफुनिकट सापकोटालाई बनाउन चाहेका थिए। तर, सापकोटालाई सभामुख दिने बिषयमा तत्कालिन माओवादी केन्द्रका नेताहरुबाटै प्रचण्डले सहमति जुटाउन नसक्ने अवस्था आएपछि नेम्वाङकै पक्षमा उभिएका हुन्।

उपसभामुख तुम्बाहाङफेलाई नै सभामुख बनाउनुपर्ने अडान राष्ट्रपति विद्यादेवी भण्डारीले राखेकी छन्। नेकपा स्रोतका अनुसार सभामुखमा नेम्वाङ लगेर उपसभामुख तुम्बाहाङफेलाई कुनै एक मन्त्रालयको जिम्मेवारी दिने तयारी दुई अध्यक्षले गरेका छन्। यो विकल्पमा पनि उपसभामुख 'कन्भिन्स' भएकी छैनन्।

समाजवादी पार्टीले सरकार छाडेपछि दुई मन्त्रालय अहिले रिक्त छन्। ती मन्त्रालयमध्ये एकको जिम्मेवारी तुम्बाहाङ्फेलाई दिने तयारी नेताहरुले गरेका थिए।

सभामुखको दौडमा सापकोटासहित पम्फा भुषाल, देव गुरुङ लगायतका नेताहरु लागेका थिए । तर, अध्यक्ष प्रचण्डले सापकोटालाई साथ दिने संकेत गरेपछि तत्कालीन माओवादी केन्द्रमा विवादे देखिएको थियो। नेम्वाङलाई सभामुख बनाउने बिषयमा नेकपाभित्रका नेताहरु एकमत भएको स्रोतको दाबी छ । 

पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन सुरु भएको छ। उपसभामुखमा कुरो अड्किएपछि प्रतिनिधि सभाको बैठक पुस १६ सम्म सरेको हो।तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा थुनामा गएपछि सभामुख पद रिक्त रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.