|

भक्तपुर : भक्तपुर नगरपालिकाले ३२९ वर्ष पुरानो दुइटा नगरा पुनर्स्थापना गरेको छ। विगत लामो समयदेखि भक्तपुर दरवारस्क्वायरस्थित तलेजु मन्दिर परिसरमा रहेको सो नगरालाई मर्मत गरी ताहा सत्तल (तबा सत्तल)मा बिहीवार पुनर्स्थापना गरेको हो।

मल्लकालीन राजा जितामित्रले तलेजु भवानीलाई चढाएको सो नगरालाई दरवारस्क्वायरको दक्षिण भागमा अवस्थित ताहा सत्तलको पहिलो तल्लाको पश्चिम भागमा राखिएको इतिहास रहेको छ।

सोही इतिहासलाई जीवन्त राख्न र स्वदेशी तथा विदेशी पर्यटकलाई नगराको ऐतिहासिक र सांस्कृति पक्षको बारेमा जानकारी दिने उद्देश्यले सिद्धिलक्ष्मी मन्दिर अगाडिको ताहा सत्तलमा नगरा पुनर्स्थापना गरेको नगरपालिकाले जनाएको छ।

सो अवसरमा  नगरप्रमुख सुनिल प्रजापतिले ऐतिहासिक नगराको बारेमा नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले पनि नगरालाई पुरानै स्थानमा पुनर्स्थापना गरेको बताए। उनले सो नगरा बजाउने व्यवस्था गरी यसको ऐतिहासिक पक्षलाई जीवन्तता प्रदान गर्ने नगरपालिकाको सोच रहेको जानकारी दिए।

इतिहासविद एवं संस्कृतिकविद् प्राडा. पुरुषोत्तमलोचन श्रेष्ठले धार्मिक र सांस्कृतिक जीवनको झलक दिने ऐतिहासिक नगराको महत्वबारे स्पष्ट पार्दै भक्तपुरको मूर्तअमूर्त सम्पदा संरक्षणमा नगरपालिकाले खेलेको अग्रणी भूमिकाको चर्चा र प्रशंसा गरे।

उपप्रमुख रजनी जोशीले पुर्खाले छोडेको सम्पत्ति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुको औचित्य स्पष्ट पार्दै ऐतिहासिक नगराहरूको उचित उपयोगको आवश्यकता औँल्याए।

दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख सरस्वती सिंहले लामो समयदेखि तलेजु परिसरमा रहेका नगराहरू विगतमा ताहा सत्तलमा राखिएको इतिहास भएको उल्लेख गर्दै आन्तरिक र बाह्य पर्यटकको लागि नगराको विषयमा जानकारी दिनु आवश्यक भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.