साढे सात सयमा खानासहित तीन घण्टा जलयात्रा
साढे सात सयमा खानासहित तीन घण्टा जलयात्रा
काठमाडौं : केही महिनापछि नेपालमै करिब ३० किलोमिटर जलयात्रा गर्न पाइने छ। यसका लागि पूर्वतयारीको काम र परीक्षणको काम सकिएको छ। अब व्यावसायिक सञ्चालनको प्रतीक्षा मात्रै गरिएको छ।
प्रतिघण्टा ३५ किलोमिटर स्पिडको क्रुजसिप नेपालको नारायणी नदीमा सञ्चालन हुन थालेको हो। जसको गत आइतबार सफल परिक्षणसमेत भएपछि नेपालीले पानीजहाजको रूपमा 'क्रुजसिप' मा यात्रा गर्ने आकांक्षा पूरा गर्न सक्नेछन्।
परीक्षण उडानको क्रममा
नेपाली युवाहरूको पछिल्लो दुई वर्षदेखिको मिहिनेतले सपनाको रूपमा लिइएको 'जलयातायात' को पनि सम्भावना पूरा भएको हो। जसलाई यातायातको साधनको रूपमा हैन साहसिक पर्यटन व्यवसायको रूपमा अघि बढाइएको छ।
क्रुजसिप सञ्चालनको सोच
क्रुजसिप सञ्चालनमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले निरन्तर बाँडेका सपनाहरू पनि रहेको यसका सञ्चालकहरूको बुझाइ छ। 'कुनै पनि नयाँ काम भएपछि कसरी गरियो भन्ने प्रसंग रहन्छ, २०७२ सालमा हुनुपर्छ, तत्कालीन समयमा पनि प्रधानमन्त्री केपी शर्माओलीले नेपालमा रेल र पानीजहाजको सपना निरन्तर बाँड्नुभएको थियो, हामीलाई पनि कसरी भन्ने कुरा लागिरहेको थियो, युवाको मनमा यस्ता कुरा उठ्नु स्वाभाविक पनि हो।'
नेपाल क्रुजसिप सञ्चालन गर्नका लागि खडा गरिएको राइनो वाटर इन्टरनेसनलका निर्देशक दीपक ढुंगेल भन्छन् 'त्यही बेला म थाइल्याण्ड जाँदा क्रुजसिप चढेको अनुभव पनि पाएको थियो, त्यसपछि नेपालमा किन सकिँदैन भनेर काम गर्ने वातावरण खोजिरहेको थिए।'
लगानी ठूलो चाहिन्थ्यो एकैजनाले यो काम गर्ने स्थिति पनि देखिएको थिएन। यस्तै, मन मिल्ने व्यवसायीको खोजी भइरहेको थियो। राइनो वाटर इन्टरनेसनलका प्रबन्ध निर्देशकका रूपमा अहिले काम गरेका चितवनका रामचन्द्र कँडेललाई पनि नेपालमा क्रुजसिप सञ्चालन गर्ने रहरले छोइसकेको थियो। उनले पनि युरो भ्रमणको क्रममा ६ तले क्रुजसीप चलेपछि नेपालीको नारायणीमा संचालन गर्न सकिन्छ कि? भन्ने सोच आएको रहेछ।
ढुंगेलका अनुसार सुरुवातमा यस्तो सोच मिल्ने पाँच युवाहरूको भेट भयो काम गर्दै जाँदा अहिले १५ जना बढीको टिम पुगिसकेको छ।
करिब दुई वर्षको पूर्वतयारी
क्रुजसिप सञ्चालनको लागि पूर्वतयारी गर्नको लागि करिब दुई वर्ष लागेकाे सञ्चालक बताउँछन्। 'दुई वर्ष अघि सोच बनाएका हौँ। नदीको परीक्षण, सम्भाव्यता अध्ययन लगायतका काम हामीले गर्यौँ, यसको लागि भारतको केरलाबाट टिम लिएर अध्ययन गरिएको थियो' ढुंगेलले भने, 'पानी डेप्थ कम्तीमा दुईदेखि तीन मिटर चाहिँदो रहेछ, देवघाटदेखि गोलालघाटसम्मको अध्ययनमा यो देखियो र चालकदलसहित २२० जना क्षमताको क्रुजसिप सञ्चालन गर्न सकिन्छ भन्ने भयो'
यो समयमा अध्ययनको लागि धेरै देश घुमेको ढंगेल बताउँछन्। 'यो बीचमा विभिन्न देशमा हामी गयौँ, मलेसिया, भारत, चाइना धेरै ठाउँमा गयौँ र डाटा संकलन गरेर निर्माण कम्पनीको खोजी गरेका थियौँ' ढुंगेलले भने 'नर्वेजियन प्रविधि र केरलाको टिमबीच सम्झौता गरेर चैत महिनादेखि निर्माण कार्यको थालनी गरिएको थियो।'
नेपालकै पहिलो 'रिभर क्रुजसिप' बन्दै (फोटो फिचर)
जुट्यो लगानी
क्रुजसिप सञ्चलानका लागि दर्ता गरिएको राइनो वाटर इन्टरनेशनलले क्रुजसिप सञ्चालनका लागि १५ करोड र अन्य कामका लागि थप १० देखि १५ करोडको करिब-करिब ३० करोड लगानी गर्ने तयारी गरेको छ। तर, पहिलो चरको ध्यान क्रुजसिपमा मात्रै रहेको छ। त्यसकव लागि १५ करोड आवश्यक छ।
कसरी जुट्यो त यति ठूलो लगानी? निर्देशक ढुंगल भन्छन् भिन्न-भिन्न पेशा-व्यवसायमा रहेका म जस्ता युवाहरूले क्षमताअनुसारको रकम उठाएर काम गरेका छौँ, अहिलेसम्म हामीले बैंकबाट पैसा पनि लिएका छैनौँ यो विशुद्ध हामीहरूले आफूसँग भएको पैसा लगानी गरेको हो।'
नेपालमा बिल्कुलै नयाँ क्षेत्रको रूपमा रहेको यो क्षेत्रमा ठूलो लगानी गर्नु जोखिमको विषय थियो। 'नेपालका लागि नयाँ क्षेत्र हो, नयाँ क्षेत्रमा युथको जोस र रिक्स दुवै उठाएका हौँ, तर सफल हुने हाम्रो अध्ययनले देखाएकै कारण अघि बढिएको छ।' ढुंगेलले अब गर्ने लगानीमा भने क्रुजसिप नै धितो राखेर बैंकबाट ऋण निकाल्ने सोच बनाएको बताए। 'हामीले अहिलेसम्म कहीँबाट ऋण खोजेनौँ हाम्रै पैसा लगानी गरेका छौँ, हामीलाई थप १०/१५ करोडको लगानी आवश्यक छ, अब भने क्रुजसिप धितोो रूपमा राखेर पैसा पाइएला नि?'
काम गर्दाको चुनौती
सरकारले कुनै पनि क्षेत्रमा लगानी ल्याउनका लागि प्रशस्त सम्भावना रहेको र त्यसमा प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए पनि प्रकिया पुर्याउनु भनेको चुनौतीपूर्ण काम भएको व्यावसायीहरू बताउँछन्। क्रुजसिप सञ्चालनको अनुमति तथा निर्माणको लागि पनि कम चुनौती भएन।
'सरकारले प्रोत्साहन दिए पनि यहाँको प्रकिया भनेको झण्जटिलो नै रहेछ, तर जति झण्जटिलो प्रकिया भएपनि हामीलाई कसै गरी संचालन गर्नै पर्ने थियो' ढुंगेलले भने, 'केही समस्या हामीले नुबझेको त हैन प्रधानमन्त्रीले निरन्तर पानीजहाज चलाउने भनेको अवस्थामा यसलाई सहजीकरण गर्नको लागि आवश्यक नीति नियम बन्छ भनेरनै हामी अघि बढेका हौँ।'
काम गर्दै जादा पनि अनेक समस्या नआएका कहाँ हुन् र? तर, काम भने कुनै पनि कारणले रोकिएन बरु क्रुजसिपको मोडेल परिवर्तन गर्ने सोचले केही समय ढिला भयो।
'हामीलाई जित सक्यो छिटो काम सक्नु छ, चैतबाट काम सुरु गरेका हामी खोला किनारामा जेठ असरामा पनि काम गरियो जतिबेला बाढीको कारण निकै समस्या पनि पर्यो, हामीले काम भने छोडेनौँ' ढुंगेलले भने। उनका अनुसार अहिलेसम्म ९० प्रतिशत काम सकिएको छ भने १० प्रतिशत काम बाँकी रहेको छ।
क्रुजसिपका के-के छन् विशेषता
प्रतिघण्टा ३५ किलोमिटर स्पिडको क्रुजसिप एक सय फिट लम्बाइ र २४ फिट चौडाइ रहेको छ। तीन तले क्रुजसिपमा पहिलो तलामा मेसिनरी सामानहरू रहनेछन्। दोस्रो तलामा ९० जना र तेस्रो तलामा ११० जना यात्रु अट्नेछन्। चालकदलसहितका अन्य प्राविधिक २० जना रहनेछन्।
हरेक तलामा शौचालय रहेको हुन्छ भने खाजा खानाको व्यवस्था पनि गरिएको हुनेछ। अन्य सुरक्षा सामग्री पनि राखिएको हुनेछ।
यात्राको लागि कति मूल्य
कम्पनीले क्रुजसिपमा यात्रा गर्नको लागि मूल्य निर्धारणको काम पनि करिब टुङ्ग्याएको छ। क्रुजसिप दिनमा करिब नौ घण्टा तीन सिफ्टमा सञ्चालन गरिनेछ। बिहान सञ्चालन गर्दा ब्रेकफास्टको व्यवस्था गरिएको छ।
त्यसपछिको सिफ्टमा लन्च र त्यसपछिको सिफ्टमा डिनरको व्यवस्था गरिएको छ। योसँगै सात सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको ढुंगेलले बताए। 'नेपालीको हकमा साढे सात सय रुपैयाँ लिइनेछ, विदेशीको हकमा १००/२०० रुपैयाँ बढी लिन पनि सकिनेछ, तीन घण्टाको यात्रामा यो महँगो हुनेछैन' ढुंगेलले भने।
चितवनको विशेषता राइनो
क्रजसिप सञ्चालन गर्ने कम्पनीको नाम के राख्ने भन्ने विषयमा पनि गम्भीर छलफल भएको थियो। नेपाली पहिचान खोज्ने क्रममा राइनो राखिएको ढुंगेल बताउँछन्। 'राइनो नेपालको विशेषता पनि हो, के नाम राख्ने भन्ने सोचेको बेला चितवनमा पाइने राइनोको नाम पनि आयो सँगै वाटर पनि जोडियो' उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।