|

काठमाडौं : नेपाली कांग्रेसभित्र तेस्रो खेमाको नेतृत्व गर्दै आएका पूर्व-महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले अहिलेसम्मकै ठूलो गल्ती गरेको आरोप लगाएका छन्। शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले बहुमतका आधारमा गरेका महत्वपूर्ण निर्णयबारे उनले पार्टीको इतिहासमै देउवाले ठूलो गल्ती गरेको टिप्पणी गरेका हुन्।

'महाधिवेशनको कार्यतालिकाबारे सबैसँग छलफल गरेर सहमतिमै निर्णय गर्नुपर्ने हो', उनले भने, 'सभापतिजीले नेपाली कांग्रेसको इतिहासमै नभएको घटना घटाइदिनुभयो, किसुनजी, गिरिजाप्रसाद र सुशील कोइरालाको पालादेखि गरिँदै आएको प्रक्रिया तोड्नुभयो।'

बहुमतले महाधिवेशनको मिति तोकेको यो पहिलो पटक हो। सिटौलाले अघि भने, 'यसअघि महाधिवेशनमा जाँदा त सबैले मिलेर मिति तोक्‍ने र क्रियाशील सदस्यहरूको छानविन समिति बनाएर जाने प्रचलन थियो।'

चार वर्षको कार्यकाल सकिनै लाग्‍दा सभापति देउवाले विभागहरू थपेर पार्टीको विधान तोडेको सिटौलाको आरोप छ। ' सभापतिले तरुण दलको कार्यकाल थपेर पोखरामा भएको गल्ती फेरि एकलौटी ढंगबाट दोहोर्‍याउनुभयो' सिटौलाले भने, 'यी सबै गल्तीभन्दा पनि ठूलो गल्ती बहुमतको आधारमा पार्टी हाँक्ने कोशिस गर्नु हो।'

यो निर्णयले सभापतिका गुटका केही मान्छेको अहंकारलाई केही फाइदा पुर्‍याए पनि समग्र पार्टीको एकता र सक्रियतालाई असर गर्ने सिटौलाको बुझाइ छ। पार्टीभित्रको यस्तो क्रियाकलापले कांग्रेसका तमाम कार्यकर्तामाझ निराशा थप्ने र कांग्रेसका विरोधीहरूलाई बल पुर्‍याउने उनको जिकिर छ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप गर्ने, पार्टीको १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने,  भ्रातृ संस्था नेपाल तरूण दलको म्याद ६ महिना थप गर्ने, २८ विभागलाई बढाएर ४१ पुर्‍याउने लगायतका निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.