|

पाल्पा : पाल्पामा आइतबारदेखि सप्ताहव्यापी ट्राफिक जनचेतनामूलक अभियान सञ्चालन सुरु भएको छ। अभियान आगामी १९ गतेसम्म चल्ने छ। जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा यो अभियान थालिएको हो। 

तानसेनको बसपार्कमा आयोजित एक कार्यक्रमकाबीच पूर्व उद्योगमन्त्री तथा संघीय सांसद सोमप्रसाद पाण्डेले ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक स्टिकर सार्वजनिक यातायातमा टाँसेर अभियानको शुभारम्भ गरेका हुन्। सांसद पाण्डेले सवारी दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष सचेत हुनुपर्ने बताए। ‘ट्राफिक प्रहरी, गाडी चालक र स्वयं यात्रु समेत सचेत हुनुपर्छ’ उनले भने, ‘व्यवसायीले पैसाको लोभमा चालक र सह–चालकलाई यात्रु धेरै बोक्न बाध्य पार्नु हुँदैन।’ 

सडक विभागको लापरवाहीले समेत दुर्घटना बढ्ने गरेको उनको भनाई छ। समयमा सडक मर्मत नहुँदा दुर्घटना न्यूनीकरणमा समस्या परेको सांसद पाण्डे बताए। 
मादक पदार्थ सेवन गरेर चालकले सवारी चलाउदा दुर्घटना बढी भएको तानसेन नगरपालिकाका प्रमुुख अशोककुमार शाहीले बताए।

मादक पदार्थ सेवन गरेको चालक तथा सह–चालक फेला पारेमा तत्काल सम्बन्धित निकायमा खबर गर्न यात्रुलाई उनले आग्रह गरे। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आइतबारदेखि सुरु भएको यो कार्यक्रम स्थानीय तहको समन्वयमा ग्रामीण भेगमा सञ्चालन गर्नुपर्ने बताए। ‘संघीय र प्रदेश सरकारको सहयोगमा सप्ताहव्यापी ट्राफिक जनचेतनामूलक कार्यक्रम थालिएको हो’, उनले भने, 'जिल्लामा रहेका दशवटै स्थानीय तहको समन्वयमा गाउँगाउँमा पुर्‍याउनु पर्छ।'

पछिल्लो समयमा सवारी दुर्घटनाबाट मानिस मर्नेको संख्या वृद्धि हुँदै गएको नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सभापति राजेशकुमार अर्यालले बताए। 'पहिले चेतनाको कमीले हैजा, झाडापखाला जस्ता विमारले मानिसको मृत्यु हुने गर्दथ्यो', उनले भने, 'अहिले सवारी साधन दुर्घटनाको कारण धेरैले ज्यान गुमाउन बाध्य छन्। सार्वजनिक यातायात सुविधायुक्त हुनुपर्छ। चालक र सह–चालक इमान्दार हुनुपर्छ।' 

श्रीनगर यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष डिलबहादुर ढुंगानाले युद्ध जितेजस्तै ट्राफिकले चालकलाई तत्काल कारवाही नगर्न आग्रह गरे। एकपटक मौका दिएर उनीहरूलाई सुधार्ने दायित्व सबैको भएको उनले बताए। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले ट्राफिक नियम पालना गर्न सुझाव दिए।

‘सडकको अवस्था नाजुक छ। त्यसैमाथि चालकले लापरवाही गरेको पाइन्छ’, उनले भने', नियम उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ।' यो अभियानअन्तर्गत सवारी चालक, सह-चालक, यात्रु, व्यवसायीलाई समेत ट्राफिक नियमसम्बन्धी सहजीकरण गर्ने प्रहरी उपरीक्षक जिसीले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पुथ्वीनारायण काफ्लेले सवारी दुर्घटनामा परेर जिल्लामा वर्षेनी ४० देखि ५० जनाले ज्यान गुमाउनु परेको बताए। उनका अनुसार पछिल्लो समयमा जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुन थालेको छ। चालु आर्थिक वर्षमा साना ठूला सवारी गरी मानिस घाइते हुने किसिमका १०७ वटा दुर्घटना भएका छन्। यो ५ महिनाको तथ्यांक हो।

१४ जना मानिसले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले बताए। उनका अनुसार गएको पाँच महिनामा २१ जना यात्रु गम्भीर घाइते भएका छन् भने १७४ जना सामान्य घाइते भएका छन्। यस्तो विकराल अवस्थालाई न्यूनीकरण गर्न सडकमा चालकसँग एक मिनेट लगायतका कार्यक्रम गर्दै आएको उनले बताए।

सडकमा चालकलाई भेला गराई प्रशिक्षण दिने, विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक र अभिभावकलाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएको प्रमुख काफ्लेले बताए। उनले नियम उल्लंघन गर्ने चालकलाई समेत कारबाही गरिएको बताए।

पाँच महिनामा ८ हजार ५५० वटा सवारी कारबाही परेका छन्। जसबाट ५२ लाख ६१ हजार ५ सय राजश्व संकलन गरिएको उनले बताए। सवारीको चाप बढ्नु, सडक खाल्डा-खुल्डी हुनु, भत्किएका सडकको समयमा मर्मत नहुनुले दुर्घटना बढेको उनको ठम्याई छ।

अभियानअन्तर्गत रुपन्देहीको सीमाना चिडिया खोलादेखि स्याङ्जाको सीमाना राम्दीसम्मको सिद्धार्थ राजमार्ग र तानसेनदेखि गुल्मीको सीमाना रिडीसम्मलगायत ग्रामीण भेगमा समेत कार्यक्रम सञ्चालन हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.