पसल सञ्चालनबारे जानकारी छैन : वडाध्यक्ष खड्गी

|

काठमाडौं : खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिर परिसरको टहरामा फेरि पसल सञ्चालन गरिएको छ। व्यापारीहरूले ऐतिहासिक मन्दिरभित्र पसल सञ्चालन गरेको चौतर्फी विरोध भएपछि काठमाडौं महानगरपालिकाले गत कात्तिक २९ गते पसल टहरामा ताला लगाएको थियो। 

उक्त ताला  गुठी संस्थान प्रधान कार्यालय,गुठी संस्थान शाखा कार्यालय, काठमाडौंको समन्वयमा महानगरले ताला लगाएको थियो। टहराभित्र पसलका समानहरू भने भित्रै राखिएको थियो। आइतबार थाहा खबरका प्रतिनिधि उक्त पसलमा पुग्दा टहराभित्र एक महिलाले ताला लगाएको गेट खोली व्यापार गरिरहेकी थिइन्। 

सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले काठमाडौं जिल्ला अदालतले मन्दिरभित्र पसल सञ्चालन गर्न नपाउने मुद्‍दा फैसला गरे पनि गुठी संस्थानले हटाउनमा आनाकानी गरेको बताए। उनले भने,‘जिल्ला अदालतले पसल गर्न नपाउने भने पनि गुठी संस्थानले आनाकानी गरेकाले अहिलेसम्म पसल हट्न सकेको छैन। मन्दिरभित्र व्यापार गर्न पाइँदैन। जसरी भए पनि मन्दिर क्षेत्र खुला हुनुपर्छ।’

उनका अनुसार दुईमाजुको हनुमानढोको तलेजु भवानीसँग साइनो छ। दुईमाजु भनेको अदृश्य शक्ति हो। अदृश्य शक्तिलाई धोक्रोजस्तो स्वरूपमा छोपिराखिएका हुन्छ। त्यहाँ पूजा गर्न पनि हनुमानढोकास्थित तलेजुकै पूजारी जान्छन्। दैनिक पूजा भए पनि दुईमाजुमा चैत मसान्तको दिन विशेष पूजा हुन्छ।

मन्दिरभित्र कसरी चले पसल?

गुठी संस्थान शाखा कार्यालय काठमाडौंले २०७५ मंसिर ९ गते भीमसेन गाउँपालिका २, गोरखा हाल काठमाडौंको तीनकुनेमा बस्दै आएका अमृता भट्टराईलाई मासिक १५ हजार रुपैयाँको दरले पाँच वर्षमा लागि भाडामा दिएको थियो।

सम्झौता पत्रअनुसार दुईमाजु गुठी अन्तर्गतको मन्दिर परिसरमा आवश्यक पूजा सामग्री व्यवस्थापन,सरसफाइ, पूजाआजा तथा रेखदेखका लागि अस्थायी टहरा निर्माणको लागि सहमति प्रदान गरिएको हो। तर, यस सहमतिमा भने कुनै सामान्य व्यापार व्यावसायी सञ्चालन गर्ने भनेर उल्लेख थिएन। तर, अहिले १७ जना व्यवसायीले स्वीकृति लिएर उक्त मन्दिर परिसरमा पसल सञ्चालन गर्दे आएका थिए।

जनप्रतिनिधिले नै पसल सञ्चालन गर्न सहमति प्रदान गरेको तथ्य समेत फेला परेको थियो। अहिले सबै सम्झौता खारेज भएपनि पसल भने हट्न सकेको छैन। 

पसल सञ्चालनबारे जानकारी छैन : वडाध्यक्ष खड्गी 

काठमाडौं महानगरपालिका वडा २८ का अध्यक्ष भाईराम खड्गीले अहिले पसल सञ्चालन भएको विषयमा केही जानकारी नभएको जानकारी दिए। ‘समान हेर्नलाई एकजना व्यक्ति राखिएको थियो,’उनले भने,‘फेरि अहिले कसरी पसल सञ्चालन भएछ? पसल सञ्चालन गर्न पाइँदैन।’ उनले यो विषयमा बुझेपछि पसल सञ्चालन गर्न नदिने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.