टुँडिखेल वरपर बनाइएका शौचालय व्यापार गर्ने थलो

|

काठमाडौं : आइतबार टुँडिखेलको रत्नपार्कमा सिता दंगाल हराएको केही सामान खोजे जसरी भाैंतारिइरहेकी थिइन्। पछि बुझ्दा थाहा भयो– उनी त शौच गर्नका लागि सार्वजनिक शौचालय खोजिरहेकी रहिछन्‌। 

शाैच गर्ने ठाउँ खोज्दै जाँदा उनी बल्लतल्त महिला शौचालय लेखिएको गेटसम्म पुगिन्‌। तर त्यहाँ शाैचालय होइन, पसलै-पसल छ। सार्वजनिक शाैचायलमै शाैच गर्न नपाएपछि दंगालले आक्रोश पोखिन्‌,‘पिसाबले च्यापेर शौच गर्नका लागि शौचालय खोज्दै हिडेको पाँच मिनेट भैसक्याे, जताततै पसलमात्र देख्छु। यहाँ सार्वजनिक ट्‌वाइलेटलाई व्यापार गर्न खोेलिएको शपिङ पो बनाइएछ।’

सार्वजनिक शौचालय सबैले देख्ने स्थानमा हुनुपर्छ, तर टुँडिखेल वरपर बनाइएका सार्वजनिक शौचालय व्यापार गर्ने थलो बनेको छ। सर्वसाधारणले हैरानी व्यहोर्नुपरेको छ। सार्वजनिक शाैचालय बिचाैलियाको जिम्मामा लगाएको महानगरपालिकाका कर्मचारी यसबारे खुलेर बोल्दैनन्‌। शाैचालय हडप्नेहरुलाई 'किन पसल राखेको?' भनी सोध्न समेत सकिँदैन। समाचार संकलनका लागि टुँडिखेल पुगेर प्रश्न सोध्दा शाैचालय हडपेर पसल चलाउनेहरुले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरे।

रत्नपार्कको आकाशेपुलमुनि भेटिएका सुमन चौलागाईले उपत्यकामा भएका सार्वजनिक शौचालयमा पसल सञ्चालन गर्दा शौच गर्नमा समस्या हुने गरेको बताए। उनले भने,‘शौच आयो भने वहाना बनाएर ठूलो होटल, कि त सरकारी भवनमा जानुपर्ने बाध्यता छ। सार्वजनिक शौचालय कहाँ छ भनेर खोज्दै हिड्नुपर्छ।’

पसले र व्यापारीहरुले टुँडिखेल, खुलामञ्च र रत्नपार्क क्षेत्रको सार्वजनिक शौचालय अतिक्रमण गर्दा पनि काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले भने माैनता साँधेका छन्। सटर लिएर व्यापार गर्दा भाडा तिनुपर्छ, दैनिक लाखाै मानिस ओहोरदोहोर गर्ने र सामान किन्ने ठाउँमै शाैचालय हडपेर पसल चलाउन पाएपछि अतिक्रमणकारीलाई पनि के चाहियो र!

टुँडिखेल वरपरमात्रै सात भन्दा बढी सार्वजनिक शौचालय छन। तर यी शाैचालयमा यात्रुले शाैच गर्न पाउँदैनन्‌। लुगा, जुत्ता, शैलुनलगायतका पसलहरुले कर्कश आवाजमा सामान बेच्न हल्ला गरिरहेका हुन्छन्‌। 

रत्नपार्क र टुंडिखेल वरपरका सार्वजनिक शाैचालयमा पसल मात्रै होइन, रेष्टुराँ समेत खोलिएका छन्‌। तपाइँले रत्नपार्कका यस्ता होटलमा खानेकुरा किनेर खानुभएको भए बुझ्नुस : त्यहाँका पसलेहरुले दिसा-पिसाब र शारिरिक विकार त्याग्ने ठाउँमा पो तपाइँलाई खाना खुवाए।

पसलले आफ्नाे व्यापार बढाउन राखेका बोर्डले सार्वजनिक शाैचालय लेखिएको ठाउँ नै देखिँदैन। शौैचालयबारे जानकारी दिन राखिएका सूचना बोर्डहरु पनि पसलका सामग्रीले छोपिएका हुन्छन्‌। व्यापारीले हडप्न बाँकी शौचालय पनि व्यवस्थापन नगर्दा फैलिएको दुर्गन्धले त्यस वरपर ओहोरदोहोर गर्न कठिन पर्छ।

फोटो खिच्दा अभद्र व्यवहार
अतिक्रमित सार्वजनिक शौचालयको फोटो खिच्न रत्नपार्क पुग्दा त्यहाँका पसलेहरु थाहा खबरकर्मीमाथि खनिए। सार्वजनिक सम्पति हडपेर गैरकानूनी काम गरिरहेका ती अतिक्रमणकारीहरुले अपशब्द प्रयोग गरे। अझ सार्वजनिक शाैचालय हडपेर पसल र रेस्टुराँ खोल्नु निकै बहादुरीपूर्ण र असल कामजस्तो व्याख्या गर्दै उनीहरुले हामीलाई समाचारको विषयवस्तु छनोट गर्न समेत सुझाउन भ्याए। चर्पी ओगटेर पसल थापेका एक व्यापारी भन्दै थिए,'पत्रकारले फटाहा र भ्रष्टाचारीका विरुद्ध समाचार लेख्नुपर्छ, पसलको फोटो खिचेर हामीलाई गरि खान नदिन खोजेको ?' 
'अनधिकृत पसल हटाउँछौँ' : कामपा उपप्रमुख श्रेष्ठ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अब टुँडिखेल वरपरका सार्वजनिक शौचालयभित्र सञ्चालित पसलहरु हटाउने बताइन्‌। उनले भनिन,‘सार्वजनिक शौचालयमा पसल सञ्चालन गरिँदा शाैच गर्नका लागि सर्वसाधारणलाई धेरै समस्या भएको छ, अनाधिकृत पसलले टुंडिखेल कुरुप बनाएकाले ती सबै पसल हटाउँछौँ।’ 

उनले व्यापारीलाई सार्वजनिक शौचालय सञ्चालन गर्न मात्रै दिइएको, तर पसल गर्न कुनै अनुमति नदिएको बताईन। काठमाडौं महानगरपालिका २८ का अध्यक्ष भाईराम खड्गीले सार्वजनिक शौचालयमा राखिएका पसलहरु हटाउन पहल गरिरहेको जानकारी दिए। ‘अनधिकृत ढंगले सञ्चालन भएको पसल हटाउँछौ,’ उनले भने,‘पसल हटाउने पहलमा सबैले सहयोग गर्नुपर्छ।’ 

अनधिकृत रुपमा सञ्चालित पसल, सवारी पार्किङ र सरकारी भवनले गर्दा अहिले टुँडिखेल अतिक्रमणमा परेको छ। कुनै समय एसियाकै विशाल शैन्य परेड मैदान रहेको टुंडिखेलबाट अतिक्रमण हटाउन ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन हुँदै आएको छ। जनप्रतिनिधिले टुंडिखेलबाट अतिक्रमण हटाउने आश्वासन त दिइरहेका छन्‌, तर हालसम्म अतिक्रमण हुने गरि बनाइएका संरचना यथास्थानमा छन्‌।

फोटो : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.