बागमती नाम नै दर्ता छैन

|

हेटौंडा :  प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक २०७४ माघ १८ गते बिहीबार बसेको थियो। प्रदेश सभाका जेष्ठ सदस्य, हालका मुख्यमन्त्री डोरमणि पौडेलकोे अध्यक्षता बसेको पहिलो वैठकको ६ सय ९६ दिनपछि राजधानीको विषय अनौपचारिक रुपमा टुंगिएको हो। 

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको आइतबार बिहान बसेको सचिवालय बैठकले प्रदेशको नाम बागमती र प्रदेश राजधानी मकवानपुरको हेटौंडालाई बनाउने निर्णय गरेसँगै नामाकरण र राजधानी विषय लगभग टुंगोमा आएको हो।

प्रदेश सभामा नेकपाको स्पष्ट दुई तिहाई भएकोले प्रदेशको संसदीय दललाई आउने निर्देशन अनुसार राजधानी र नामाकरणको विषय लगभग टुंगिएको हो।

नेकपा प्रदेश सभामा कुल ११० सांसदमध्ये नेकपाको ८० मत छ भने कांग्रेसको २२ र अन्य दलको आठ मत रहेको छ। प्रदेश स्थायी राजधानीका लागि दुई तिहाई अर्थात ७४ मत भए पुग्छ। 

चाँडो भन्दा चाँडो टुंगिन्छ : मुख्यमन्त्री 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानीको विषयमा केन्द्रबाट भएको निर्णयले प्रदेश सभामा राजधानी र नामाकरणको विषय टुङ्ग्याउन सजिलो भएको भन्दै प्रदेश सभाको लागि छिट्टै आह्रवान गर्ने तयारी गरेको बताए। उनले एक साता भित्र संसद बैठक राख्ने बताएका छन्। 

कांग्रेसले स्वागत गर्ने 

प्रदेश ३ को प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको निर्णयलाई स्वागत गरेका छन्।

तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी टुंग्याउने क्रममा प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा राख्ने निर्णय गरेकोले कांग्रेसले राजधानीको विषयमा विरोध नगर्ने जनाएको छ।

नेता बानियाँले भने,'हाम्रै पार्टी सरकारमा हुँदा राजधानीको विषय अस्थायी रुपमा टुंगिएतापनि नेकपाले स्थायी बनाउन खोजेको छ। कांग्रेसको ससंदीय दलको नेताको हैसियतमा म यो निर्णयको स्वागत गर्छु।' 

नेता बानियाँले प्रदेशसभा बैठकबाट यथाशीघ्र राजधानीको विषयलाई टुङ्ग्याउनु पर्ने धारणा समेत राखेका छन्। ढिलो गरी आए तापनि राम्रो निर्णय भएको वानियाँले बताए। नामको विषयमा भने अहिले नै नबोल्ने उनको भनाई छ।

पार्टीको निर्णय मान्छौँ : मुख्य सचेतक 

नेकपा प्रदेश ३ का मुख्य सचेतक रामेश्वर फुँयालले नेकपाको केन्द्रीय सचिवालयले निर्णय गरेको भन्ने सुन्‍न आए पनि औपचारिक रुपमा जानकारी नभएको बताएका छन्। उनले पार्टी प्रणालीमा केन्द्रबाट आएको निर्णय मान्नु पर्ने भन्दै पार्टीको निर्णय भने संसदीय दलले मान्ने बताएका छन्। 

विधि अनुसार निर्णय हुनु पर्छः विवेकशील 

प्रदेश ३ सभामा तत्कालीन विवेकशील साझा पार्टीको तर्फबाट तेस्रो शक्तीको रुपमा रहेको विवकेशीलले नेपाली दलले जनप्रतिनिधिले ल्याएको नाम हेर्ने र त्यही आधारमा छनोट गर्ने बताएको छ।  नयाँ नेपालको नारा दिएपछि नाम पुरानै ढंगले ल्याएको प्रस्ताव प्रति छलफल गर्नु पर्ने विवकेशीलका सांसद विराजभक्त श्रेष्ठले जानकारी दिए।

विवेकशीलले संघीय राजधानीको उदारहण दिँदै नयाँ ठाउँमा राजधानी हुनुपर्ने तर्क गरेका छन्। उनले सिन्धुलीको मरिनलाई राजधानीको रुपमा हेरेको बताएका हुन्। ३ समानुपातिक सांसद सहित तेस्रो पार्टी बनेको दल पार्टी विभाजन पछि दुई र एक सांंसदको रुपमा रहेका छन्।

उज्पल थापा नेतृत्वको विवकशील नेपाली दलमा दुई प्रदेश सभा सदस्य रमेश पौड्याल र विराजभक्त श्रेष्ठ रहेका छन् भने रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टीबाट शोभा शाक्य प्रदेश सांसदको रुपमा रहेकी छिन्। 

उपत्यका बाहिर राजधानी उपयुक्तः नेमकिपा

प्रदेश सभामा दुई सदस्य रहेको नेपाल मजदुर किसान पार्टीले उठाएको राजधानी र नामाकरणको विषय पनि नेकपाले आईतबार गरेको राजधानी र नामाकरण सम्बन्धी निर्णयसँग मेल खाएको छ।

नेमकिपाका संसदीय दलका नेता सुरेन्द्र राज गोसाईँले नेमकिपाले प्रदेशको राजधानी सुरुदेखि नै काठमाडौं उपत्यका बाहिर र नाम जातीय आधारमा नहुने भन्दै अडान गरेको बताएका छन्।      

दुई राप्रपा भन्छन् : स्थान हेटौंडा, नाममा छलफल

कमल थापाको नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकमात्र प्रदेश सांसद रीता माझीले नेकपाले गरेको निणर्यको विषयमा जानकारी नभएता पनि राजधानी हेटौंडा भन्ने विषयमा आफू सहमत भएको बताएकी छिन्।

उनले आफ्नो पार्टी सरकारमा हुँदा गरेको निर्णय भन्दै राप्रपाले पटक पटक हेटौंडा नै राजधानी स्थायी गर्न माग समेत गरेको बताइन्। उनले कुनै पार्टीको निर्णय भन्दा पनि संसदमा  पर्याप्त छलफल गरेर औपचारिक रुपमा छिटो टुङ्ग्याउनु पर्ने बताइन्।

नामको विषयमा भने थप छलफल गर्ने भन्दै आफ्नो माग पशुपति प्रदेश रहेको बताए। यस्तै राप्रपा संयुक्तकी एक मात्र प्रदेश सभा सदस्य रीना गुरुङले नेकपाको निर्णय सहमति, असमहति केही पनि नगर्ने बताएकी छिन्।

उनले आफूहरूले पहिलेबाट नै राजधानी हेटौंडाबाट सार्न नहुने भन्दै तर्क गरेको बताइन्। गुरुङले नामाकरणको विषयमा भने पर्याप्त छलफल गर्नु पर्ने राप्रपा संयुक्तको माग पाशुपत वा पशुपति प्रदेश रहेको बताए। 

नाम र राजधानीको कार्यविधि : मतदान भए पहिले काभ्रे

२०७५ साल वैशाख १४ प्रदेशसभाको बैठकले दीपक निरौलाको संयोजकत्वमा १० सदस्यीय स्थायी राजधानी र नामकरणका लागि विशेष समिति गठन गरेको थियो। ४५ दिनको समय पाएको समितिले थप १५ दिन अध्ययन गरी सभामुख सानुकुमार श्रेष्ठलाई २०७५ असार २६ गते प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन प्रदेश सभाको बैठकमा सभामुख श्रेष्ठले २०७५ असार २६ गते प्रदेशसभामा टेबल गरेका थिए।

संसदमा विशेष समितिको प्रतिवेदन टेवल भएको करिब एक वर्षपछि अर्थात २०७६ वैशाख ३१ गते सभामुख श्रेष्ठले सदनमा स्थायी राजधानी र नामकरण टुंग्याउन कार्यविधि सदनमा पेश गरेका थिए। उक्त कार्यविधि सोही दिन सर्वसम्मत रुपमा पारित भएको थियो।

विशेष समितिले प्रदेशका १० जिल्लाको स्थलगत भ्रमण गरेर सम्भावित राजधानीको नाम वर्णाणुक्रम अनुसार जिल्लाको नाम सिफारिस गरेको थियो।

सम्भावित राजधानीको सूचीमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्ला रहेका थिए। नेपालको संविधान, प्रदेश सभा नियमावली, प्रदेश सभाको स्थायी राजधानीको समितिको प्रतिवेदनको आधारमा कार्यविधि पेश भएको थियो। कार्यविधिमा प्रदेशको राजधानी र नामाकरणको विषय संंसदमा कसरी छलफल गर्ने भन्ने प्रक्रिया रहेको छ।

कार्यविधिमा भएको प्रक्रिया अनुसार स्थायी राजधानीको सम्भाव्यता अध्ययन गर्न बनेको समितिको प्रतिवेदनमा उल्लेख भएको सम्भावित राजधानीको स्थानहरूलाई वर्णानुक्रम अनुसार पेश गरिने छन्।

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले पार्टीगत निर्णय आन्तरिक सर्कुलेसन भए पनि संसदको नियम अनुसार प्रक्रिया अगाडि बढाउनु पर्ने प्रावधान रहेको बताएका छन्। उनले दर्ता भएका नाम र स्थान फिर्ता नभए मतदान हुने बताए।

प्रदेशको राजधानीका लागि प्रदेश सभा सदस्यहरूको हस्ताक्षरको आधारमा मत विभाजन हुनेछ। वर्णानुक्रम अनुसार सिफारिस भएकोले पहिले मतदान काभ्रेको लागि हुन्छ भने अन्तिममा मकवानपुरको लागि मतदान हुने देखिएको छ।

नेपालको संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्ने उल्लेख छ। 

बाग्मती नाम दर्ता नै छैन 

नेकपाको सचिवालयले प्रदेशको नाम बाग्मती टुङ्ग्याए तापनि प्रदेश ३ को प्रदेश सभा सचिवालयलमा भने उक्त नामको लागि दर्ता नभएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले भने,'प्रदेश सभामा नेवाःतामसालिङ्, गौरिशंकर र नेपाल मण्डल गरी हालसम्म तीन वटा नाम माग गर्दै सदस्यहरूले दर्ता गरेको छ। बाग्मती प्रदेशको नामको लागि कसैले पनि दर्ता गरेका छैन।' 

सभामुख श्रेष्ठका अनुसार दर्ता भएका नामहरू फिर्ता नभए नाम पनि मतदानकै आधारमा टुंगिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.