|

निर्वतमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा पक्राउ परेपछि रिक्त रहेको सभामुख पद प्राप्त गर्न अहिले सत्तारूढ नेकपाभित्र नेताहरूको दौडधूप छ। पटक-पटकका औपचारिक र अनौपचारिक छलफलबाट पनि प्रतिनिधिसभा सभामुखको उम्मेदवार टुंगो लाग्न सकेको छैन।

संसद बैठक नै पछाडि धकेलेर अब बन्ने सभामुखबारे छलफल भइरहेको छ। नयाँ सभामुखका लागि तीव्र लबिङ गरिरहेका नेताहरूमध्ये नेकपा संसदीय दलका उपनेता एवं यसअघि पाँचपटक सभामुख बनिसकेका सुवासचन्द्र नेम्वाङ बलिया दाबेदार मानिएका छन्।

बाहिर अन्य नेताहरूको नाम सुनिए पनि नेकपा नेतृत्वको भित्री रोजाइमा नेम्वाङ नै रहेको चर्चा हुने गरेको छ। नेम्बाङले सभामुखका लागि बाहिर इच्छा नदेखाए पनि भित्रभित्रै तीव्र 'लबिङ' गरिरहेको सत्तारूढ पार्टीभित्रकै नेताहरूले जानकारी दिने गरेका छन्। सभामुखको टुंगो लगाउन नेकपाभित्र छलफल भइरहेका बेला नेम्बाङसँग थाहा सञ्‍चार नेटवर्ककी ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंशः

पहिलो संविधानसभा चुनावयता तपाईंसँग पाँचपटकसम्म सभामुख पद सम्हालेको अनुभव छ, अहिले सभामुख चयन प्रक्रिया लम्बिनुलाई कसरी लिनुभएको छ? 

यो ठीक होइन पुस ४ गतेका लागि तोकिएको बैठक ११ गतेका लागि सारियो त्यो दिनसम्म पनि सभामुखको उम्मेदवारको टुंगो लगाउन नसक्दा फेरि बैठक पछाडि धकेलियो अब १६ गते बस्‍ने भनिएको बैठक चाहिँ कुनै पनि कारणले सर्नु हुँदैन। 

सभामुखको उम्मेदवार चयन गर्न नसकेर नेकपाले संसदलाई बन्दी बनाउन खोजेको हो? 

नेकपाले संसदलाई कहिल्यै बन्दी बनाएको छैन र बनाउँदैन पनि। बन्धक बनाएको भनी टिप्पणी गर्नु सरासर गलत हो। तपाईंले मलाई सोध्नुभएको छ, यसमा मेरो प्रष्ट जवाफ छ, सभामुखको चयन समयमै हुनुपर्‍थ्यो सभामुख चयन गरी अघि बढ्न संसदभित्र रहेका सबै राजनीतिक दलले जिम्मेवारीपूर्वक आफ्नो भूमीका निर्वाह गर्नुपर्छ। अलिक ढिला भएको छ, यसमा अझै ढिलो गर्नु भएन।

सरकार चलाइरहेको संसदको सबैभन्दा ठूलो दल नेकपाले अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन, १६ गते चाहिँ ठ्याक्कै कसरी उम्मेदवार छान्नुहुन्छ?

सभामुख चयनबारे दलहरूका बीचमा गृहकार्य भइरहेको छ। यसका दुईवटा पक्ष छन् - सभामुखसँगै उपसभामुखको पनि चयन गर्नुपर्छ। सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्छ भन्ने संविधानमै व्यवस्था छ।

त्यसैले सबै राजनीतिक दलहरूले एकै ठाउँमा टाउको जोडेर संविधानअनुसार सभामुख र उपसभामुख चयन हुने आधार तय गर्नुपर्छ। यो काम पूरा गर्न पुस १६ गते दिउँसो १ बजे संसद बैठक बस्दासम्म दलहरूले उम्मेदवार टुंग्याइसक्नुपर्छ, सोही आधारमा टेकेर संसद्को प्रक्रिया सुरु हुन्छ भन्ने मेरो विश्वास छ। 

पटक-पटक संसद् बैठक सर्नुको कारक नेकपा मात्रै हो कि अन्य कारण पनि छन्? 

सभामुख राष्ट्रपतिसँग डिल गर्ने, प्रधानमन्त्रीसँग सम्बन्धमा रहने, विपक्षी दलका नेतासहित संसदमा रहेका सम्पूर्ण दल र व्‍यक्तिसँग सम्बन्ध र सम्पर्कमा रहने व्यक्ति हो। संसदमा रहेका सम्पूर्ण राजनीतिक दलले विश्वास गर्न सक्ने व्यक्ति सभामुख हुनुपर्छ।​

म कसैमाथि पनि आरोप र टिप्पणी गर्न चाहन्नँ। संसदमा रहेका सबै राजनीतिक दलहरूले आपसमा छलफल/मन्थन गरेर सभामुख र उपसभामुखको चयन समयमै गर्ने निस्कर्षमा पुग्नुपर्छ। सभामुख र उपसभामुख चयन गर्दा यसका आधारहरु स्पष्ट पार्नुपर्छ। स्वाभाविक रूपमा नेकपा संसदको सबैभन्दा ठूलो पार्टी हो, त्यसैले यो प्रक्रियामा पनि नेकपाकै जिम्मेवारी धेरै छ।

त्यसपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिका पनि महत्वपूर्ण रहन्छ। सत्तारूढ र प्रमुख प्रतिपक्षीसँगै सबै दलहरूले यसलाई उचित निष्‍कर्षमा पुर्‍याउन भूमिका निर्वाह गर्नुपर्छ। 

नेकपाले सभामुखको उम्मेदवार दिन नसकेपछि सचिवालय आफैँ निरीह जस्तो देखियो नि?

पार्टी सचिवालयले सभामुख छनोटका लागि केही समय लिएको हो, यसमा कुनै विवाद छैन। तर फेरि पनि दलहरूले नै यसबारे आवश्यक भूमिका निर्वाह गर्नुपर्छ, यसमा ढिलाइ भइरहेको छ। अब समयमै दलहरूले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्‍यो भन्ने मेरो आग्रह हो।

सभामुखको उम्मेदवार चयनमा सहमति जुट्न नसक्नुको मुख्य कारण पूर्व-एमाले र पूर्व-माओवादीबीचको भागबण्डा विवाद हो या उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिन ढिलाइ गर्नु हो?

मलाई लाग्छ–दलहरूले संविधानको व्यवस्थाअनुसार एउटा आधार तयार पार्नुपर्ने हो त्यसबारे छलफल गरेर चाँडो टुंगोमा पुग्नुपर्छ। यसलाई दलहरूले प्राथमिकतामा राखेको जस्तो देखिएन, दलहरू अघि बढ्नैपर्छ। 

नेकपाको भागबण्डामा मलाई विश्वास छैन। नेकपा अब एकीकृत भइसक्यो अपवादका एक दुई विषय छाडेर अब नेकपा लगभग एकीकरणमा गइसकेको छ यस्तो अवस्थामा नेकपा एमाले या नेकपा माओवादी केन्द्र भन्ने कुरा इतिहास भइसक्यो। त्यो हाम्रा लागि गौरव गर्ने इतिहास पनि हो। 

तर, अहिलेको विषय भनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा हो। त्यसैले नेकपाले उपयुक्त व्यक्ति छानोस् त्यस्तो व्यक्ति–जसले सिंगो सदनलाई एकजुट बनाउन सकोस् जसले राष्ट्रपतिसँग, प्रधानमन्त्रीसँग, विपक्षी दलको नेतालगायत संसदमा सहभागी दल र नेतासँग जिम्मेवारपूर्वक राम्रो सम्बन्ध राखेर संसदलाई पारदर्शिता र जवाफदेहीताको थलो बनाउन महत्वपूर्ण भूमिका खेलोस् सदनमा रहेका सम्पूर्ण दलहरूलाई एक ठाउँमा उभ्याउन सकोस् दल र संसदले अबको सभामुख पदमा त्यस्तै व्यक्ति छनोट गर्नुपर्छ।

अरूबारे खासै टिप्पणी गर्न नचाहेको बताउनुभयो, तपाईं नै सभामुखका लागि लबिङमा लागेको चर्चा भइरहेको छ, के तपाईंलाई फेरि सभामुख बन्न तयार हुनुभएको हो?

यो व्यक्तिगत दाबी, चाहना या भावनाभन्दा पनि माथिको कुरा हो हामीले संविधान निर्माणको महत्वपूर्ण काम सम्पन्न गर्‍याैं। पहिलो पटक नेपालको इतिहासमा जनताले जनताका लागि संविधान बनाएका छौं अब हामी कार्यान्वयनको चरणमा छौं।

यसबीचमा धेरै काम पनि गरेका छौं, तर संविधानको पूर्ण कार्यान्वयनका लागि कतिपय कामहरू गर्न बाँकी नै छ। यस्तो अवस्थामा सभामुखको भूमिका निर्वाह गर्नसक्ने व्‍यक्तिको छनोट जिम्मेवारीपूर्वक हुनुपर्छ। यसमा तेरो र मेरो नभनेर भूमिका निर्वाह गर्न सक्नेलाई दलहरूले छनोट गर्नुपर्छ।

सभामुखका लागि प्रमुख प्रतिपक्षी दलका तर्फबाट उम्मेदवारी नदिने चलन पनि छ पहिले दलहरूले सर्वसम्मत रूपमा मलाई सभामुख बनाएका हुन् अहिले पनि त्यस्ता कुराहरू आएका छन् यसमा व्यक्तिगत रूपमा मेरो दाबी, चाहना र टिप्पणी छैन।

सभामुख बन्नका लागि नेकपाभित्र केही व्‍यक्तिहरू तीव्र दौडमा छन्, तपाईंले व्यक्तिगत दाबी, चाहना र टिप्पणी छैन भने पनि यो दौडमा सबैभन्दा अघि तपाईं नै रहेको चर्चा छ, तपाईं सभामुख बन्ने पक्कापक्की भएकै हो या होइन? 

खै, म त दौडिएको छैन, अरू दौडिएको पनि देख्दिनँ। म त घर, सदन र आफ्नै जिम्मेवारीमै लागिरहेको छु तपाईंले सभामुखका लागि अघिल्लो पंक्तिमा हुनुहुन्छ भन्नुभयो–त्यसका लागि धन्यवाद!

टिप्पणीहरू त अनेक सुनेको छु। मलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) बोक्नुभएको कुरा पनि सुनेँ। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बोक्नुभो रे! तर, यथार्थ यो हो कि म प्रष्टसँग मैदानमा हिँडिरहेको छु। तर, कोही दौडिरहेको देखेको छैन। 

सभामुख चयनमा ढिलाइ भएकाप्रति म पनि सन्तुष्ट छैन। यसैलाई समस्या देखाएर संसदीय अभ्यासमै आलस्‍यता देखाउन थालियो भने यसले जनतामा निराशा निम्त्याउँछ।

एउटै व्यक्ति छैटौँ पटकसम्म सभामुख बन्नु राम्रो होइन भन्ने आवाज नेकपाभित्रै सुनिएको छ, यसलाई तपाईंले कसरी लिनुभएको छ? 

सुरुमा दुई/तीनपटक मैले सार्वजनिक रूपमै यो कुरा भनेको छु सभामुख बन्न योग्य साथीभाइहरू खोजी गरौँ भनेर मैले नै प्रस्ताव गरेको हुँ। सदनको आवश्यकताअनुसार हामी एउटा टुंगोमा पुग्नैपर्छ नेताहरू, साथीभाइ, नागरिक समाज र विपक्षी दलले समेत म सभामुखमा चयन हुने/नहुने सन्दर्भमा विभिन्न टिप्पणी गरेका छन्, त्यसैले यी विषयमा म टिप्पणी गर्न चाहन्नँ।

सभामुखका लागि आफूबाहेक तपाईंले कसलाई उपयुक्त देख्नुभएको छ? 

मैले केही नबोल्दा पनि सभामुखका लागि म पहिलो नम्बरमा छु भन्ने टिप्पणी भइरहेका छन्। सभामुखमा कोही व्यक्तिको नामभन्दा पनि निजमा सो भूमीका निभाउन सक्ने क्षमतालाई आधार बनाउनुपर्ला। सभामुख राष्ट्रपतिसँग डिल गर्ने, प्रधानमन्त्रीसँग सम्बन्धमा रहने, विपक्षी दलका नेतासहित संसदमा रहेका सम्पूर्ण दलसँग सम्बन्ध र सम्पर्कमा रहने व्यक्ति हो।

संसदमा रहेका सम्पूर्ण राजनीतिक दलले विश्वास गर्न सक्ने व्यक्ति सभामुख हुनुपर्छ। अप्ठ्यारो अवस्थामा सबैको हित हुनेगरी निर्णय गर्न सक्ने क्षमता सभामुखसँग हुनुपर्छ। मैले पनि दलहरूलाई सभामुखका लागि जो सुकै छान्न, तर त्यस्तो खुबी र क्षमतायुक्त व्यक्तिलाई सभामुख बनाउन आग्रह गरेको छु।

सभामुख पद रिक्त भयो, सुरुमा तपाईंबारे खासै चर्चा थिएन, तर अहिले एकाएक तीव्र लबिङमा रहनुभएको कुरा त तपाईंकै पार्टीभित्रका नेताहरूका मुखबाट सुनिएको छ, सभामुखको प्रतिस्‍पर्धामा छु भन्न गाह्रै भएको हो र? 

सभामुख बन्न खोजेको खबरहरू सञ्चारमाध्यममा देख्दा म आफैँ चकित परेको छु, तर यो कुरा मलाई नै थाहा छैन। मेरो बानी यहाँहरूलाई पनि थाहा छ। म अनावश्यक टिप्पणी र खण्डन गरेर विवादमा आउन चाहन्नँ। म यति मात्रै भन्छु कि त्यो कुरा गलत हो। म सभामुख बन्ने सौदावाजीमा छैन। एउटा राम्रो कुराका लागि चाहिँ अवश्यक लबिङ गरिरहेका छु–देशले असल सभामुख पाओस् दलले उपयुक्त पात्र चयन गरून्।

आफू लबिङमा नभएको दाबी गर्नुभयो, उसो भए यो बताइदिनुस् कि नेकपाभित्र सभामुख बन्न कति रस्साकस्सी भइरहेको छ? तपाईं त पार्टीभित्रका औपचारिक/अनौपचारिक छलफलमा पनि सहभागी हुनुहुन्छ।

वास्तविकता बताउँदा सबैजना छक्क पर्नुहुन्छ। किनकि सबैले नेकपाभित्र धुमधाम मच्चिरहेको होला भन्ने अनुमान गर्नुभएको हुनसक्छ। तर, पार्टीभित्र फिटिक्कै केही भएको छैन। दुई अध्यक्ष ओली र दाहालबीच बेलाबखतमा छलफल भएको होला। सचिवालय बैठकमा पनि छलफल भइरहेको होला। पार्टी नेतृत्व र सचिवालयले नै यसलाई टुंग्याउने हो। 

नेकपाले महिलालाई अवसर दिँदैन भन्‍ने हैन। तुम्बाहाङ्फेलाई सभामुख पद दिनु हुँदैन भन्ने पनि छैन। महिला सहभागिताको सन्दर्भमा पनि नेकपालाई कुनै आरोप लागेको छैन। महिला हकको सवालमा नेकपा निकै उदार छ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले तपाईं र अर्का अध्यक्ष दाहालले नेता अग्‍नि सापाकोटालाई सभामुख बनाउन खोज्दा सहमति हुन नसकेको भन्ने कुरामा कति सत्यता छ? 

यो सयमा दुई सय प्रतिशत गलत कुरा हो। प्रधानमन्त्रीको मात्रै हैन, मप्रति प्रचण्डको पनि राम्रो धारणा छ। मेरो विरुद्धमा कोही पनि हुनुहुन्न।

तपाईंका विरुद्धमा कोही नभएपछि सभामुखका लागि पनि त मार्गप्रशस्त भयो नि, होइन र?

मैले त्यसो भन्न खोजेको हैन। सभामुखका लागि उपयुक्त पात्र को हो भन्नेबारे दलका नेताहरूले छलफल गरेर एउटा निष्कर्ष निकाल्नुहुन्छ। यो आवश्यकताअनुसार दलले निर्णय लिने विषय हो। 

उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले पनि सभामुखका लागि दाबी गर्नुभएको छ निवर्तमान सभामुखले गरेको गल्तीको सजाय म किन लिने भन्नुभएको छ उहाँको यो भनाइप्रति तपाईं के भन्नुहुन्छ? 

उहाँ योग्य हुनुहुन्छ उहाँ नै सभामुख हुन पनि सक्नुहुन्छ यसमा कुनै विवाद छैन म प्रष्ट छु खाली कुरा के हो त भन्दा पार्टी निष्‍कर्षमा पुगिसकेको छैन। 

नेकपा नेतृत्वको अहिलेको मन्त्रिपरिषदमा महिला सहभागिताको अवस्था कमजोर छ, सभामुख पदमा पनि तुम्‍बाहाङफेलाई उम्मेदवार चयन गरेन भने त नेकपाले महिलालाई अवसर र उपयुक्त स्थान दिँदैन भन्ने आरोप पुष्टि होला नि? 

पार्टीलाई त्यस्तो खालको आरोप लाग्दैन तर त्यसको अर्थ तुम्बाहाङफेलाई सभामुख पद दिनु हुँदैन भन्ने पनि हैन तर यसैको थिचाइमा पार्टी कुनै निष्‍कर्षविहीन बन्नु हुँदैन।

महिला सहभागिताको सन्दर्भमा पनि नेकपालाई कुनै आरोप लागेको छैन। किनभने महिलाको हक र सवालमा नेकपा निकै उदार छ। नेकपाभित्र कायम महिला सहभागितालाई कुनै पनि राजनीतिक दलले माथ गर्न सक्दैन, कुनै पनि दल नेकपाको छेउछाउसम्म पनि पुग्न सक्दैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.