राजस्व घटेपछि आयातलाई नै प्राथमिकता

|

काठमाडौं : चालु आर्थिक वर्षको पाँचौ महिनामा अहिलेसम्मकै उच्च व्यापार घाटा देखिएको छ। चालु आर्थिक वर्षको पहिलो महिनादैखि नै गत वर्षको तुलनामा निरन्तर व्यापार घाटमा कमी आएको अवस्थामा मंसिरमा उच्च घाटा देखिएको हो। गत वर्षको तुलना तथा चालु आर्थिक वर्षको पाँच महिनामध्ये सबैभन्दा बढी सामान मंसिरमा आयात भएको हो।

सरकारले व्यापार घाटा न्यूनीकरण गर्न व्यापार रणनीति बनाएर आयातलाई कडाइ गर्दै गएको थियो। तर राजस्वमा चाप देखिएपछि सरकारले कात्तिक र मंसिरमा आयातमा केही सहज गरेपछि व्यापार घाटा फेरि चुलिएको हो। 

अघिल्ला आर्थिक वर्षहरुमा सबैभन्दा बढी आयात असोज-कात्तिकमा हुने गरेको थियो। चालु आर्थिक वर्षमा भने मंसिरमा अहिलेसम्मकै उच्च आयात भएको तथ्यांकले देखाएको छ।

गत वर्षको मंसिरको तुलनामा यो वर्ष आयात पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ। सामान्यत: अघिल्लो वर्षको तुलनामा हरेक वर्ष आयात व्यापार बढ्दै गए पनि चालु आर्थिक वर्षमा अघिल्ला चार महिनामा घटेको थियो। 

आर्थिक वर्ष २०७३/७४ को मंसिर महिनामार ८१ अर्ब रुपैयाँको विदेशी वस्तु आयात भएकोमा आर्थिक वर्ष २०७४/७५ मंसिरमा ९६ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०७५/७६ मा एक खर्ब २३ अर्ब रुपैयाँको आयात भएको रेकर्ड छ। चालु आर्थिक वर्षको मंसिरमा एक खर्ब ३० अर्ब रुपैयाँको आयात भएको छ। 

चालु आर्थिक वर्षमा आयात भएको पाँच महिनाको अंश हेर्दा पनि सबैभन्दा बढी आयात मंसिरमै भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। चालु वर्षको पहिलो महिना साउनमा एक खर्ब ६ अर्ब रुपैयाँको आयात भएको थियो। दोस्रो महिना एक खर्ब २३ अर्ब रुपैयाँको आयात भएको देखिएको छ।

अन्य आर्थिक वर्षमा सबैभन्दा बढी विदेशी सामान आयात हुने तेस्रो महिना अर्थात् असोजमा एक खर्ब ५ अर्ब रुपैयाँको मात्रै आयात भएको छ। त्यस्तै कात्तिकमा एक खर्ब १५ अर्ब रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। तर मंसिरमा एक खर्ब ३१ अर्ब रुपैयाँको सामान आयात भएको हो।

कात्तिकसम्म चार खर्ब ५० अर्ब रुपैयाँको आयात व्यापार भएको थियो। मंसिरसम्ममा अन्तर्राष्ट्रिय व्यापार घट्दै गएपछि सरकारको राजस्वमासमेत चाप परेको थियो। तर मंसिरभर भएको व्यापार वृद्धिले राजस्वमा पनि सुधार आएको छ।
 

गत वर्षको तुलनामा पहिलो चार महिनामा व्यापार घाटा १२ प्रतिशतले घटेको थियो। तर पाँचौं महिनामा आयात बढेसँगै गत वर्षको तुलनामा ६.३० प्रतिशतले मात्रै कमी आएको देखिएको छ। 

पहिलो पाँच महिनाको समग्र हिसाबमा भने गत वर्षको तुलनामा आयात व्यापार कमी आएएको छ। साउनदेखि मंसिरसम्मको निर्यात बढ्दै जाँदा आयातमा सामान्य कमी आएको देखिएको हो। पाँच महिनामा नेपालको कूल वस्तु निर्यात २६ दशमलव ९७ प्रतिशतले बढेको छ भने आयातमा ४ दशलमव २४ प्रतिशतले कमी आएको छ। 

पाँच महिनामा पाँच खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको सामान आयात भएको छ । यो गत वर्षको पाँच महिनाको तुलनामा ४ दशमलव २४ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सुरुको पाँच महिनामा ६ खर्ब ६ अर्ब रुपैयाँको सामान आयात भएको थियो। गत वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा २५ अर्ब रुपैयाँले कमी आएको छ। 

यस्तै पाँच महिनामा निर्यात २६ दशलमव ९७  प्रतिशतले बढेको छ। चार महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँको सामान निर्यात भएको छ। अघिल्लाे आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले जम्मा ३७ अर्ब रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो । 

पाँच महिनामा नेपालको व्यापार घाटा अघिल्लाे वर्षकाे पाँच महिनाको तुलनामा ६ दशमलव ३० प्रतिशतले घटेको छ। नेपालको व्यापार घाटा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ । आयात निर्यातको अनुपात २४ दशलमव ५८ प्रतिशत छ। 

नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतबाट ३ खर्ब ४९ अर्ब  ६३ करोड रुपैयाँको सामान आयात भएकोमा जम्मा ३२ अर्ब ५६ करोड रुपैयाँको सामान निर्यात भएको छ । भारतसँगको व्यापार घाटा ३ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै पाँच महिनामा चीनबाट १ खर्ब २ अर्ब रुपैयाँको सामान आएकोमा जम्मा ८६ करोड ३२ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापार घाटा १ खर्ब १ अर्ब रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.