पुसको झरीमा रुझ्यौँ, माघको चिसोमा आउनु नपरोस्

|

काठमाडौं : सुगर मिलले नदिएको एक अर्ब भन्दा धेरै रकम भुक्तानी माग्दै दुई सातादेखि काठमाडौंमा आन्दोलनरत उखु किसान र उद्योगमन्त्रीबीच अहिले सिंहदरबारमा वार्ता भइरहेको छ। 

दिनभर हिउँदे झरीमा रुझेर माइतीघर मण्डलमा धर्ना दिएका उनीहरु शुक्रबार अपरान्ह उद्योग मन्त्रालयमा पुगेका हुन्। त्यहाँ अहिले उद्योगमन्त्री लेखराज भट्ट, अन्य उच्च सरकारी अधिकारी र उखु किसानहरुबीच वार्ता भइरहेको छ।

वार्ताका क्रममा उद्योगमन्त्री लेखराज भट्टले सुगर मिलले दिनुपर्ने सबै रकम माघ ७ गतेभित्र उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएका छन्। तर उखु किसानहरुले भने यदि चिनी मिल मालिकहरुले भुक्तानी नदिएमा सरकारले अपनाउने विकल्पबारे प्रश्‍न गरेका छन्। 

वार्ताका क्रममा उखु किसानहरुले आफूहरु ऋणमा डुबिसकेको बताउँदै चाँडो भन्दा चाँडो रकम भुक्तानी दिलाइदिन आग्रह गरेका छन्। किसानका तर्फबाट बोल्दै राकेश मिश्रले प्रधानमन्त्री राहत कोषबाट भए पनि भुक्तानी दिन आग्रह गरेका छन्। 

वार्तामा बसेका एक किसानले बिलौना गर्दै मन्त्रीसँग बिन्ति नै गरेका छन्। 'बरु हामी बिहान-बेलुका उद्योग मन्त्रीको पूजा गर्छौँ', वार्तामा सहभागी एक किसानले भने, 'सक्नुहुन्छ भने प्रधानमन्त्री राहत कोषबाट रकम दिनुस्। हामीलाई अब नझुक्याउनुस्।'

उनीहरुले उद्योगमन्त्रीसँगको वार्तका क्रममा पुसको चिसो र झरी झेलेको बताउँदै अब माघको चिसो खान काठमाडौं आउन नपरोस् भनेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.