नेकपा संसदीय दलको बैठकमा कालो कोटमा नेताहरू

|

हेटौंडा : प्रदेश ३ को नेकपा संसदीय दलको बैठक शुक्रबारदेखि प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा बसिरहेको छ। प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको विषयलाई सर्वसम्मत ढंगले टुङ्ग्याउने प्रयास भइरहेको छ। 

बैठकमा केही सांसदले पार्टी सचिवालयको निर्णयलाई लिएर आपत्ति जनाए पनि पार्टीको निर्णय र निर्देशनविरुद्ध नजाने बताएका छन्। केही सांसदले राजनीतिक हिसाब र केहीले कुनै समयमा भएका चित दुखाइका कारण हेटौँडालाई राजधानी कायम गर्ने निर्णयको विरोध गरे पनि अन्त्यमा पार्टीको निर्देशनविरुद्ध जान नसक्ने बताएका छन्।

विभिन्न कारणले विरोधमा उत्रिए पनि अन्तमा सचिवालयको निर्णलाई मान्नुको विकल्प नभएको सांसदको भनाइ छ। सिन्धुलीका नेकपा सांसद विनोदकुमार खड्काले बैठकमा जति नै विरोध गरेता पनि कम्युनिष्ट पार्टीको कार्यकर्ता भएपछि केन्द्रको निर्णय मान्नु पर्ने तर्क गरे। उनले भने, 'बैठकमा बोल्ने जे कुरा भए पनि नाम र राजधानीको विषयमा पार्टीको निर्णय मान्नुपर्ने हुन्छ। त्यसकारण सचिवालयले गरेको निर्णय नै अन्तिम निर्णय हुन्छ।' 

यस्तै, काठमाडौंका प्रदेश सांसद दीपक निरौलाले कम्युनिष्ट पार्टी अनुशासन पालान गर्ने परिपाटीबाट आएको हुनाले केन्द्रको निर्णयप्रति एकमत भएर जाने बताए। यस्तै, नेकपा सांसद प्रेमबहादुर पुलामीले पार्टीको निर्णयप्रति सबैले मान्नु पर्ने बताउँदै राजधानीको विषयमा बखेडा झिकेर सरकारलाई अल्झाउन नहुने बताए.

काठमाडौं ८ का सांसद राजेश शाक्यले भने हेटौंडामा राजधानीमा सहमत भएता पनि नामकरण भने नेपाल मण्डल हुनुपर्ने भन्दै नामकरणमा सहमत हुन नसकेको बताए। यस्तै सांसद जुनेली श्रेष्ठले पार्टीकै तर्फबाट सांसदको हैसियतमा पुगेपछि पार्टीको निर्णयलाई मान्नु पर्ने तर्क गरिन्। 

२३ जना सांसदले बोलेको बैठकमा २० सांसदले पार्टीको निर्णय मान्नु पर्ने तर्क गरेको बैठकमा सहभागी एक सांसदले बताए। हिजो शुक्रबार बसेको बैठक १७ जना सांसदले बोलेका थिए। हालसम्म ६२ जनाले नाम टिपाएका छन्। भोलि १० बजेदेखि पुनः बैठक सुरु हुने मुख्य सचेतक रामेश्वर फुँयालले बताए।

हेटौँडालाई स्थायी राजधानी बनाउने सचिवालयको निर्णयको भन्दा पनि प्रक्रिया र पद्दतिको विरोध गरेको एक सांसदले बताए। उनले भने,‘भगोलभन्दा पनि संविधानअनुसार विधि र प्रक्रिया भएन भन्ने मात्र हो। तर, पार्टीकै निर्णयविरुद्ध जान सकिँदैन।"  सचिवालयको निर्णयलाई मान्नुको विकल्प नभएको उनले बताए।

बैठकमा कालो कोट

नेकपा प्रदेश-३ को संसदीय दलको बैठकमा नेताहरूका पहिरन भने कोड गरे झैं देखिएको छ। मुख्यमन्त्री डोरमणी पौडेलेदेखि सांसद, प्रदेशका मन्त्रीहरूसम्म आजको बैठकमा कालो लङ कोटमा देखिए।

प्रदेश ३ का मन्त्रीहरू दावा दार्जे लामा, कैलाश ढुंगेल दलका सचेतक रामेश्वर फुँयाल, प्रदेशसभा सदस्य बद्री मैनाली, पूर्वमन्त्री तथा सांसद केशव स्थापितसहित केही नेताहरू यस्तो पहिरनमा देखिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.