|

महोत्तरी : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकले प्राप्त गरेको राजनीतिक परिवर्तनभित्र प्रजातान्त्रिक आन्दोलनका योद्धा सधैँ स्मरणीय रहने बताए।

महोत्तरीको मनराशिशवा नगरपालिका १० बथनाहामा बुधबार नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा ललनकुमार रायको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्दै उपसभापति निधिले प्रजातन्त्रका लागि लडेका योद्धा सधैँ स्मरणीय रहने बताएका हुन्। उनको पैतृकस्थल बथनाहामा हिन्दू वैदिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

रायको अन्त्येष्टिमा सरिक भएका उपसभापति निधिले पार्टीका सभापति शेरबहादुर देउवाको तर्फबाट शोकाकुल परिवारजनलाई समवेदना र सान्त्वना जनाए। रायको अन्त्येष्टिमा जिल्लाका सबजसो राजनीतिक दलका नेता र कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो।

काठमाडौँबाट घर फर्कने क्रममा राय चढेको ना ५ ख ६४११ नंको बसले मंगलबार बिहान महोत्तरीको टुटेश्वरचोकमा रोकिराखेको ना ४ ख ९८१३ नंको ट्रकलाई ठक्कर दिँदा घाइते भएका रायको उपचारका क्रममा विराटनगरमा निधन भएको थियो। 

विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसमा आबद्ध भई प्रजातान्त्रिक आन्दोलनमा होमिएका राय कैयौँपटक जेल परेका थिए। विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा महोत्तरी–४ बाट राय नेकाको उम्मेदवार थिए। यसअघि २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिका सदस्य रहेका ५७ वर्षीय राय हाल कांग्रेसको महासमिति सदस्य थिए। 
रायको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला इञ्चार्ज राजु खड्का र नेका जिल्ला सभापति महेन्द्रकुमार रायले शोक वक्तव्य जारी गर्दै मुलुकको प्रजातान्त्रिक आन्दोलनमा रायको योगदान सधैँ स्मरणीय रहने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.