नगरपालिकाले बाँडेको दाउरा पुगेन गरिबसम्म

|

दैलेख : नारायण नगरपालिका-६ गणेश चोकनजिकै बादी समुदायका ६५ घरपरिवार हिउँदे झरीमा कठ्यांग्रिएर बस्‍न बाध्य छन्। हिउँदे झरी र चुहिने छानोका कारण उनीहरू कठ्यांग्रिँदो जाडोमा परेका हुन्।

२०६० सालदेखि यहाँ ६५ विपन्न घरपरिवार बस्दै आएका छन्। उतिबेला तत्कालीन द्वन्द्वको समस्या देखाउँदै नौमुले भैरीकालिका थुम लगायतका विभिन्न स्थानबाट आएका उनीहरू दैलेख बजारमा आउने मालवाहक गाडीमा सामान लोड अनलोड गर्ने काम गर्दै बिहान बेलुकाको छाक टार्ने मेसो गर्दै आएका छन्।

यस बस्तीमा बसोवास गर्दै आएका गोर बहादुर बादी भन्छन्, 'गरिबलाई हेर्ने को नै छ र? वर्षा हिलोमा बित्छ हिउँद कठ्यांग्रियर' उनले थपे, 'नगरपालिकाले बजारमा दाउरा वितरण गरेको भन्ने जानकारी पाएका छु तर हामी जस्ता गरिबलाई कसैले केही दिँदैन।' स्थानीय सरकारले पनि धनी र पहुँचवालालाई मात्र सुविधा दिने गरेको उनको गुनासो छ। झरीले गर्दा काम गर्न समस्या भएकाले बालबच्चालाई खुवाउने कुराको जोहो गर्न समस्या भएको सुनाए।

झरी नपर्दा पनि बिहान बेलुकाको छाक गुर्जान अरूकोमा काम नगरी चुलोमा आगो नबस्ने बादी परिवारमा झरीले गर्दा थप समस्या भएको छ।

नगरपालिकाले दियो दाउरा

चिसोबाट बच्न नारायण नगरपालिकाले जिल्ला सदरमुकामका चोकचोकमा मंगलबार र बुधबार दाउरा वितरण गरेको छ। बजारमा दाउरा वितरण गरे पनि ६५ घरधुरी रहेको नमुनाबस्तीका मानिस दाउरा नहुँदा भोकै बस्नुपरेको गुनासो गरेका छन। 

विभेद गरेको गुनासो  

नमुना बस्तीका बादी समुदाय नगर सरकारले दाउरा वितरण गर्दा आफूहरूलाई विभेद गरेको बताउँछन्। विमला बादीले गुनासो गर्दै भनिन्, 'हामी जस्ता दु:खी गरिबलाई नगर सरकारले नहेरेर बजारका हुनेखानेलाई मात्र दाउरा वितरण गरेको छ।' चुहिने छानोमुनि बास भएकाले रातमा सुत्न पनि निकै समस्या हुने गरेको उनको गुनासो  छ।

घरघरमा दाउरा दिन सकिँदैन : नगर प्रमुख

यता, नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले टोल टोलका घरैपिच्छे नगरपालिकाले दाउराको व्‍यवस्था गर्न नसक्ने बताएका छन्। बजारका मुख्य चोकमा मात्र पालिकाले चिसोको समयमा आगो बाल्नलाई दाउराको व्‍यवस्था गरेको उनको भनाइ छ।

भोट लिनेले चिन्दैनन

चुनावताका बस्तीमा आएर बिन्ती गर्दै भोट लिनेहरू अहिले सत्तामा पुगेका छन्। जितेकालाई अहिले नमस्कार गर्दासमेत नचिनेजस्तो गर्ने गरेको बस्तीका गोरबहादुर बादीले बताए। 'चुनावका बेला जुन पार्टीका मान्छे आए पनि पुर्जा दिलाउने आशा देखाउछन् पुर्जा दिलाउने र घर बनाइदिने आशा देखाएका नेता सरकारमा पुगेपछि बेवास्ता गर्छन्' उनले भने।

बस्तीकै तारा बादी भन्छिन्, 'चुनावका वेला बस्तीमा आएर बिन्ती गर्नेहरूले अहिले वास्ता गर्न छोडेका छन्।' ठूला नेताहरू चुनावका बेला बिन्ती गर्न आएको देखेर आशा पलाएको भए पनि कुनै आशा पूरा नगरेको उनले सुनाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.