अमृत चिमरिया

|
फाइल फोटो

हेटौँडा : प्रदेशसभा गठन भएको करिब दुई वर्षपछि अर्थात् ७ सय ९ दिनपछि प्रदेश ३ ले भोलि आइतबार नाम र स्थायी राजधानी पाउने भएको छ। २०७४ माघ १८ गते पहिलो बैठक बसेको प्रदेशले प्रदेशसभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेशले नाम र स्थायी राजधानी पाउने भएको हो। 

हेटौँडाको पक्षमा १ सय ५ भोट

प्रदेशसभाको आइतबार  ९ बजेबाट बस्ने बैठकले राजधानी र नाम औपचारिक रुपमा टुंग्याउने छ। राजनीतिक अंकगणितमा प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती हुने निश्चित जस्तै छ। नेकपा र कांग्रेसका सांसदले 'फ्लोर क्रस' नगरेमा दुई तिहाइभन्दा पनि बढी मतले हेटौँडा र राजधानी पारित हुने अवस्थामा छ।

दुवै दलमा हेटौँडा र वागमती हुँदैन भन्दै असन्तुष्टि जनाए पनि प्रस्ताव दर्ता र पेश गर्दा सबैले समर्थन गरेका छन्। त्यसैले पनि 'फ्लोर क्रस' हुने न्यून रहेको छ। प्रदेश ३ मा १ सय १० जना सांसद रहेका छन्।

जसमध्येबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि १ सय ९ जना रहेका छन्। १ सय ९ जनामध्ये नेकपाका सांसद ७९ जना छन्। जुन संख्या नै राजधानी पारितका लागि दुई तिहाइ मत रहेको हो।

यसमा नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १/१ मत जोड्दा राजधानी हेटौँडाको पक्षमा १ सय ५ मत पुग्दछ। राजधानी धुलिखेल प्रस्तावको पक्षमा भने विवेकशीलको ३ मत मात्र रहेको छ।

एक मत रहेको स्वतन्त्र सांसद प्रेम तामाङले भने मत प्रक्रियामा सामेल नहुने घोषणा गरिसकेका छन्। राजधानी र नाम प्रदेशसभाबाट पारित गर्न ७४ मत आवश्यक पर्दछ।

बागमतीमा १ सय ८ भोट

प्रदेशको नाम बागमतीमा भने सबैको समर्थन रहेको छ। नाम बागमतीका लागि स्वतन्त्र सांसदबाहेक अरूको समर्थन रहेकाले १ सय ८ मत नै रहेको देखिन्छ। स्वतन्त्र सांसद तामाङले नाममा पनि नो भोट घोषणा गरिसकेका छन्। 

बागमती नाम प्रदेशसभा सचिवालयले दिएको समयमा सबै दलको तर्फबाट एउटै मात्रै नाम दर्ता भएपछि बागमती हुने पक्का भएको हो। प्रदेश ३ को नामको लागि प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्र बानियाँले प्रस्ताव गरेका हुन।

समर्थकमा नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य रहेका छन्।

नाममा नेमकिपाले पनि समर्थन गरेको छ। बागमती मात्रै नाम दर्ता भए पनि यसलाई औपचारिकता दिन मतदान प्रक्रियामा चाहिँ गर्नै पर्ने हुन्छ।

प्रदेशसभामा १३ जिल्ला मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखाका गरि १ सय १० जना प्रदेश सभासदस्य रहेका छन्। प्रदेश ३ मा पहिलो हुने निर्वाचनबाट निर्वाचितबाट ६६ जना,  समानुपातिकबाट ४४ जना,  दलगततर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, कांग्रेसबाट २२ जना,  विवेकशीलबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा (संयुक्त)बाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र  १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.