विरोधमा उत्रिएका सांसदको पनि अन्तिममा समर्थन

|

हेटौंडा : प्रदेश-३ को प्रदेशसभा बैठकले ऐतिहासिक निर्णय गरेको छ। दुई वर्षदेखि अन्योलमा रहेको स्थायी राजधानी र नामकरणको विषयमा आइतबार बसेको प्रदेशसभाको बैठकले टुंगो लगाएको छ।

प्रदेशसभामा रहेको ११० मतमध्ये सभामुख सानुकुमार श्रेष्ठले मत हाल्न नमिल्ने भएकोले र स्वतन्त्र सांसद प्रेम तामाङ अनुपस्थित भएपछि १ सय ८ मत गणना भएको हो।  

१ सय ५ हेटौँडाको पक्षमा 

स्वतन्त्र सांसद प्रेम तामाङ उपस्थित नभएपछि  १सय ८ मत मध्ये १ सय ५ मतस्थायी राजधानी हेटौंडाको पक्षमा परेको हो। हेटौंडा हुँदैन भन्नेमा विवेकशील साझा पार्टीका सांसदहरू रमेश पौड्याल, विराज भक्त श्रेष्ठ र शोभा शाक्य मात्रै रहेका थिए।  

हेटौंडाको पक्षमा प्रदेशसभामा नेकपाबाट ७९, नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १/१ मत आएको हो। प्रदेशको स्थायी राजधानीका हेटौँडा कायम गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल प्रस्ताव गरेका थिए।

उक्त  प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की रिना गुरुङले समर्थन गरेका थिए।

काभ्रेको विपक्षमा उभिएनन् काभ्रेका सांसद  

नेकपा प्रदेश ३ संसदीय दलले हेटौंडा राजधानी बनाउन ह्विप जारी गरे तापनि काभ्रेको विपक्षमा भने नेकपा काभ्रेका सांसदहरू उभिएनन्। काभ्रेबाट प्रत्यक्ष विजयी भएका नेकपा सांसदहरू चन्द्र लामा, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईँ र रत्न ढकालले नेकपा, नेपाली कांग्रेस, नेमकिपा, राप्रपा र राप्रपा संयुक्तले विपक्षमा मत राख्दा पनि काभ्रेको विपक्षमा मतदान गर्न नसक्ने भन्दै मतदान प्रक्रियामा नै सहभागी नभएका हुन्।  

गणना भएको १ सय ८ मतलाई सभामुख सानुकुमार श्रेष्ठले वर्णानुक्रम अनुसार सुरुमा काभ्रेको धुलिखेल राजधानीको निर्णयार्थ प्रस्ताव गरेका थिए। प्रस्ताव गरेको काभ्रेको धुलिखेलमा प्रस्तावक  र समर्थक गरेको विवेकशील साझा पार्टीका ३ सांसदले मत हालेका थिए। काभ्रेको विपक्षमा विपक्षमा १०१ मत परेको थियो।  

बागमती नाम : सर्वसम्मत

प्रदेश ३ अब बागमती प्रदेश भएको छ। प्रदेश सभा संसदको आइतबार बिहान बसेको बैठकले बागमती नाम राखेको हो। प्रदेशसभाको नाम बागमतीका पक्षमा सर्वसम्मत १०८ मत आएको थियो।  जम्मा सांसद ११० मध्ये स्वतन्त्र सांसद प्रेम तामाङ अनुपस्थित र सभामुख सहभागी हुन नमिल्ने भएकोले सबै मत आएको हो।  

प्रदेश सभा सचिवालयले दिएको समयमा सबै दलको तर्फबाट एउटै मात्रै नाम दर्ता भएपछि बागमती नाममा प्रदेश सभामा उपस्थित सबै १ सय ८ जना सांसदले नै मत दिएका हुन्।  प्रदेश ३ को नाम बागमतीको लागि प्रमुख प्रतिपक्ष दलका नेता बानियाँले प्रस्ताव गरेका थिए।

समर्थकमा नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयाल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रीना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य रहेका थिए भने उक्त नाममा नेमकिपाले पनि समर्थन गरेको थियो।  

प्रदेश सभाले दस्तखतसहित मत संकलनबाट औपचारिक रुपमा प्रदेशको नाम बागमती घोषणा भएको सभामुख सानुकुमार श्रेष्ठले संसदलाई जानकारी गराएका थिए। स्वतन्त्र सांसद प्रेम तामाङले भने नेवाः ताम्सालिङ नाम राख्न खोज्दा समर्थक नै नपाएको गुनासो गरेका थिए।  

मतदान अघि ह्विपको पत्र 

प्रदेशको राजधानी र नामकरणको छिनोफानो गर्नुपूर्व नेकपाका प्रदेश सभा सदस्यलाई नाम वागमती र राजधानी हेटौंडामा अनिवार्य मतदान गर्न नामसहित ह्विपको पत्र दिइएको थियो। अनिवार्य पार्टीको निर्देशन मान्न पार्टीको २०७४ पहिलो संशोधनको दफा २८ अनुसार र प्रदेशसभा संसदीय दलको विधान २०७५ को धारा २५ बमोजिम ह्विप जारी गरेको नेकपाका एक सांसदले जानकारी दिएका छन्। ह्विप जारी गरेको पत्रमा नेकपा प्रदेश ३ का मुख्य सचेतक रामेश्वर फुँयालले हस्ताक्षर गरेका छन्।   

सत्ता पक्ष र प्रतिपक्षको एउटै स्वर : महत्वपूर्ण निर्णय

प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती तोकिए पछि मुख्यमन्त्री डोरमणि पौडेलले सबैको सहमतिबाट तोकिनु महत्वपूर्ण भएको बताए। बैठको साझा सहमतिमा राजधानी र नामकरणको टुंगो लागेकोमा ऐतिहासिक महत्व राख्ने मुख्यमन्त्री डोरमणी पौडेलको भनाई छ।  उनले भने,'राजधानी हेटौंडा र नामकरण बागमती कायम हुनु खुशीको कुरा हो तर यसअघि नै हेटौंडा राजधानी रहेका यसलाई  हार जीतको रुपमा भन्दा पनि महत्वपूर्ण निर्णयको रुपमा लिई प्रदेशवासीको जीत सम्झनुपर्दछ।'

यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता वानियाँले पनि महत्वपूर्ण निर्णय भएको बताएका छन्। उनले  राजधानी र नामकरण भएसँगै हेटौँडाको ऐतिहासिक महत्व कायम भएको बानियाँको भनाई छ। 'राजधानी र नामकरणमा भएको मतदानले राजधानीबारे सबैको मनमा हेटौंडा रहेछ भन्ने प्रष्ट भयो। नाममा त विपक्षमा मतदान नै भएन' उनले भने।  

प्रदेशसभा सञ्चालन भएको दुई वर्षपछि राजधानी र नामकरणको टुंगो लाग्नु सबैको गौरबको विषय बनेको  सांसदले बताएका छन्। यसअघि अस्थायी मनस्थितिमा रहेको सरकार, कर्मचारी र संसदले विकासको स्थायी खाका बनाउन सहज भएको सांसदले बताएका छन्।

प्रदेशसभाको चारवटा अधिवेशनले टुंगो लगाउन नसकेको राजधानी र नामकरणको विषय पाँचौ अधिवेशनले टुंगो लगाएको छ। यो सँगै अब स्थायी राजधानी र नामको विवाद अन्त्य भएको छ। प्रदेश सभामा १३ जिल्लाहरू मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखाका गरी ११० जना प्रदेश सभा सदस्यहरू रहेका छन्।  

प्रदेश ३ मा पहिलो हुने निर्वाचनबाट निर्वाचितबाट ६६ जना,  समानुपातिकबाट ४४ जना,  दलगत तर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, कांग्रेसबाट २२ जना,  विवेकशील साझा पार्टीबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा संयुक्तबाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र  १ जना प्रदेश सभा सदस्यहरूको प्रतिनिधित्व रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.