विश्लेषक रोका भन्छन् : सभामुख पूर्वमाओवादीलाई नै दिनुपर्छ

|
फाइल फोटो

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङ्फे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षको रोजाइमा नपर्दा प्रतिनिधिसभा बैठक बन्धक बनेको छ। पार्टी एकीकरण भए पनि नेकपामा पूर्वएमाले र पूर्वमाओवादीबाट सभामुख पद कसलाई दिने भन्‍ने रस्साकस्सीले संसद बैठक बन्धक बनेको हो।

नेकपाले सभामुख पदमा पार्टीकातर्फबाट उम्मेदवार कसलाई बनाउने निर्णय नगर्दा संसद बैठक पटकपटक स्थगित हुँदै आएको छ। नेकपाले सभामुखको उम्मेदवार टुंगो नलगाउँदा आइतबारको प्रतिनिधिसभा बैठक पनि माघ ६ गतेसम्मका लागि स्थगित भएको छ।

अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुबासचन्द्र नेम्बाङलाई सभामुख बनाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने अडानमा छन्।

उपसभामुखको राजीनामा कहिले?

सभामुख पदका लागि दुई अध्यक्षको रोजाइमा नपरेपछि उपसभामुख तुम्बाहाङ्फेले सभामुखका उम्मेदवारको टुंगो लगाएपछि मात्रै राजीनामा दिने बताएकी छन्। प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर उम्मेदवारको टुंगो नलागी राजीनामा नदिने उनको भनाइ छ। उम्मेदवारको टुंगो लगाउन उनले दुवै अध्यक्षलाई आग्रहसमेत गरेको बताइन्।

थाहाखबरसँगको कुराकानीका क्रममा उनले आइतबार पनि यही कुरा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि सुनाएको बताइन्। दुवै अध्यक्षलाई भेटेपछि उनीहरूकै आग्रहमा संसद बैठक स्थगित गरेको उपसभामुख तुम्बाहाङ्फेले स्पष्ट पारिन्।

थाहा सञ्चारको नेपाल परिवेशमा उपसभामुखसँगको कुराकानी

उपसभामुख तुम्बाहाङ्फेले दुवै अध्यक्षसँग पार्टीको निर्णयसमेत मागेकी छन्। 'दलले आफ्नो उम्मेदवार चयन गर्न नसक्ने अनि उपसभामुखलाई बाधक भन्‍न मिल्छ?', उनले प्रश्‍न गरिन। दुवै अध्यक्षसँग उनले नेकपाका अन्य नेताहरूले सार्वजनिकरुपमै उपसभामुखले संसद बन्धक बनाएको भनेर दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाएकी छन्।

तुम्बाहाङ्फेले आफूले संसद बन्धक बनाएको पुष्टि गर्न चुनौतीसमेत दिएकी छन्। 'बाधक भन्‍ने शब्दले मेरो भावनामा ठेस पुगेको छ', उनले भनिन्, 'यो ममाथिको राजनीतिक हिंसा नै हो।'

उनले प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाउन नचाहेकैले राजीनामा नदिएको स्पष्ट पारेकी छन्। नेकपाले सभामुख पद लिन्छु भनेर गरेको निर्णय स्वागत योग्य भएको प्रतिक्रिया उनले दिएकी छन्।

के भन्छन् विश्लेषक?

विश्लेषक हरि रोकाले सभामुख पद पूर्वमाओवादीलाई नै दिनुपर्ने बताए। राष्ट्रपति, प्रधानमन्त्री पूर्वएमालेले लिएको अवस्थामा सभामुख पूर्वमाओवादीको भागमा परेकाले उक्त पद पूर्वमाओवादीले नै पाउनु पर्ने उनले जिकिर गरे। 'सभामुख पद पूर्वमाओवादीलाई छोड्नु पर्छ,' उनले भने, 'पूर्वएमालेले सभामुख पद छोड्न नचाहँदा समस्या देखिएको हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.