एकैपटक पाँच जना बिरामी आए उपचार गर्नै समस्या

|

-अश्विन दानी

गोरखाः जिल्ला अस्पताल गोरखाका लागि सरकारले ५९ वटा दरबन्दी छुट्याएपनि अहिले ३८ वटा दरबन्दी खाली छन्। यसको कारण हो–नेपाल सरकारले गरेको कर्मचारी समायोजन। 

कर्मचारी समायोजनपछि खटाइएका कर्मचारीहरु अहिलेसम्म यहाँ आइपुगेका छैनन्। जसकारण अस्पतालको सेवाप्रवाह नै प्रभावित भएको छ। दरबन्दी संख्याअनुसार जनशक्ति नहुँदा अहिले जिल्ला अस्पताल करारका चिकित्सक र अन्य कर्मचारीका भरमा चलिरहेको छ।

अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘सरुवा भएर जानेहरु अस्पताल छाड्न हतार गर्छन्, तर सरकारले खटाएका चिकित्सकहरु भने यहाँ आएका छैनन्’ त्यसैले अहिले अस्पतालमा दरबन्दीको भन्दा करारका चिकित्सक कर्मचारी धेरै हुनुहुन्छ।’ 

जिल्ला अस्पताल गोरखामा विभिन्न ३१ वटा पदमा कुल ५९ जना कर्मचारीको स्वीकृत दरबन्दी छ। तर, अहिले अस्पतालमा स्वीकृत दरबन्दीका १६ कर्मचारी मात्रै कार्यरत छन्। अस्पतालले जसोतसो सेवाप्रवाहलाई नियमित चाहिँ गरिरहेको छ। 

जिल्ला अस्पतालको तथ्याङ्क अनुसार हाल अस्पतालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका छात्रवृत्ती करारका नौ चिकित्सक कार्यरत छन्। यस्तै, कार्यक्रम करारका नौ जना, ब्यवस्थापन समितिबाट करारमा नियुक्त २२ जना र नेपाल सरकारले करारमा खटाएका सात जना गरी ४७ जना चिकित्सक कर्मचारी करारमा छन्। 

अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा औषधी खरिदमा समेत समस्या भएको सूचना अधिकारी ढकालले बताए। ‘दरबन्दी अनुसारका कर्मचारी नहुँदा करारको कर्मचारीले काम गर्नुपर्ने हुन्छ, तर करारका सबै कर्मचारीसँग अख्तियार हुँदैन,’ उनले भने, ‘यसैकारण अस्पतालमा अत्यावश्यक औषधी खरिद प्रक्रियामा समेत समस्या भइरहेका छ।’ 

‘मन्त्रीले गुनासो मात्रै सुने’ 

जनशक्ति र ठाउँको अभावका कारण गोरखा अस्पतालको उपचार सेवा प्रभावित भएको छ। अभावै अभावमा नाममात्रको सेवा दिनुपरेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट नवीन थापा बताउँछन्। चिकित्सक कर्मचारी र उपचार गर्ने ठाउँको अभावका कारण पाँच जना भन्दा धेरै बिरामी एकैचोटी आउँदा समस्या पर्ने गरेको थापाले बताए। 

खरिदार, मुखिया, लेखापाल सबैको काम आफूहरुले नै गर्नुपरेको निमित्त मेसु थापा बताउँछन्। ‘एउटा नासुको बैशाखमा यहाँ पोष्टिङ भएको थियो तर यहाँ हाजिरै नभै प्रदेश मन्त्रालयले त्यहीँ काजमा लग्यो’, मेसु थापाले भने, ‘यो पुसमा काज सकियो, तर न मान्छे आउँछन्, न कुनै व्यहोराको कागज आउँछ, मन्त्रीज्यूलाई सीधै फोन गरेर समस्या राखेँ, ल, म बुझ्छु भन्नुहुन्थ्यो, एकमहिना बितिसक्यो, अहिलेसम्म केही जानकारी आएको छैन।’ 

जनशक्ति अभाव हुँदाहुँदै पनि प्रदेश मन्त्रालयले भएका कर्मचारीलाई पनि तालिममा पठाइदिने, काजमा पठाइदिने गरेको भन्दै उनले चिन्ता ब्यक्त गरे। ‘जनशक्ति छैन, यस्तो खालको तालिमको अहिले खाँचो पनि छैन भन्दा भन्दै पनि मन्त्रालयले तालिममा पठाइदिन्छ, काजमा पठाइदिन्छ’, मेसु थापा भन्छन्, ‘जनशक्ति नै छैन, कसरी ड्युटी खटाउने ? २४ घण्टा खटिरहेका  छौं। यदि हामीमध्य पनि कोही बिरामी भैदिए, कसरी चलाउने अस्पताल?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.