उपसभामुखलाई खाली कागजमा राजीनामा माग्‍नु गलत

|

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार हुन् सूर्य थापा। नेकपाभित्र नेताहरूका खरो आलोचकका रूपमा परिचित थापा र नेकपा स्थायी कमिटी सदस्य भीम रावलबीच चलेको जुहारीले केही दिनयता राजनीति तातेको छ।

रावलले आफूमाथि बालुवाटारबाट मार्ने धम्की आएको भन्दै केही दिनअघि सार्वजनिक अभिव्यक्ति नै दिए। बालुवाटारबाट आएको भनिएको धम्की दिने व्यक्ति थापा नै भएको रावलले इंगित गरिसकेका छन्। अर्कातिर नेकपा अहिले प्रतिनिधि सभाको सभामुखलाई लिएर आन्तरिक किचलोमा फसेको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल गएपछि खाली भएको ठाउँमा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे सहितले दाबी गरिरहेका छन्। सभामुखलाई लिएर तत्कालीन एमाले र माओवादीबीचको तानातान गुटगतरूपमै छरपष्ट भएको छ। यी दुवै सन्दर्भमा प्रेस सल्लाहकार सूर्य थापासँग थाहाखबरले गरेको कुराकानीको सम्पादित अंश :

सभामुख चयनमा नेकपाभित्र यत्रो रस्साकस्सी किन?

यसलाई नेकपाभित्रको रस्साकस्सीको रूपमा व्याख्या गर्ने, त्यस ढंगले चित्रण गर्ने र प्रस्तुत गर्ने काम ठीक होइन। नेकपाभित्रको रस्साकस्सीकै कारण यो सबै भएको हो भनेर बुझ्नु त्यति उपयुक्त हुँदैन।

यसमा केही ढिलो भएको हो। कहिलेकाहीँ ढिलो हुन्छ। माघ ६ गते प्रतिनिधिसभाको बैठक बस्‍ने गरी सूचना टाँस भएको छ। सूचना टाँस्ने र स्थगन गर्नुभन्दा पनि पूर्वतयारी, गृहकार्य कार्यसम्पादन गरेर सभामुख चयनजतिको विषयलाई समयमै सम्पन्‍न गर्नु नेतृत्वको जिम्मेवारी थियो छ र हो। तर, यसलाई रस्साकस्सीका रूपमा मात्रै चित्रण गरिनु हुँदैन।

तर, सभामुख चयन गर्न यति धेरै लामो समय लगाउनुको पछाडि कसलाई बनाउने विषय नै होइन र?

अहिलेसम्म नेकपाले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ। सभामुख पदमा नेकपाले उम्मेदवारी दिनका लागि पूर्वाधार बनिसकेको छैन। कानुनबमोजिम नेकपाले सभामुखमा उम्मेदवारी दिने स्थिति हुनुपर्‍यो नि।

यसको मतलब उपसभामुखले राजीनामा दिनु पर्ने हो?

नेकपाको सचिवालयको बैठकले त्यही कुरा भनेको छ। म चाहिँ उपसभामुखले राजीनामा नदिएकै कारणले यो स्थिति भएको हो भन्दिनँ। राजीनामा दिने, को उम्मेदवार हुने, सभामुख हुने को? आदि कुरा पार्टी नेतृत्वले, सचिवालयले क्षमता र कौशलताका साथ व्यवस्थापन गर्नुपर्ने हुन्छ।

पूर्वाधार नपुगेको भन्‍नुभयो त्यसो भए नेकपालाई के पूर्वाधार पुगेन?

कानुनबमोजिम एउटा दलले सभामुख पाउँछ। अर्काे दलले उपसभामुख पाउँछ।

अहिले उपसभामुखको कारणले रोकिएको होइन भन्‍नुभयो, त्यसो भए कुरा कहाँ अड्किएको छ?

उपसभामुखले पनि म हट्ने हो भने तत्कालीन सभामुखले गरेको गल्तीको भारी मैले किन बोक्ने, गल्तीको दोष मैले किन थेग्ने, सजाय मैले किन भोग्ने भन्‍नु भएको छ। मलाई दुईजना अध्यक्षहरूले हस्ताक्षर गरेर मैले हटिदिनुपर्ने सबै कारण लिखित रूपमा दिनुपर्छ भन्‍नु भएको छ। यो उहाँले पाउनु भएको छैन।

सभामुख नेकपाले लिने निर्णय गरिसक्यो भनेपछि उपसभामुख नहट्ने हो भने सभामुख लिन संविधानत नमिल्ने होला?

सचिवालयले उपसभामुखले जवाफ खोजेपछि दिनुपर्थ्यो। तर, अहिले त कस्तो माहोल बनाउन खोजिएको छ भने पूर्वएमाले र पूर्वमाओवादीको विषय भएको छ। पूर्वमाओवादी या पूर्वएमालेले नपाउने ढंगले यसलाई व्यख्या,अपव्याख्या, गरियो। त्यस्तो होइन। एउटै नेकपा बनिसकेपछि यहाँ पूर्व र पश्चिमको कुरा गरिनु आवश्यक नै छैन। योग्यता, क्षमता, कार्यसम्पादनको अनुभव, हैसियत, संसद सञ्चालनको सामर्थ्य, सबै किसिमका आधारमा सभामुख बनाइनुपर्छ भन्‍ने एकीकृत पार्टीको कुरा हो।

नेकपाभित्र पनि पूर्व-एमालेहरूले लिनुपर्दा एक भइसक्यौँ भन्‍ने अनि दिनुपर्दा हैसियत हेर है तिमीहरूको, ७० प्रतिशत त हाम्रो हो पनि भन्‍ने?

एकता गर्दाको हैसियत यही हो। एकता भइसकेपछि प्रतिशतको आधारमा होइन, एकीकृत कमिटीले, एकीकृत बैठकले निर्णय गर्ने, फैसला गर्ने हो नि।

पहिले त भागबण्डा भएको हो। प्रधानमन्त्री, राष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख तत्कालीन एमालेले लिएर उपराष्ट्रपति र प्रतिनिधिसभाका सभामुख तत्कालीन माओवादीले पाएको हो। अहिले उसको भागमा परेको सभामुखमा अड्को थापेर हीनताबोध गराउन खोजियो भन्‍ने बुझाइ त पूर्व माओवादीका नेताहरूले ओकाल्न थालेका छन त ?

सबै नेताहरूले बोलेका विषयमा मैले किन जवाफ दिनुपर्‍यो। यस्तो हो जस्तो लाग्‍नेहरूलाई लाग्‍न सक्छ। कुरा के भने नेकपा कसरी चल्छ। नेकपाले कुन औचित्यको आधारमा व्यक्तिहरूलाई उपयुक्त स्थानमा पठाउने निर्णय गर्छ, कार्यसम्पादनमा महत्व दिन्छ की भागबण्डालाई महत्व दिन्छ? जनताले हेरिरहेका पनि छन् नि। खाली भागबण्डाको विषयका रुपमामात्रै जनताले बुझेका छैनन्।

अहिले दुवै अध्यक्षले प्रतिष्ठाको विषय बनाएको जस्तो दुवै टसमस नभई आफ्ना दाबेदार च्याप्ने बस्ने तर निर्णय नदिने?

अध्यक्षको तहमा यसमा छलफल नभए पनि सचिवालयमा छलफल भएको छ। उपसभामुख-सभामुख चयनको विषयमा बाधक बनेको भन्‍ने ढंगले कुरा आउनु बेठीक हो। यसमा दुईजना अध्यक्षबीचमा कम कुरा भएको छ भन्‍ने मलाई लाग्छ।

सत्तापक्षले संसदलाई यति लामो समय बन्धक बनाएर राख्नु लाजमर्दाे भएन? खै उम्मेदवार टुंग्याएको?

नेकपाले नै सभामुखको उम्मेदवार टुंग्याउने दायित्व हो म त्यसमा असहमत छैन। नेकपाले यसमा आफ्नो कर्तव्य पालन, जिम्मेवारी पूरा गर्न छोडेर भाग्‍न, तर्किन मिल्दैन। तर, यसमा दुई अध्यक्षको रस्साकस्सी भनेर चित्रण गरिएको छ मैले त्यस्तो रस्साकस्सी बुझेको छैन। छलफल गर्न परे सबैभन्दा बढी उहाँहरूले नै गर्नु भएको छ।

भैंसीपाटीको बैठकपछि दुई अध्यक्षको सम्बन्धमा तक्तता आएको छ भन्‍ने छ त?

यो चाहिँ अखबारहरूले लेखेका छन्। अखबारहरूले लेखेका सबैकुरा सही छन् भन्‍ने पनि होइन, आधारहीन छन् भन्‍ने पनि होइन। यो बेला अध्यक्षहरूले छलफल गरेर टुंग्याउनुपर्‍यो नि। उपसभामुखले पनि उम्मेदवार नटुंग्याउने एकोहोरो मलाई मात्र छोड् भन्‍ने कसरी हुन्छ भन्‍नुभएको छ नि?

उहाँको तर्कमा दम छ। मैले छोड्ने हो भने मलाई 'कन्भिन्स' हुने तर्क चाहियो भन्‍नु भएको छ। उहाँको तर्क नाजायज छ म भन्दिनँ। तपाईं हामी त्यो ठाउँमा भएको भए पनि यो भन्थ्‍यौँ। किनभने उहाँले गल्ती गरेर हट्नु परेको होइन नि। पार्टी निर्णयको सापेक्षता, तर्कसंगत आधार, कारण दिएमा उहाँले राजीनामा दिन्छु भन्‍नु भएको छ। आफू जानकार भएर छोड्छु भन्दा केही कारण त चाहियो नी। खाली कागजमा सही गरेर राजीनामा गर्नु भनेर कहाँ हुन्छ र?

उपसभामुखलाई कन्भिन्स गरेर उम्मेदवार छान्‍न यति लामो समय लगाउनुको पछाडिको कुरो के हो? आज जनताले थाहा पाउनु पर्‍यो। सत्तापक्षले संसदलाई यति लामो समय रोकर राख्‍न मिल्छ?

नेतृत्वमा रहेका जसले उपसभाखले राजीनामा गरेपछि सबै समाधान हुन्छ भनिरहनु भएको छ, उहाँहरूले कन्भिन्स गर्ने, आधिकारिक जवाफ दिनु त पर्ला नि।

त्यसो भए नेतृत्व असक्षम भन्‍नुपर्‍यो नि?

सम्मानित नेताहरूलाई सक्षम असक्षम भन्‍ने कुरा होइन। मैले टिकाटिप्पणी गर्दिनँ। सबन्धीत सरोकारवालालाई भन्‍न कन्भ‍िस गर्न त सक्नुपर्छ नि।  निर्णयको तर्कसम्बत आधार चाहियो। नेतृत्वले छलफल गर्नु भएको छ। बाहिर चित्रण गरिए जस्तो म राजीनामा दिँदै दिन्‍नँ पनि भन्‍नु भएको छैन। मैले राजीनामा दिने हो भने मलाई सभामुख बनाउनुस् पनि भन्नु भएको छ। बाहलवाला उपसभामुख भएको, सबै योग्यता क्षमता भएकोले उहाँले त्यसो भन्‍नै पाउनुहुन्‍न भन्‍ने ढंगले  कुरा गर्नु ठीक हुन्‍न। उहाँलाई बनाउने नबनाउने निर्णय पार्टीले गर्ने हो। पार्टीले सिधै उपसभामुखलाई निर्देशन दिन त मिल्दैन। उहाँले अर्को व्यक्ति आउन हट्नुपर्ने हो कारण त चाहियो होला।

नेकपाले कहिलेसम्म उम्मेदवार टुंगो लाउँछ? 

माघ ६ गते कार्यतालिका सार्वजनिक भएर सभामुख चयनको काम चाहिँ हुन्छ भन्‍ने लाग्छ। गृहकार्य गर्न ६ गतेसम्मको समय पर्याप्त हुन्छ भन्‍ने भएरै सूचना जारी गर्नु भएको हो भन्‍ने लाग्छ। त्यसैले ६ गतेबाट संसदले सभामुख पाउनेमा म चाहिँ आशावादी छु।

वामदेव गौतमको निवासमा बसेको बैठकपछि दुई अध्यक्षबीच शंकाको वातावरण पैदा भएको छ भनिन्छ। त्यसपछिको सचिवालयको बैठकमा प्रधानमन्त्री उपस्थित हुनु भएन त?

प्रधानमन्त्रीज्यू सचिवालयको बैठकमा सहभागी नहुनुको कारण त्यो दिन उहाँको नियमित डायलाइसिस थियो। त्यही भएर आराम गरेर बस्नु भएको हो। असन्तुष्ट भएर सहभागी नहुनु भएको होइन। उहाँ मनमा राखेर बस्‍ने स्वभावको प्रधानमन्त्रीज्यू हुनुहुन्‍न। पार्टीका नेताहरू बैठकमा बसेको कुरामा म के भनौँ। बैठकमा को-को सहभागी हुने, को-कोलाई 'बाइकट' गर्ने त्यो आयोजकले हेर्ने कुरा हो। म्यासेज के थियो, माहोल के हुन्छ, परिणाम के हुन्छ भन्‍नेबारेमा प्रश्न उठेका छन्।

त्यसो भए सभामुख चयनको विषयमा पूर्व एमाले र पूर्व-माओवादीबीच तीक्तता होइन?

एउटा पदका निम्ति दुईजना अध्यक्ष बसेर छलफलबाट टुंग्याउन नसक्ने विषय होइन। पदका निम्ति यत्रो महान् एकता यहाँसम्म आएको हो भन्‍ने लाग्दैन। प्रभावकारिता, क्षमता हेरेर निर्णय गर्ने भन्‍ने कुरा बेठीक लाग्दैन। भागबण्डाबाट चाहिँ मुक्त हुनुपर्छ। अर्काे कुरा जसले पनि सभामुख हुन सक्दैन। हाम्रो पुस्ताका मानिसले सभामुखको लागि दाबी गरेका पनि त छैनन् नि। उपसभामुख भएका मान्छेले दाबी गर्नु अस्वाभाविक छैन। एउटा व्यक्ति सभामुखको लागि छान्‍न नसकेर त्यति अकरमन्यता भएको हो र? नेकपा मलाई त्यस्तो लाग्दैन।

संसदमा उसैको बहुमत, सरकार एकलौटी चलाइरहेको छ। यतिधेरै गाह्रो पर्न पर्ने संसद बन्धक किन बनाएको जनताले प्रश्‍न गर्न नपाउने?

पार्टीले समयमा निर्णय नगरेको, पूर्व तयारी नगरेको, संसद बोलाइसकेपछि उम्मेदवारको छलफल गरेको कुरा लुकाइराख्नुपर्ने पनि छैन। अधिवेशन बोलाइसक्ने समयसम्म सभामुख चयन गरिसक्नु पर्थ्यो

फरक प्रसंगमा कुरा गरौँ। नेकपाका स्थायी कमिटिका सदस्य भीम रावलले बालुवाटारबाट मार्ने धम्की आयो भन्‍नु भएको छ। तपाईंसँग फेसबुकमा निकै जुहारी चलेको देखिन्छ के हो त कुरो?

भीम रावलजीले विषयलाई बंग्याएको देख्छु म। उहाँलाई किन कसैले मार्ने धम्की दिनु। यो नेकपाको सरकार हो। भीम रावलजी त्यही पार्टीको स्थायी कमिटिको सदस्य हुनुहुन्छ।

अहिले अनावश्यक प्रचार गर्नु परेको छैन। उहाँले कथित कथा-कविताबाट बालुवाटारमा धुवाँको मुस्लो देख्नु भयो। उहाँलाई किन यस्तो समस्या पैदा भएको छ। हामीले त मान-सम्मान गरेकै नेता हो। अर्काको कार्यक्षेत्र नमिच्‍नुस् प्रचार विभागको काम चाहिँ तपाईंको होइन। तपाईं सुदूरपश्‍चिम इन्चार्ज हो भनेपछि कहिले जागिरे भन्‍नुहुन्छ, कहिले धम्की दिए भन्‍नुहुन्छ। राष्ट्रभक्ति र देशभत्तिलाई आफ्नो पद प्राप्तिको लिस्‍नु बनाउन खोजिरहनु भएको छ। 

त्यसो भए उहाँले पदको बार्गेनिङ गर्दै हुनुहुन्छ?

बार्गेनिङ म भन्दिनँ। त्यति ठूलो नेता पटकपटक पद पाएर उपप्रधानमन्त्री समेत भइसक्नु भएको मान्छे, पदको लागि यो सबै भनिरहनु भएको छ भनेर म किन भनूँ। तर, उहाँचाहिँ मन्त्री हुँदा असाध्यै खुसी हुने, मन्त्री नहुँदा सधैँ यसो गरिरहने।

यो सरकार बनिसकेपछि कहिले शान्ति सम्मेलनलाई कहिले केलाई उचालिरहनु हुन्छ। एउटा पनि सरकारको कामको समर्थनमा बोलेको देखिँदैन। उहाँ स्थायी कमिटीको सदस्य। अखबार र मिडियाले उहाँलाई त्यस ढंगले उपभोग गरिरहेका छन्।

मैले त्यही सन्दर्भमा राजकुमारी डायानालाई पापाराजीहरूले पछ्याएका थिए। तपाईंलाई आजभोलि त्यसैगरी पछ्याएका होलान् भनेको हो। उहाँले मलाई मार्ने धम्की दियो भनेर बंग्याउने? मानसिक रूपमा समस्या भएको हो कि? कसैले धम्की दिएको सोच्‍ने कुरा पनि हुन सक्दैन। उहाँ पार्टीभित्र नै छविका कुरा गर्नुहुन्छ। तर सबै कार्यविधि विपरीतका सुरक्षा अगुवा पछुवा, सुरक्षापंक्ति लिएर उहाँ नै हिँडिरहनु भएको छ, बसिरहनु भएको छ। उहाँलाई कसले दिने धम्की? यो सोच्‍न पनि नसक्ने आपराधिक कुरा किन गरिरहनु भएको छ? यो सबै वाहियात कुरा हो भन्‍ने लाग्छ।

पार्टीमा अनुशासन समिति पनि छ क्यारे?

उहाँलाई कसले अनुशासनमा राख्‍ने? उहाँलाई चित्त बुझेन भने आफ्ना पिएमार्फत के लेखाउनु हुन्छ। उहाँ आफू के भनिरहनु हुन्छ। उहाँका भनाइले भक्तपुरमा र धरानमा पार्टीले चुनाव हार्न भूमिका खेलेको छ। पार्टीले गरेको कामलाई जनताको बीचमा लैजानुपर्नेमा सबैभन्दा धेरै भ्रम सिर्जना गर्ने काम सबैभन्दा धेरै उहाँले गर्नु भएको। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.