|

चितवन : नेपाल कम्युनिस्ट पार्टी  नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चितवनको माडीलाई मणि बनाउने प्रयास जारी रहेको बताए।

मंगलबारबाट सुरु भएको प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू माडीलाई मणि बनाउने अभियानमा निरन्तर जुटिरहेको बताएका हुन्। 

कृषि, पर्यटन, विभिन्न भौतिक पूर्वाधार निर्माणसँगै स्थानीयको जीवनस्तर उकास्ने विभिन्न काम भइरहेको बताउँदै प्रचण्डले सवैको साथ रहे छिट्टै नै मणि बन्ने बताए। सवैको यस्तै साथ रहे माडीले केही वर्षमा फड्को मार्ने प्रचण्डको भनाई छ। 

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माडीलाई मणि बनाउन सवै भन्दा ठूलो समस्याका रुपमा रहेको २०२९ को निकुञ्ज ऐन परिवर्तनका लागि आफूले माथिल्लो तहबाट पहल गरिरहेको बताएका छन्। उनले निकुञ्ज ऐनले वन्यजन्तुको सुरक्षामा मात्रै ध्यान दिएको तर मानिसकोबारेमा कुनै ध्यान नदिएकाले परिवर्तनका लागी पहल भइरहेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘वन मन्त्रालय, प्रधानमन्त्रीसँग, अर्थमन्त्रालयसँग कसरी बहस, छलफल गरिरहेको छ भन्ने कुरा माडीका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिले प्रष्टसँग देखिरहेका छन्।’ प्रचण्डले भने, ‘माडीका जनता चितवनवासी हुँदा-हुँदै पनि अर्कै भूगोलका जनता जसरी पीडित बनिरहनु परेको छ। माडीवासीको पीडा हटाउनका लागि म लगातार बहसमा छु। लगातार संघर्षमा छु। ऐन संशोधनको प्रक्रियामा छ।’

ऐन संशोधन गरी माडीबासीलाई एउटा सहज र विकासको नयाँ यात्रामा अघि बढाउन आफू प्रतिवद्ध रहेको उनको भनाई छ। वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण, भौतिक निर्माण, कृषि पर्यटन, बाढी पहिरोबाट सुरक्षित बनाउनेलगायत सवै प्रोजेक्ट अघि बढाइरहेको पनि प्रचण्डले बताए। 

जतिसक्दो चुनौतिपूर्ण भए पनि माडीलाई समृद्ध, सुगम बनाउन र केन्द्रसँग जोडन निरन्तर प्रयास जारी छ, सफलताउन्मुख रहेको प्रचण्डको भनाई छ। उनले माडीलाई नेपालकै नमुना क्षेत्र बनाउन रिङरोड, रिउ करिडोर, भौतिक पूर्वाधार निर्माणका काम तीब्र गतिमा बढिरहेको भए पनि आफू अहिले नै सन्तुष्ट भने नरहेको बताए।

आफू निर्वाचित भएको २ वर्ष पूरा भएको र बाँकी ३ वर्षमा माडीलाई नमुना क्षेत्र बन्नाउने प्रचण्डको दावी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.