बच्चाको बिचल्ली

|

पर्वत : दुवै मिर्गौला फेल भएका कारण जीवन मरणको दोसाँधमा परेकी पर्वतको कुस्मा नगरपालिका-४ की २२ वर्षीया बिसाका परियारको उपचारमा आर्थिक समस्या परेको छ।

गत कात्तिक १७ गते शल्यक्रियामार्फत कोखबाट छोरी निकालेको २४ घण्टामा नै बिसाकाका दुवै मिर्गौला 'फेल' भएको पत्ता लागेको थियो। परिवारका सदस्यले दिएको जानकारीअनुसार उनको उपचारमा विभिन्‍न सहयोगी र परिवारले जम्मा गरेको झण्डै पाँच लाख रुपैयाँ खर्च भइसकेको छ। यद्यपि, अहिले पनि उनको नियमित डायलाइसिस भइरहेको बिसकाकी जेठानी सबिता परियारले बताइन्।

उनी त्रिभुवन शिक्षण अस्पताल काठमाडौंमा उपचाररत छन्। उनले भनिन, ‘बिसाकालाई अहिलेसम्म बचाएर राख्न सबैले गर्नुभएको सहयोग अतुलनीय छ, अब पनि सबैको सहयोग भयो भने मिर्गौलाको डायलाइसिस गरेर बचाउन सकिन्छ, पछि किड्नी ट्रान्सप्लान्ट गर्नुपर्छ।’ मिर्गौलाकै कारण बिसकाको पिसाबमा समस्या देखिँदा एक दिनमा १५/२० एमएल मात्र पिसाब हुने गरेको चिकित्सकहरूले बताएका छन्।

गत कात्तिक १७ गते पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी हस्पिटलमा शल्यक्रिया गरेर बिसकाको पेटबाट छोरी निकालिएको थियो। तर, शल्यक्रिया गरेको २४ घण्टासम्म अर्थात् कात्तिक १८ गतेसम्म पिसाब भएन। भिडियो एक्स-रे गरेर हेर्दा दुवै मिर्गौला फेल भएको देखिएको थियो। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि तत्कालै अक्सिजन दिएर आइसियुमा भर्ना गरेर राखियो।

आमाको पोसिलो दूध चुस्नुपर्ने १ दिनको बच्चालाई आइसियुमा राख्न मिलेन। बच्चालाई संक्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको बिसकाकी जेठानी सविताले बताइन। पोखराबाट थप उपचारको लागि शिक्षण अस्पताल काठमाण्डौ लगिएकी बिसका अहिले पनि अस्पतालमै छिन भने उनकी २ महिने छोरीले अहिलेसम्म पनि आमाको दूध चुस्न पाएकी छैनन्। ल्याक्टोजिनको भरको उनको प्राण धानिएको छ।

एक/एक दिनको अन्तरमा उनका मिर्गौलाको डायलाइसिस गर्नु परिरहेको छ। डायलाइसिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएपछि उनका मिर्गौला फेर्नु एउटै मात्र विकल्प छ। तर, मिर्गौला दिनको लागि मान्छे पाउनै पनि समस्या रहेको सबिताले जानकारी दिइन्।

देउरानी र छोरी दुवैलाई बचाउनकै लागि आर्थिक सहयोग चाहिने भए पनि सविताले जिल्लाका विभिन्न ठाउँहरूमा सहयोग माग्दै हिँडीरहेकी छिन्। सदरमुकाम कुस्मा बजारमा रहेका सरकारी तथा गैह्र सरकारी संस्था, व्यक्ति तथा वैदेशिक रोजगारीको लागि विदेशमा रहेका नेपालीले गरेको आर्थिक सहयोगबाट नै बिसकाको हालसम्मको उपचार गराइएको हो।

सहयोगस्वरूप आएको रकम पनि सकिएका कारण उनको थप उपचारमा समस्या परेको परिवारले बताएको छ। आमा र बच्चाको अवस्था बुझेपछि कसैको मन सहयोगका लागि तयार भएमा मेघा बैंक, पर्वत शाखामा सविता परियारको नाममा सञ्चालनमा रहेको खाता नं. ०४८००५००११३१९ मा पैसा जम्मा गर्न सकिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.