|

दाङ: माघे संक्रान्तिले गर्दा दाङका बजारमा निक्कै चहल-पहल बढेको छ। बजारमा विशेषगरी  तरुल, गञ्जी र सखर खण्डको किनमेल गर्नेको भीडभाड भएको पाइन्छ। जसले गर्दा बजारमा गन्जी र तरुलको व्यापार समेत बढेको। अन्य समयमा बजारमा किन्न खोज्दा पनि मुस्किल पाइने तरुल, गञ्जी र सखरखण्ड माघे संक्रान्तिले गर्दा बजारको चोक-चोकमा बेच्नको लागि  प्रसस्त राखेको पाइन्छ।

दाङका बजारका प्रत्येकचोक तथा तरकारी पसलमा बिक्रीको लागि तरुल, गञ्जी र पिडालु लगायतका कृषि उत्पादन राखिएको सहजै देख्न सकिन्छ। दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही, नारायणपुर, बिजौरीलगायतका क्षेत्रहरूमा माघे संक्रान्तिका दिन खाइने कृषि उत्पादनहरूको बिक्री बढेको पाइएको छ। माघे संक्रान्तिमा तरुल, गन्जी, घ्युउ, चाकुलगायतका परिकारलाई विशेष महत्वका साथ खाइने परम्परागत प्रचलन छ। 

बजारमा अहिले प्रतिकिलो घर तरुल १६० रुपैयाँ र गञ्जी ६० रुपैयाँ कारोवार भइरहेको व्यापारीले बताएका छन्। यस्तै जंगलमा पाइने वन तरुल प्रतिकिलो २ सयदेखि साढेसम्म रहेको बताइएको छ। त्यसैगरी तराइका जिल्लाहरूमा माघी पर्वको रौनक सुरु भएको छ।

थारु समुदायले विशेष पर्वका रुपमा मनाउने माघीले थारु बहुल्यता क्षेत्रमा छुट्टै रौनकता छाएको छ। वर्षभरिका योजना बनाउने तथा दासताबाट मुक्तिको समयका रुपमा मनाइ माघी थारु समुदायको मुख्य पर्व हो।  थारु समुदायले मुख्य पर्वका रुपमा मनाउने माघीको सन्दर्भमा थारु बहुल्यता भएका जिल्लाहरूमा मेला, महोत्सव गरी मनाउँदै आएका छन्।

थारु समुदायले यो पर्वलाई निकै हर्षका साथ  ढिग्री, माछा, मासु, लगायतका परिकार बनाएर खाने र गाउँमा मुखियाँ छान्ने समेत गरी मनाउने गरेका छन्। उनीहरूले नयाँ वर्षका रुपमा समेत माघी पर्व मनाउने गर्दछन्। करिव एक हप्तासम्म बनाउने माघी पर्वलाई थारु समुदायले विभिन्न क्रियाकलाप गरी मनाउने गरे पनि यस पर्वको मान्यता भने प्रदेश सरकारले मात्र दिएको छ। प्रदेश ५ सरकारले भने माघ १ र २ गते सार्वजनिक विदा दिएको छ। 

माघ १ गते थारुहरू भाले बाँसेसँगै कोहीसँग नबोली नजिकैको नदी, तलाउमा गएर नुहाउने गर्दछन्।विहान भगवानको नाममा नुहाउँदा जेठो छोराबाट सुरु गरी पालै-पालो नुहाउने चलन छ। नुहाइसकेपछि तिलको डाँठ सल्काइ आगो बालेर कसैसँग नबोली टीका लगाइ एकअर्काप्रति माया साटा-साट गर्ने गर्दछन्। 

दाङका २ स्थानमा मेला लाग्ने  

माघे संक्रान्तिको अवसरमा दाङको २ स्थानमा मेला लाग्ने गर्दछ। दाङको घोराही उपमहानगरपालिका १२  स्थित बाह्रकुने दह र लमही नगरपालिका ९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दछ। बाह्रकुने दहमा लाग्ने मेला दाङ लगायत छिमिके जिल्लाहरूबाट समेत भक्तजन आउने गर्दछन्। धार्मिक दृष्टिकोणले मात्र नभइ पर्यटकीय कोणले पनि चर्चित स्थान हो।

बाह्रकुने दहमा बर माग्नका लागि भक्तजन जाने गर्दछन्। त्यहाँ विशेष गरी नि:सन्तान दम्पति सन्तानका लागि बर माग्ने जाने गर्दछन्। यहाँ अन्य समयमा भन्दा माघे संक्रान्तिमा निकै भीडभाड हुने गर्दछ। यहाँ १२ वटा आकारमा निर्मित प्राकृतिक ताल रहेको छ। त्यहाँ भेँडा र भालेको बली दिइन्छ भने परेवा उडाइने गरिन्छ।त्यसैगरी रिहार मेलामा पनि दाङलगायत भारतबाट पनि भक्तजन आउने गर्दछन्। यो ठाउँमा पुस मसान्तको रातभर र माघ १ गते यदिनभर मेला लाग्ने गर्दछ।  

माघे संक्रान्तिको अवसरमा दाङको रिहार बगार बाबा धाममा रहेको तप्त कुण्डमा स्नान गर्न श्रद्धालु भक्तजनको भीड लागेको छ। छालासम्बन्धी रोग निको हुने विश्वासका साथ महिला, पुरुष तथा बालबालिका तप्त कुण्डमा नुहाउने गर्दछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.