|

पछिल्लो समय नेपाली कांग्रेसभित्र पछिल्लो समय गुट-उपगुट विवादले उग्ररुप लिएको छ। केही महिनादेखि जारी विवाद भ्रातृ तथा शुभेच्छुक संगठनको भागवण्डामा अड्किएको छ। कांग्रेसभित्र अहिले तीन गुट सक्रिय छन्। 

प्रमुख प्रतिपक्षी दलका हिसाबले कांग्रेस अहिले सरकारविरुद्ध सडक र सदनमा खबरदारी भन्दा आन्तरिक विवादमा रुमल्लिएको छ। केही दिनअघि संस्थापन बाहेकको समूहले काठमाडैंमा जिल्ला सभापतिहरुको भेला गरेको थियो। उक्त भेलालाई सभापति देउवाविरुद्धको मोर्चाबन्दी वा रणनीतिको रुपमा पनि टिप्पणी गरिएको छ। 

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टीका अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौला समूहबीच खिचातानी चलिरहेको छ। आकार र शक्तिका हिसाबले देउवा गुट सबैभन्दा ठूलो छ भने सिटौला समुह तुलनात्मक रुपमा सानो छ।

देउवाले पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट एकलौटी ढंगले बहुमतका आधारमा आगामी महाधिवेशनको कार्यतालिका लगायत महत्वपूर्ण विषयमा निर्णय गरेपछि संस्थापन इतर समूह थप चिढिएको छ। त्यसैको तीतो पोख्‍न र समीक्षा गर्न भन्दै संस्थापन बाहेकको समूहले जिल्ला सभापतिहरुसँग छलफल गरेको टिप्पणी पनि भएका छन्। भेलाको उपलब्धि, संस्थापन पक्षसँगको असन्तुष्टि, पार्टीको आगामी १४ औँ महाधिवेशन तयारी, विभिन्‍न भ्रातृ संगठन र शुभेच्छुक संस्थाको नेतृत्व विवादलगायत विषयमा कांग्रेसको तेस्रो धारका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग थाहा संचार नेटवर्ककी ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंश :

संस्थापन इतर समूहले गरेको जिल्ला सभापतिहरुको भेलामा तपाईं पनि सहभागी हुनुहुन्थ्यो, सो भेलाको उपलब्धि देखिन शुरु भयो? 

सभापति शेरबहादुर देउवालाई मैले गएर भेटेर पत्र दिँदा 'छलफल गरेर निर्णय सच्याउन तयार छु' भन्‍नुभएको छ। जिल्लाका सभापतिहरुले पनि केही सुझाव दिनुभएको छ। ती सुझावहरुमा सभापति देउवाले निर्णय सच्याएर जाने जवाफ दिनुभएको छ। एकलौटी ढंगले केन्द्रीय समिति बैठकमा गर्नुभएका निर्णय सच्याएर अघि बढ्नुहोला भन्‍ने विश्वास छ। भेलाबाट जिल्ला सभापतिहरुले देउवालाई सुझाव दिएपछि त्यसलाई कसरी लिनुभएको छ? सुझाव मनन गरेर निर्णय सच्याउन अघि बढ्ने मनस्थितिमा सभापति हुनुहुन्छ वा हुनुहुन्‍न भन्‍ने त मलाई थाहा छैन, तर निर्णय सच्याएर अघि बढ्नुहुन्छ भन्‍ने विश्वास छ। 

पार्टी सभापति देउवाको मनोमानी अथवा विधानविपरीतका काम रोक्न सफल हुनुभयो त?

सभापतिविरुद्ध जान सफल-असफल भयौँ भन्दा पनि यो त छलफल गरेर समाधान गर्नुपर्ने विषय हो। मूख्य कुरा आगामी १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिन समिति र यसको कार्यविधि हुन्छ, जसले विधान नियमावलीलाई पुनरावलोकन गर्नुपर्छ। त्यसपछि कार्यतालिका हुन्छ कुन-कुन मितिमा वडा अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन गर्ने भन्‍ने हो। यी सबै विषय केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा सर्वसम्मतिबाट स्वीकृत हुनुपर्छ।

यो हाम्रो विगतदेखिको स्थापित मान्यता हो। महाधिवेशनलाई हामी एकताको महाधिवेशन भन्छौँ, यस अर्थमा कि महाधिवेशनमा जाने हाम्रो एकताबद्ध निर्णय हुन्छ। महाधिवेशनको कार्यविधि, कार्यतालिका, त्यहाँ हुने आन्तरिक प्रतिष्पर्धा कसरी गर्ने? प्रतिष्पर्धालाई कसरी व्यवस्थित बनाउने, आन्तरिक लोकतन्त्रको उच्चतम् अभ्यास गर्ने भन्‍ने विषयमा हाम्रो सहमति थियो। उक्त सहमति सभापति देउवाले आफ्नो मात्रै गुटको केन्द्रीय समिति बैठक गरेर तोड्नुभयो। हाम्रो त्यसैमा आपत्ति हो। त्यसलाई उहाँले तुरुन्तै छलफल गरेर केन्द्रीय कार्यसमितिको पूर्ण बैठक राखेर निर्णय सच्याउनुपर्छ, परिमार्जन गर्नुपर्छ। 

सभापतिले नै आफ्ना गुटका केही मानिसहरुका कुरा मात्रै सुनेर हिँडेका कारण समस्या भयो भन्‍ने मलाई लाग्छ। उहाँले एकपल्ट कुनै समूह विशेषको मात्रै होइन, तमाम पार्टीका कार्यकर्ताहरुको म सभापति हुँ र यो आगामी महाधिवेशनलाई सफल बनाउने जिम्मेवारी मेरो हो भन्‍ने सोचेर सबैलाई साथमा लिई छलफल गरेर सहमतिबाट यी सबै विषयहरु तय गर्नुपर्छ।

 सभापतिहरुको भेलालाई पार्टीको आगामी १४ औँ महाधिवेशनको गृहकार्य भनेर बुझ्‍न मिल्छ? 

आगामी महाधिवेशनको प्रतिष्पर्धाको दृष्टिकोणले यसको कुनै अर्थ छैन। महाधिवेशन वडाबाट प्रारम्भ हुन्छ। गाउँपालिका, नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला हुँदै सातवटा प्रदेशमा प्रदेश महाधिवेशन हुने हो। अनि मात्रै केन्द्रीय महाधिवेशनमा कस्तो प्रकृतिको प्रतिस्पर्धा हुन्छ, त्यहिबेलाको परिस्थितिले तय गर्नेछ।

महाधिवेशनका लागि अहिलेदेखि नै हौसिनु आवश्यक छैन। पार्टीको समीकरण विचार, सिद्धान्त र नीतिले बनाउने हो। प्रतिस्पर्धामा समूह बन्‍नु स्वभाविक हो। पहिले तीनवटा समूह थियो। तीनवटा समूहले यथास्थितीमा काम गरीरहेका छन्। अब आगामी महाधिवेशनमा कतिवटा समूह हुनेछन्, त्यो महाधिवेशनकै अवस्थामा भन्‍न सकिन्छ। त्यो अहिले भन्‍ने विषय भएन। 

अहिले सभापतिविरुद्ध एकजुट हुने निर्णय गरे पनि महाधिवेशनमा संस्थापन इतर समूहभित्रै महत्वकांक्षीहरुको सख्या बढेर अप्ठेरो परिस्थति आयो भने के गर्नुहुन्छ? 

महाधिवेशनका लागि को को मिलेर जाने भन्‍ने कुरा अहिले नै हतारिएर बोल्ने विषय होइन। जिल्ला सभापतिहरुको भेलालाई सभापति देउवाविरुद्ध र महाधिवेशनको अभियान हो भन्‍ने अर्थमा मैले लिएको छैन। यो त खाली के भन्दा सभापति देउवाले जुन गल्ती गर्नुभयो, महाधिवेशनको कार्यविधि, कार्यतालिका एकलौटी ढंगले बनाएपछि विवाद उत्कर्षमा पुगेको छ। त्यो विवादलाई समाधान गर्ने कुरा हो। 

आजको दिनमा पार्टीभित्र बृहद्‌ एकता आवश्यक छ। सहमतिबाट यी सबै कुरालाई अगाडि बढाउनुपर्छ। नसकिने कुरा छैन। सभापतिले नै आफ्ना गुटका केही मानिसहरुका कुरा मात्रै सुनेर हिँडेका कारण समस्या भयो भन्‍ने मलाई लाग्छ। उहाँले एकपल्ट कुनै समूह विशेषको मात्रै होइन, तमाम पार्टीका कार्यकर्ताहरुको म सभापति हुँ र यो आगामी महाधिवेशनलाई सफल बनाउने जिम्मेवारी मेरो हो भन्‍ने सोचेर सबैलाई साथमा लिई छलफल गरेर सहमतिबाट यी सबै विषयहरु तय गर्नुपर्छ। प्रतिस्पर्धा आफ्नो ठाउँमा रहन्छ, तर प्रतिस्पर्धामा जाने बाटो सहमतिबाट तय गर्नुपर्छ मूल कुरा यही हो।

शेरबहादुरजीले त्यही मौका छोपेर बहुमतबाट निर्णय गर्नुभयो पहिलो पटक। त्यो पनि उहाँले गलत गर्नुभयो। झन् यताका दिनमा आएर उहाँले महाधिवेशनको कार्यविधि, कार्यतालिका नै एकलौटी तय गरेपछि महाधिवेशन निष्पक्ष ढंगले हुन्छ भन्‍ने आधार ढल्यो।

 

पार्टीमा सभापति देउवाको मनोमानी वास्तवमै बढेको हो वा तपाईंहरुले मनको तीतो पोख्‍न मात्रै भेला आयोजना गर्नुभयो?

यसलाई धेरै चर्चा गर्नु आवश्यक छैन। यसपटक सभापतिले गल्ती गर्नुभएको हो। मेरो मूख्य कुरा बहुमतले निर्णय गर्ने विषय होइन। र, केन्द्रीय कार्यसमिति बैठक बहिष्कारकै स्थितिमा पुग्नुपर्ने पनि थिएन। सुरुमा वरिष्ठ नेता रामचन्द्र पौडेलजीले बैठक वहिस्कार गर्नुभयो। म त बैठकमा थिइनँ। बैठक बहिस्कार गर्नु पनि गलत हो। शेरबहादुरजीले त्यही मौका छोपेर बहुमतबाट निर्णय गर्नुभयो पहिलो पटक। त्यो पनि उहाँले गलत गर्नुभयो। झन् यताका दिनमा आएर उहाँले महाधिवेशनको कार्यविधि, कार्यतालिका नै एकलौटी तय गरेपछि महाधिवेशन निष्पक्ष ढंगले हुन्छ भन्‍ने आधार ढल्यो। महाधिवेशन आन्तरिक लोकतन्त्रको उच्चतम् अभ्यास भएर टुंगिन्छ भन्‍ने विश्‍वास गर्ने आधारहरु टुटे। महाधिवेशनमा सबै मिलेर जाने आधार खडा गर्नुपर्छ। 

सभापतिहरुको भेला 'बार्गेनिङ'का लागि गरिएको हो या पार्टीलाई साँच्चै सन्तुलित बनाउनका लागि?

यसमा त मेरो कुनै 'बार्गेनिङ' छैन। यो बेकारको कुरा हो। आफ्नै पार्टीभित्र के 'बार्गेनिङ' गर्नु छ? विधान बनाउने हामीले हो। लागू गर्ने पनि हामीले नै हो। प्रतिष्पर्धा गर्ने हामीबीचमै हो। हरेक तहमा साथीहरुलाई जो माथि विश्वास छ, महाधिवेशनका बेला उसैलाई निर्वाचित गराउँदै आउँछन्। यहाँ कुनै 'बार्गेनिङ'को कुरा छैन।  सिद्धान्त, नीति, स्थापित मान्यताको कार्यान्वयनका लागि पछिल्लो भेला भएको हो। 

महाधिवेशनलाई आफूअनुकूल बनाउन तपाईंका रणनीतिचाहिं के हुन्‌?

रणनीतिका विषयमा म अहिले केही बोल्दिनँ। किनकी महाधिवेशनलाई केन्द्रित गरेर मैले रणनीति तय गरेको रहेछु भने पनि त्यो सार्वजनिकरुपमा सञ्चारमाध्यममा भन्‍ने विषय होइन। 

तपाइँहरु सरकारले राज्य सञ्चालनमा मनोमानी गरेको आरोप लगाउनुहुन्छ, फेरि बलियो गरी सरकारका गलत कदमविरुद्ध प्रश्तुत हुनुपर्नेमा आन्तरिक कलहमा व्यस्त हुनुहुन्छ, यस्तो कामले आफैं कमजोर भइयो भन्‍ने लाग्दैन? 

हाम्रो भनाई पनि त्यही हो। यतिबेला पार्टीभित्र आन्तरिक कलह हुनुहुँदैन। बहुमत, अल्पमत, बहिष्कार आदि गर्ने कुरै होइन। यतिबेला सबै मिलेर महाधिवेशनका लागि स्वच्छ वातावरण तयार पार्नुपर्छ। सबै मिलेर प्रतिपक्षको भूमिका तयार पारी जनतामाझ पनि जानुपर्छ भन्‍ने हो। यस्तो कुरा भइरहेका बेला बहुमतबाट महाधिवेशनको कार्यतालिका तोक्नाले कठिन भएको छ। यसैलाई सुधारौँ भन्‍ने कुरा हो। यो सुधार नभएसम्म पार्टी एक भएर सडकमा जान सक्ने र जनताको माझमा पुग्‍न सक्ने स्थिति छैन। त्यसैले प्रष्टसँग सभापतिज्युलाई हामीले भनेका छौँ। मैले त भेटेरै गल्ती सच्याउन भनेको छु। 

नेपाल विद्यार्थी संघको कार्यकाल दुई वर्ष पुगेपछि महाधिवेशनका लागि छ महिना म्याद थप्‍नु पर्थ्यो। तर सभापति देउवा र वरिष्ठ नेता पौडेलले भङ्ग गरिदिनुभएपछि समस्या सुरु भएको हो।

कांग्रेसका भ्रातृ संगठनहरु निष्क्रिय अवस्थामा छन्, नेविसंघको एउटा समूह पार्टी केन्द्रीय कार्यलयमा धर्ना बसिरहेको छ, माउ पार्टीले भ्रातृ संगठन र शुभेच्छुक संस्थालाई मिलाएर किन लैजान नसकेको? 

नेपाल विद्यार्थी संघको कार्यकाल दुई वर्ष पुगेपछि महाधिवेशनका लागि छ महिना म्याद थप्‍नु पर्थ्यो। तर सभापति देउवा र वरिष्ठ नेता पौडेलले भङ्ग गरिदिनुभएपछि समस्या सुरु भएको हो। अरु भ्रातृ संस्थाहरु तीन वर्षे अवधिका हुन्। उनीहरु सात वर्षका छन्। जस्तै दलित संघ, प्रेस युनियन, जनजाति संघ, किसान संघको पत्तोअत्तो छैन। अरु भ्रातृ संस्थाहरुमा नेतृत्वको ध्यान पुगेन, तर नेविसंघलाई दुई वर्ष पुगिसक्दा भंग गर्नु भनेको एकदमै गलत हो। 

यसमा सभापति देउवा र वरिष्ठ नेता पौडेल दुवैजना फस्‍नुभएको छ। उहाँहरुले गल्ती गरेकै हो र यो सबै तिनै गल्तीबाट उत्पन्‍न परिणाम हो। उहाँहरुले गल्ती स्वीकार गर्नुभयो भने समस्याको समाधान भइहाल्छ। बोलेर नभई मनदेखि गल्ती स्वीकार गरेर समाधानको बाटोमा अघि बढ्नुपर्छ। गल्ती स्वीकार गरेपछि समाधानका लागि बाटो खुल्छ। गल्तीलाई हठ गरेर सुधार हुँदैन। 

विवादित अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सहायता स्वीकार गर्ने पक्षमा कांग्रेस देखिएको छ, तर परियोजना सम्झौताको आशय नेपालको संविधानभन्दा माथि र अमेरिकाको स्वार्थमा रहेको सार्वजनिक आलोचना भइरहेको छ। यसलाई अमेरिकाकैए 'इन्डोप्यासिफिक' रणनीति सँग जोडेर पनि हेरिएको छ। सार्वभौमिकतामाथि नै खलल पुर्‍याउने भनिएको यो सहायतालाई प्रतिपक्षी कांग्रेसले सबैभन्दा अघि बढेर समर्थन गर्नुपर्ने कारण के होला? 

यो सहायता पारित गराउनुपर्छ भनेर हाम्रो सभापतिजी लाग्‍नुभएको छ। केन्द्रीय कार्यसमितिमा यो छलफलको विषय चाहीँ बनेको छैन। तर सभापतिले भनेपछि अहिलेलाई पार्टीको धारणा त्यही हो। यसमा धेरै चर्चा जरुरी छैन। पार्टीभित्र छलफलमा ल्याएपछि यसको विषयबस्तुमा छुट्टै छलफल गरौँला। मैले यसलाई अहिले छलफल गर्न आवश्यक ठानिनँ। 

कांग्रेस सदनमा र संसदीय समितिहरुमा छ, सूचना प्रविधिलगायत केही विधेयकहरुमा पार्टीको स्व-विवेक भन्दा पनि अरूका एजेन्डा बोकेर कांग्रेसले समर्थन र विरोध गरिरहेको आरोप समेत सुनिन्छ, यसबारे के भन्‍नुहुन्छ? 

संसदभित्र नेपाली कांग्रेसले मुख्य प्रतिपक्षी भएर जे जसरी भूमिका निर्वाह गर्न सक्नुपर्थ्यो, संसदीय दल त्यसरी प्रस्तुत हुन नसकेको यथार्थ हो। यो विषयमा दलको नेतालगायत हाम्रो पार्टीका तर्फबाट संसद र समितिहरुमा भएका साथीहरुलाई सचेत गराउछौँ। पार्टी सभापति र दलको नेता देउवा हुनुहुन्छ। उहाँले जसरी लिएर जानुहुन्छ, त्यसरी जान्छ। 

सरकारले राम्रो काम गर्‍यो भनेर स्याब्बासी दिनुपर्ने एउटै काम भएको छैन। पछिल्लो समय किचलो बनिरहेको सभामुख चयनको प्रक्रिया अझै लम्बिनुले पनि प्रधानमन्त्रीको कार्यक्षमतामा प्रश्‍न उठाएको छ। संसद सत्तारुढ दलको बन्धक बनेको छ। यसको शीघ्र समाधान गर्नु प्रधानमन्त्रीको दायित्व हो।

सभापति देउवा सशक्त हुन नसक्नु भएको हो की तपाईंहरुले काम गर्न नदिनुभएको हो? 

यो देउवाजीलाई नै गएर सोध्नुस्। उहाँबाट पूर्ण जवाफ पाउन सक्नुहुन्छ। 

तपाईं र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला एउटै हो, उहाँको वर्तमान कार्यकाललाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ? सरकारप्रति नागरिक असन्तुष्टि बढ्नुका पछाडि प्रधानमन्त्रीले काम गर्ने नसक्नुभएको हो या उहाँको कार्यक्षमता नै यत्ति हो? 

प्रधानमन्त्री ओलीजी शारीरिक रुपमा कमजोर भएको धेरै वर्ष भयो। म उहाँको शीघ्र स्वाथ्यलाभको कामना गर्छु। प्रधानमन्त्रीले देशका लागि संविधान बमोजिम जनताको हीतमा धेरै काम गर्न सक्नुपर्छ। काम गर्न सक्ने वातावरण पनि छ, उहाँको पार्टीको संख्या हेर्दा संसद र प्रदेशमा कुनै समस्या छैन। जनता र राष्ट्रको हीतमा महत्वपूर्ण योगदान पुर्‍याउनसक्ने अवस्ठा छ। संवैधानिक व्यवस्था, लोकतन्त्र, गणतन्त्र संसदीय शासन व्यवस्था, यसभित्र भएको समानुपातिक निर्वाचन प्रणाली, बहुलवादमा आधारित राजनीतिक मान्यता आदीलाई उहाँको कार्यकालले सुदृढ गर्न सक्नुपर्छ। 

जनताको आर्थिक प्रगति हुने काम पनि गर्न सक्नुहोस् भन्‍ने नेपाली कांग्रेसको तर्फबाट शुभकामना छ उहाँलाई। देशको हीतमा काम गर्नुस् भनेर प्रधानमन्त्रीलाई शुभकामना दिँदै गर्दा उहाँको यो दुई वर्षे कार्यकाल हेर्दा देशका लागि उल्लेख्य देन दिन सक्नु भएको छैन। सरकारले राम्रो काम गर्‍यो भनेर स्याब्बासी दिनुपर्ने एउटै काम भएको छैन। पछिल्लो समय किचलो बनिरहेको सभामुख चयनको प्रक्रिया अझै लम्बिनुले पनि प्रधानमन्त्रीको कार्यक्षमतामा प्रश्‍न उठाएको छ। संसद सत्तारुढ दलको बन्धक बनेको छ। यसको शीघ्र समाधान गर्नु प्रधानमन्त्रीको दायित्व हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.