'अरू सडकमा अनुगमन, आफ्नै घरअगाडि कसले गर्ने?'

|

काठमाडौंः गत म‌ंसिर २६ गते नेकपा वरिष्ठ नेता तथा पूर्व-प्रधानमन्त्री माधव नेपाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङसहित चावहिल–साँखु सडक खण्डको अनुगमनमा निस्किए। सो सडकको दुरावस्थालाई लिएर उनले आफ्नै पार्टी नेकपा नेतृत्वको सरकारमाथि आलोचनासमेत साँधे। 

'जनता सडक' का नामबाट समेत चिनिने बागमती करिडोरको सडक हुँदै पूर्वप्रधानमन्त्री नेपालको निवास पुगिन्छ। यो सडकमा जताततै ढलका खाडल, आधा सडक ढाक्नेगरी थुपारिएको गिटीको थुप्रो, कतै पानीले भिजेर बनेका ढाप बनेको त कतै छरपष्ट निर्माण सामग्रीले ढाकेका छन्‌। 

सडकमा पैदल यात्री र सवारीचालकहरु ज्यानको बाजी लगाएर यात्रा गर्न बाध्य छन्‌। अन्यत्र सडक नबनेको भन्दै सरकार र राज्यसंयन्त्रलाई प्रश्न उठाउने उनै नेपालको घर पुग्‍ने सडकको अवस्था भने बेहाल छ। नेपालको घर अगाडिको सडकमा हुँदै यात्रा गर्नेले युद्ध जितेको अनुभव गर्छन्‌।

अस्तव्यस्त सडकले स्थानीय आजित छन। कोटेश्वरका स्थानीय रोशन शाहले चार वर्षदेखि सडक लथालिंग हुँदा दैनिकी नै विथोलिने गरेको बताउँछन्। ‘सडक अस्तव्यस्त बनेको चार वर्ष भैसक्यो,’ उनले थाहा खबरसँग भने,‘पानी पर्दा हिलाम्मे हुन्छ, घाम पर्दा धुलाम्मे हुन्छ, सर्वसाधारण ओहोरदोहोर गर्न सक्दैनन्, अहिले सडक हिलाम्मे बनेको छ।’ 

ठेकेदार र सडक बनाउने निकायको चरम लापरबाहीले गर्दा वर्षौंयता बालकुमारी पुलदेखी बाग्मती दोभानसम्मको करिब ४ किलोमिटर सडक जस्ताको त्यस्तै छ।शाहले भने,‘कामदारले ढलका पाईप जोडेजस्तो गर्छन्‌, खाल्डा खन्छन र फेरि पुर्छन्‌, फेरि खाल्डा खन्छन्‌। तर न त खाडलको काम सकिएको छ, न त सडक नै आवागमनयोग्य बनेको छ। यो सडकमा सवारीसाधन चलाउनै सकिँदैन।’ रातीकाे समयमा यो सडक हुँदै यात्रा गर्नेले ज्यानकै जोखिम मोल्नुपर्ने अवस्था रहेको शाहले बताए।

अरू सडकको अनुगमनमा नेपाल, आफ्नै घर पुग्‍ने सडकमा नजरअन्दाज

अन्य सडकको अनुगमन गरी काम सक्न निर्देशन दिने माधव नेपालले आफ्नै घर अगाडि सडक अनुगमनमा चासो नदेखाएको स्थानीयको गुनासो छ। ‘नेता नेपाल चावहिल, साँखुलगायतका सडक अनुगमन गर्न जानुहुन्छ, तर  उहाँको आफ्नै घर अघिको यो सडक बेहाल अवस्ठामा छ, यो चाहिँ कसले अनुगमन गर्ने? वरिष्ठ नेताकै घर अगाडीको सडक भताभुङ्ग हुनु लज्जास्पद नै भएन र?’ एक स्थानीयले प्रतिप्रश्न गरे।

नेता नेपालकै घरको गेट अगाडीको अमरावती मार्गमा खानेपानीको पाइप फुटेको छ। पाइपबाट फुटेको पानीले भिज्दा सडक हिलाम्य र चिप्लो बनेको छ। यहाँको हिलोमा दैनिक दर्जनाैं मोटरसाइल चिप्लिने गरेको छ। थाहा खबरकर्मी बुधबार नेपालको घरअघि पुग्दा पनि मोटरसाइकलहरु हिलो छिचोल्न खोज्दा चिप्लिरहेका थिए। 

ठेक्काको म्याद नै सकियो, काम सकिएन

यो सडक निर्माण गर्ने जिम्मा काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) ले जिम्मा पाएको छ। पीआइडीका परियोजना प्रबन्धक सुरज बमका अनुसार ढल बनाउने बेला क्षति भएको सडकको पुनस्थापना गर्न २०१६ सालमै चाइनिज कम्पनी जे आइ इसी शर्मा विकुलसँग भ्याटसहित ६५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार यो सडक २०१९ डिसेम्बर १६ सम्ममा तयार भइसक्नुपर्ने थियो। तर २०२० लाग्दा पनि सडक निर्माणले गति लिन सकेको छैन। 

प्राविधिक कारणले काममा ढिलाई 

परियोजना प्रबन्धक शाहले प्राविधिक समस्या र नयाँ काम थपिँदै गएकाले समयमै सडक निर्माण सम्पन्‍न हुन नसकेको बताए। उनले भने,‘हाम्रो काम भनेको ढललाई नदीमा खस्‍न नदिने हो, पछि नयाँ कामहरु पनि थपिँदै गयो, प्राविधिक व्यवस्थापनको कारणले पनि ढिलाई भइरहेको छ, सबै काम सक्न प्रक्रिया  पुर्‍याउनुपर्छ।' 

स्थानीय घरहरुमा जडान गरिएको पाइप सार्ने लगायतका नयाँ कामहरु थपिएको, नदी करिडोरमा बस्दै आएका सुकुम्बासी बस्ती र बालकुमारी पुल अगाडी गरिएको बस पार्किङले पनि सडक निर्माणमा समस्या थपिएको शाहको भनाई छ। उनले भने, ‘पीआइडीले बालकुमारी पुलदेखि तीन सय ८० मिटरसम्मको सडक पीच गर्ने हो, अहिले सबै पाइपलाइनको काम सकिएको छ, अब छिट्टै सडक मर्मतका लागि काम भइरहेको छ।’

अहिले पनि सडक निर्माणको काम नरोकिएको उनले दाबी गरे। पानी नपरे 'बेसलाइन' हालेपछि माघ महिनाको अन्तिमसम्ममा सबै काम सकाउने उनले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.