|

काठमाडौं : बिहीबार बेलुकाबाट परेको हिउँदे झरीले जोरपाटी–सुन्दरीजल सडक अस्तव्यस्त बनेको छ। वर्षा र सडकको अवस्थाकै कारण सर्वसाधारण मारमा परेका छन्। खाल्डामा ग्राबेलिङ नगरिँदा सडक हिलाम्मे बनेकाले सर्वसाधारण सास्ती खेप्न बाध्य छन्।

अहिले ठूलठूला खाल्डामा पानी जमेर पोखरी बनेको छ। समयमा सडक बन्न नसक्दा अहिले  हिलाम्मे बनेको छ। तर, सडक निर्माणमा जिम्मा पाएको ठेकेदार र सम्बन्धित निकायले सडकमा ग्राबेलिङसमेत गर्न सकेका छैनन्। यसबाट सर्वसाधारणको दैनिकी बिथोलिने गरेको छ। 

ग्वार्कोका स्थानीय तेज राईले जोरपाटी–सुन्दरीजल सडक अस्तव्यस्त बन्दा सवारीसाधनमा यात्रा गर्न नसकेको बताए। उनले भने,‘सडकका ठूल्‍ठूला खाल्डामा पानी जमेकाले बाटो देखिँदैन। अहिले पानीले गर्दा बाटो चिप्लो छ। मोटरबाइक चलाउँनै सकिँदैन। बाटोमा हिँड्ने पैदलयात्रुलाई झनै समस्या भएको छ।’

खाल्डामा ग्राबेल मात्रै हाले पनि धेरै सहजता मिल्ने बताउँछन् उनी। ‘यो सडक जीर्ण बनेको वर्षौंवर्ष बितिसक्यो,’उनले भने,‘सडक बनाउन नसके पनि खाल्डाखुल्डीमा ग्राबेल हाल्नु नि। यसमा गोकर्णेश्वर नगरपालिकाले केही पहल गरेको छैन।’

सडक लथालिंग भएकै कारणले गर्दा अहिले गोकर्णमा रहेको गोकर्णेश्वर महादेव मन्दिर उकालो र नाम्गेल उकालोमा सवारीसाधन जाम र सवारीसाधनको चक्का हिलोमा भासिने गरेको छ। 

गोकर्णेश्वर नगरपालिकाले मंसिर महिनाको २० गतेबाट सडक निर्माणका लागि सडक रेखांकनको काम थाले पनि कामले भने अहिलेसम्म गति लिन सकेको छैन। हिलाम्मे सडकले अहिले विद्यार्थी बालबालिका र वृद्धवृद्धालाई झनै सकस भएको छ।

जोरपाटी–सुन्दरीजल सडकको ७ किमि  निर्माणका लागि आशीष/सि.एम.जे.भिसँग २०७३ सालमै २०७५ साल असोज महिनामा काम सक्ने गरी करिब ५४ करोड लागतमा ठेक्का सम्झौता भएको थियो । तर, सम्झौता समय सकिँदा पनि कामले तीव्रता पाउन भने सकेको छैन। 

छिट्टै ग्राबेलिङ गर्छौं : प्रवक्ता ढुंगाना

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले जोरपाटी–सुन्दरीजल सडकका खाल्डाहरूमा छिट्टै ग्राबेलिङ गर्ने बताए। ‘पानी परेकाले सडकका खाल्डामा पानी जम्दा सर्वसाधारणलाई सास्ती भएको छ,’उनले भने,‘ठेकेदारसँग छलफल गरी तत्कालै ग्राबेल गर्छौं।

नगरपालिकाले ठेकेदारलाई ग्राबेल हाल्न निर्देशन दिइसकेका छौँ।’ सडकका खाल्डाहरूमा नगरपालिकाले पहिले पनि ग्राबेलिङ गर्दे आएको बताउँदै ढुंगानाले सडक रेखांकनको काम भइरहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.